आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू
काठमाडौं । कोभिड महामारी रोकथामका लागि आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको छ । आज बिहान ६ बजेदेखि १५ दिनका लागि निषेध आदेश भएको हो ।
निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा स्थगित हुनेछन् । सार्वजनिक र निजी यातायात बन्द हुनेछन् । अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ । एम्बुलेन्स, शव बाहन र प्रेसको गाडी भने चल्न पाउने भएका छन् ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।
सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने आदेशमा उल्लेख छ ।
विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा आधिकारिक सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइनेछ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र किराना पसल र डिपार्टमेन्ट स्टोरलाई बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म व्यवस्था गरिएको छ ।
विवाहमा सहभागी हुन ब्यानर र दुलाह(दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ ।
उपत्यका बाहेक ५ सयभन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले आजैदेखि लागू हुने गरी निषेधाज्ञा लगाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत