भूकम्प प्रभावित जिल्लामा पुस ५ गतेदेखि खोप अभियान सञ्चालन हुँदै(भिडियो)
२०८० साल कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जिल्लाहरुमा पुस ५ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएको छ ।
खोप अभियान अन्तर्गत दादुरा रुबेला खोप र टाइफाइड रोग विरुद्धको टिसिभी खोप प्रदान गरिन लागिएको हो । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसमा स्वास्थ्य मन्त्रालयले भूकप्प प्रभावित जिल्लाहरु जाजरकोट, रुकुम पश्चिम, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत र सल्यानमा यी २ खोप प्रदान गर्न लागिएको हो ।
दादुरा रुबेला खोप र टाइफाइड विरुद्धको टिसिभी खोप भूकप्पबाट बढि प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिममा दिइनेछ । टाइफाइड विरुद्धको टिसिभी खोप भूकम्पबाट कम प्रभावित जिल्लाहरु सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यानमा दिइनेछ ।
६ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा रुबेला र १६ देखि ४५ वर्ष उमेरसम्मका सबै व्यक्तिलाई टाइफाइड विरुद्धको टिसिभी खोप लगाइने बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिनुभयो ।
उहाँले कुनैपनि विपद् वा मानवीय संकटको समयमा दादुरा सबैभन्दा छिटो सर्नसक्ने अनि खानेपानीसँग सम्बन्धित रोगहरुले महामारीको रुप लिनसक्ने जोखिमलाई मध्यनजर गरि त्यसलाई रोक्न खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
दादुरा रुबेला अति संक्रामक रोग भएको र संक्रमित एक व्यक्तिले १८ जनासम्मलाई रोग सार्न सक्ने र ३० प्रतिशतको मृत्यु हुन सक्ने अध्ययनहरुले देखाएकाले सो जोखिमलाई नियन्त्रण गर्न भूकम्प प्रभावित जिल्लाहरुमा दादुरा रुबेला खोप सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।
साथै खानेपानीसँग सम्बन्धित टाइफाइड रोग लाग्न सक्नेसमेत भएकाले १६ देखि ४५ वर्ष उमेरसम्मका सबै व्यक्तिलाई टाइफाइड विरुद्धको खोप दिइने खोप शाखा प्रमुख डा.गौतमले जानकारी दिनुभयो ।
उहाँले फागुनमा देशभर खोप अभियान सञ्चालन गरिने तय भएको भएपनि भूकम्प प्रभावित जिल्लाहरुमा रोग फैलनसक्ने जोखिमलाई ध्यानमा राखी ती स्थानहरुमा अगाडि नै अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
खोप निशुल्क र सुरक्षित रहेकाले निर्धक्क भई नजिकैका स्वास्थ्य केन्द्रमा गई खोप लगाउन उहाँले भूकम्प प्रभावित जिल्लावासीलाई आव्हान गर्नुभयो ।
खोप अभियानमा दिइने दादुरा रुबेला खोपथप मात्रा भएकाले पहिला जतिपटक लगाएको भएपनि यो अभियानमा अनिवार्य रुपमा एक मात्रा खोप लगाउन डा. गौतमले आग्रह गर्नुभयो ।
उहाँका अनुसार उक्त अभियानमा नियमित खोप लगाउन छुटेका ९ देखि ५ वर्ष उमेर सम्मका बालबालिकालाई खोप दिइनेछ ।

हेल्थपाटी
तपाईँको अभिमत