‘खोप आउनुअघि कोरोना संक्रमणबाट २० लाख मानिसको मृत्यु हुनसक्छ’
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले खोप आउनुअघि विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख नाघ्ने प्रक्षेपण गरेको छ । डब्ल्यूएचओ आकस्मिक विभाग प्रमुख डा.माइक रियानले खोप तयार हुनु अगाडि थप २० लाख मानिसको मृत्यु हुने सम्भावना रहेको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको संख्या अझ बढी हुनसक्ने बताउनुभएको छ । "यदि हामी एकजुट भई काम गर्न सक्दैनौ भने दुखका साथ भन्नुपर्छ कोरोनाका कारण मृत्यु हुनेको संख्या झन् झन बढ्दै जानेछ," रियानले शुक्रबारको प्रेस बिफिङमा भन्नुभयो,"यसका लागि सहकार्य जरुरी छ ।"
संक्रमण देखिएको ९ महिनामा विश्वभर करिव १० लाख मानिसको मृत्यु भइसकेको छ । हालसम्म ३ करोड २० लाख मानिस संक्रमित भइसकेका छन् । अहिले युरोप लगायत थुप्रै देशहरुमा संक्रमणको दोस्रो लहर सुरु हुन लागेको देखिन्छ । यद्यपि उपचार पद्धतीमा आएको सुधारले मृत्युदर घटिरहेको डब्ल्यूएचओको भनाई छ ।
युरोपमा संक्रमण र संक्रमित अस्पताल हुने क्रम बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै रियानले इन्फ्लुएन्जा सिजन सुरु हुनुअगावै संक्रमणलाई कम गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । साझा खोप विकास र उचित वितरणको अभियान कोभ्याक्सका लागि चीनसँग वार्ता भइरहेको डब्ल्यूएचओले जनाएको छ । कोभ्याक्स अभियानमा चीन र अमेरिका बाहेक १५६ देश सहभागी छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत