स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी संशोधित अध्यादेश आएकोमा चिकित्सक संघ खुसी
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७९ जारी भएकोमा खुशी व्यक्त गरेको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गर्दै अध्यादेश प्रमाणित गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी देखि निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा तथा उहाँ नेतृत्वको मन्त्रिपरिषद्को टिम, प्रस्ताव अघि बढाउने स्वास्थ्य मन्त्रालय, कानून मन्त्रालय र त्यहाँका अधिकारीहरुलाई विशेष धन्यवाद दिएको छ ।
गत वर्ष जेठमा जारी भएको अध्यादेशमा छुटेका केही महत्वपूर्ण विषय यसपटकको अध्यादेशमा समेटिएकोमा आफूहरु निकै हर्षित भएको संघले बताएको छ ।
संघका अध्यक्ष डा.लोचन कार्कीले यस पटक जारी गरिएको अध्यादेशमा गतवर्ष छुटेका केही महत्वपूर्ण व्यवस्थाहरुलाई समेटेको बताउनुभयो ।
उहाँले स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुरयाउने तथा स्वास्थ्यकर्मी वा स्वाथ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुरयाउने मुद्धामा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा मुद्धा हेर्ने अधिकारीले अभियुक्तहरुलाई पूर्वपक्षको लागि थुनामा राख्नेछ भन्ने प्रावधान थप गरिएको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २५ गते औषधि (तेस्रो संसोधन) र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्नुभएको हाे । ।
जारी अध्यादेशअनुसार स्वास्थ्य संस्थामा कसैले आगजनी गरेमा २ वर्षदेखि ५ वर्षसम्म कैद वा २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनेछ ।
कुनै स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थालाई कुनै हानी नोक्सानी गरि क्षति पुर्याए क्षति बराबरको रकम कसुर गर्ने व्यक्तिले भर्न पर्ने अध्यादेशमा उल्लेख गरिएको छ ।
यसैगरी स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरि हानी नोक्सानी पुर्याए ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनेछ । स्वास्थ्यकर्मीमाथी हातपात भएमा पनि ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनेछ ।
स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरकि रुपमा चोट पुर्याउनेलाई पुर्पक्षका लागि थुनामा राखेर थप सजाय हुने व्यवस्था अध्यादेशमा गरिएको छ।
स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरे तथा विरामीको उपचारमा वाधा पुर्याए, स्वास्थ्यकर्मीलाई गाली गलौच,अभद्र वा अपमानजनक व्यवहार भएमा १ वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म वा दुवै सजाय हुनेछ ।
स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हानी नोक्सानीका घटना वढ्दै गएपछि स्वास्थ्यसँग सम्वद्ध संघ संगठनहरुले कडा सजायको माग गर्दै आएका थिए ।
हेल्थपाटी 
तपाईँको अभिमत