‘२ हजारको काम' सकिएपछि स्वास्थ्य मन्त्री गिरीको विदाइ
एमाले सांसद पदम गिरी ४२ दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेर सोमबार विदा हुनुभयो । राष्ट्रपति निर्वाचनका विषयमा बदलिएको राजनीतिक परिस्थितिले उहाँ पदबाट बाहिरिन बाध्य हुनुभयो ।
एमालेले सरकार छाड्ने निर्णय गरेसँगै सोमबार दिउँसो पार्टीका अन्य मन्त्रीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर गिरीले पनि राजीनामा दिनुभयो।

स्वास्थ्य मन्त्रालयबाट बाहिरनु केही घण्टाअगाडि स्वास्थ्य मन्त्री गिरीले एउटा कथा सुनाउनु भएको थियो।
एउटाले गाडी चलाउँदै लिएर जाँदा बाटोमा ठ्याक्कै गाडी बिग्रियो र रोकियो । अनि उसले मेकानिक बोलायो । गाडी हेर्ने मिस्त्री आइपुग्छ।
आएपछि गाडीको तलपट्टि कार्पेट ओछ्याएर सुतेर यता उता हेर्दाेरहेछ। माथि हेर्दाेरहेछ । भित्र हेर्दाेरहेछ। बाहिर हेर्दाेरहेछ । घन्टौँ गाडी हरेर बितायो ।
अनि हम्मर माग्यो । त्यसले ड्याम्म एकचोटी के हानेको थियो-त्यो गाडी चल्न थालेछ ।
अनि ड्राइभरले सोध्यो । पैसा कति भयो गाडी बनाएको ? मेकानिकले भन्यो–२५ सय रुपैयाँ । एकचोटी ड्याम्म हान्नुभयो, त्यत्तिको २५०० सय ! यो त साह्रै भयो भएन र ? ड्राइभरले आपत्ति जनायो ।
अनि मेकानिकले भन्यो–यतिबेरसम्म घुमेर हेरेको २ हजार, अनि ड्याम्म हानेको ५०० रुपैयाँ हो।
अहिलेसम्म आफूले स्वास्थ्य क्षेत्रबारे घुमेर, बुझेर हेरेको र अब कथामा भनेजस्तै हम्मरले ड्याम्म हान्ने बेला भएको कुरा मन्त्री गिरीले बुझाउन खोज्नुभएको थियो।
‘अहिलेसम्म हामीले २ हजारको काम गरियो यसरी बुझ्नुहोस्’ मन्त्री गिरीले भन्नुभयो ।
मन्त्री पद सम्हालेको एक महिना अलि बढी समय आफूले यो क्षेत्रलाई चिन्न, बुझ्न खर्चिएको भनाइ उहाँले राख्नुभयो ।
मन्त्रीले भन्नुभएको थियो–मेलै केहीअघि स्वास्थ्य व्यवसायी परिषद्को कार्यक्रमका पनि भनेको थिएँ । एक महिना भन्दा अलि बढी भयो।
साँच्चै मन्त्रीले केही गर्दै हुनुहुन्छ कि ? कतै अलमलमै कोहिरोको काग पो बन्नु भएको छकि भन्ने पनि लागेको हुनुसक्छ । वास्तवमा एक महिनाको अवधिमा स्वास्थ्य क्षेत्रभित्र निकै ठूलो सिकाइको अवधि रह्यो ।
यति धेरै महाशाखा, विभाग, शाखाहरू पात्रहरु, प्रवृत्तिहरु यी सबैकुरा चिन्न बुझ्न त म जादू त हैन । हाम्रो आदित्य कि हुनुहुन्छ नि यसो हेरेरै सबै कुरा भन्न सक्ने । सबैकुरा अध्ययन गर्नपर्थ्यो। एउटा निर्णय गरेकै भरमा ब्याक फायर हुनुपर्ने पो होकि ? मैले ठिक निर्णय गर्दैछु भने पहिले म कन्भिन्स हुनुपर्थ्यो । त्यस कारण यो अध्ययन गर्न समय लाग्यो।’
स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा समारोह आयोजना गरेको थियो।
यसै समारोहमा प्रमुख अतिथि रहनुभएका मन्त्री गिरी निकै कडा रुपमा प्रस्तुत हुनुभएको थियो ।
आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन गरेरै छाड्ने प्रतिवद्धता उहाँले यहाँ पनि दोहो¥याउनु भयो ।
स्वास्थ्यमा परिवर्तन गर्नैपर्छ भनेर आफूले यो मन्त्रालय रोजेर आएको भनाइ पनि उहाँको थियो । आफूले स्वास्थ्य मन्त्री रोजेर आएको यो क्षेत्रमा परिवर्तन गर्ने लक्ष्य राखेर आएको ।
‘साँच्चै भन्नुहुन्छ भने म मेरो नेतृत्वसँग रोजेर स्वास्थ्य मन्त्रालय आएको । यो आकर्षक मन्त्रालय मानिदैन । आउँदा स्वच्च छविको व्यक्ति फर्किँदा कालो लागेर, धब्बा लागेर फकर्ने ठाउँ हो । कुनै गल्ती नगरेपनि यहाँ फसिन्छ । गल्ती गर्नै पर्दैन नगर्दा नगर्दै पनि आरोप खेपेर फर्कनुपर्ने मन्त्रालय पनि हो’
फोहोर सफा गर्नका लागि फोहोरभित्रै पस्नुपर्छ भनेर हिम्मत गरेर स्वास्थ्य मन्त्रालयले रोजेर आएको उहाँको दावी थियो ।
‘निष्ठापूर्वक इमान्दारीका साथ कालो चिया पनि मेरो गोजीबाट खाएर स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्छु भन्ने अठोटका साथ यो मन्त्रालयमा आएको हो’ उहाँको भनाइ थियो।
मन्त्री बन्नेवित्तिकै कसलाई कहाँ सरुवा गर्ने भनेर कानफुक्न आउने धेरै भएपनि आफूले पूर्वाग्रही ढंगले कसैलाई सरुवा गर्ने नीति नलिएको मन्त्री गिरीले सुनाउनुभयो ।
‘चेसको गोटी खेलाएजस्तो सचिव महाशाखा, प्रमुखहरुलाई चलाएर समय ववार्द गर्नुछैन’ मन्त्री गिरीले भन्नुभएको थियो ।
एक वर्ष कसैलाई पनि आग्रह पूर्वाग्रह राखेर चलाउन नहुने भनाइ मन्त्री गिरीले राख्नुभएको थियो ।
राम्रो काम गर्ने, गर्छु भन्ने मान्छे जुनसुकै आस्थाको भएपनि, जहाँ भएपनि मतलब नभएकोले ऊसँग सहकार्य गरेर अघि बढ्ने र स्वास्थ्य क्षेत्र बदल्ने उहाँको बताउनुभएको थियो। यसमा सबैको साथ प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
गरिब जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिलाउनका लागि नयाँ खालको बीमा कार्यक्रम ल्याउने तयारी भएको दावी पनि मन्त्री गिरीको थियो । अब बीमा गराउन घरघरमा जाने नभई आफैँ खोजेर आउने वातावरण बनाउन लागेको भनाइ यहाँले राख्नुभएको थियो ।
स्वास्थ्य बीमाको संसारको उत्कृष्ट मोडल नेपालमा लागू गर्ने विषयमा आफू छलफलमा रहेको जानकारी पनि मन्त्री गिरीले दिनुभयो । संसारमा राम्रो अध्यासहरु के छन् भनेर राति २–३ घण्टा जुम मिटिङमा छलफलमा बस्ने गरेको पनि उहाँको भनाइ थियो ।
निष्कर्षको नजिक पुगिसकेको दावी उहाँको थियो । जस्तोसुकै घातक र दीर्घ रोग लाग्दा पनि उपचार पाउने गरी बीमा कार्यक्रम ल्याउन पर्ने स्वास्थ्य मन्त्री गिरीले राख्नुभएको थियो ।
आगामी आर्थिक वर्षमा कम्तिमा पनि ५ लाखको बीमा गराउने गरी आधार निर्माण गरिनेमा ढुक्क रहन उहाँले भन्नुभयो । यसका लागि अन्य मन्त्रीसँग छलफल गर्ने पनि उहाँको भनाइ थियो।
स्वास्थ्य क्षेत्रमा कुनै परिवर्तन गर्न नसके आफू पदमा बसिनहरने अठोट गिरीले सुनाउनुभयो।
स्वास्थ्य सेवा दिवस समारोहको अध्यक्षता गर्नुभएका स्वास्थ्य सचिव डा.रोशन पोखरलेले स्वास्थ्य मन्त्री गिरीको खुलेर प्रसंशा गर्नुभएको थियो ।
आफूले १५ वर्ष स्वास्थ्य क्षेत्रमा बिताउदा जत्तिकै ज्ञान मन्त्री गिरीले १ महिनाको अवधिमा लिएको भन्दै पोखरलेले सह्राना गर्नुभएको थियो।
पूर्वाग्रहका आधारमा कसैलाई सरुवा नगर्ने मन्त्रीको बचनले कर्मचारीको मनोबल उच्च भएको पनि सचिव पोखरेलले बताउनुभएको थियो।
राष्ट्रियसभा गृहमा यी कुरा हुँदै गर्दा मन्त्री गिरी पदबाट हट्ने आधार तयार भइसकेको थियो । उहाँको पार्टी एमालेको सचिवालय बैठक बसिरहेको थियो । उक्त बैठकले पार्टी सरकारबाट बाहिरने निर्णय ग¥यो ।
मन्त्री गिरीले सुनाएको कथाअनुसार २ हजारको काम सकिएको अवस्था र ५०० काम अथार्त हम्मरले ड्याङ्ग हान्ने बेला हुँदै गर्दा उहाँ स्वास्थ्य मन्त्रीबाट विदा हुनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत