रुकुमको चौरजहारीमा सुरु भयो अक्सिजन उत्पादन
कर्णाली प्रदेशको रुकुम पश्चिममा अक्सिजन उत्पादन सुरु भएको छ।
चौरजहारी नगरपालिका–१ मा रहेको चौरजहारी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जानकारी दिएको छ ।
चौरजहारी नगरपालिकाको १ करोड १० लाख रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो ।
गिरीका अनुसार अस्पताल परिसरमा प्लान्ट जडानका लागि करिब साढे २ लाख रुपैयाँ अस्पतालले लगानी गरेको थियो । नगरपालिकाले नै अक्सिजन प्लान्ट बनाए पनि सञ्चालन गर्न सहज होस भनेर चौरजहारी अस्पतालमा जडान गरिएको अस्पतालका प्रशासक गिरीले बताउनु भयो ।
चौरजहारीमा दुईदिनदेखि अक्सिजन उत्पादन भइरहेको हो । यस प्लान्टमा दैनिक ३६ वटा सिलिन्डरसम्म भर्ने क्षमता रहेको उहाँले जानकारी दिनुभयो ।
कोरोना महामारीको दोस्रो भेरियन्ट व्यापक बनेका बेला जिल्लामा अक्सिजनको हाहाकार भएको थियो । कारोना महामारीको नयाँ लहर आएको खण्डमा अक्सिजनका लागि भौतारिनु पर्ने समस्या नरहेको गिरीको भनाइ छ ।
यस अक्सिजन प्लान्टले रुकुम पश्चिमसहित सल्यान, जाजरकोट र अन्य छिमेकी जिल्लामा समेत अक्सिजन आपूर्ति गर्ने लक्ष्य राखिएको छ ।
गोपाल रेग्मी
तपाईँको अभिमत