बुस्टर डोज : फरक - फरक खोप लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको बुस्टर डोज फरक - फरक लगाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीस्तरीय निर्णय अनुसार ६० वर्ष माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो अन्तर्गत कोभिशिल्ड, एस्ट्राजेनेका, मोर्डना, फाइजर वा भेरोसेल लगाएकालाई कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिइने भएको छ ।
साथै पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिशिल्ड वा एस्ट्राजेनेका दिने निर्णय पनि भएको छ । यस्तै विदेशमा पहिलो मात्रा कोभिशिल्ड, एस्ट्राजेनेका, भेरोसेल, मोर्डना, फाइजर खोप लगाएको हकमा दोस्रो मात्रा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय पनि भएको छ ।
खोप सल्लाहाकार समितिले पहिलो र दोस्रो मात्रा लगाएको खोप अहिले नभएकालाई उपलब्ध अरु खोप दिन सरकारलाई सिफारिस गरेको थियो । निर्णय भएसँगै परिवार कल्याण महाशाखाले ७७ वटै स्वास्थ्य कार्यालयलाई सोही अनुसार खोप अभियान चलाउन पत्र काटेको छ । भेरोसेल खोप नभएपछि पहिलो तथा दोस्रो मात्रा लगाएकाहरुलाई दोस्रो तथा बुस्टर खोप दिन सकिएको थिएन ।
तपाईँको अभिमत