दशैंको अलिकति मदिराले किरणलाई मृत्युको मुखमा पुर्यायो(भिडियो)
ललितपुर भैंसेपाटीका किरण थापा अहिले कलेजो प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहनुभएको छ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०७९ फागुन १६ गते थापाको कलेजो प्रत्यारोपण गरिएको थियो।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो प्रत्यारोपण गराएर उहाँले पुनर्जन्म पाउनुभएको छ।बाल्यकालमा सामान्य स्वास्थ्य समस्या हुनेबाहेक खासै बिरामी नै नपरेको बताउने थापालाई २०७७ सालको दशैं अभिशाप बन्यो।त्यो दशैंका बेला भएको जन्डिसले उहाँलाई मृत्युको मुखमा पुर्यायो।
दशैंमा उहाँलाई जन्डिस भएछ। जन्डिस भएको कुरा न किरणलाई थाहा भयो न उहाँका कोही परिवारलाई।जन्डिसका कुनै लक्षण पनि देखिएका थिएनन्।
अझ त्यो दशैंमा जुठो परेको थियो।बाहिर आफन्तहरु कहाँ जाने, जमघट हुने खानपानमा रमाउने भएन।
दशैंमा घरमै बसेर एउटा बियर खाएर तथा एक प्याक मदिरा पिउने गर्नुभएको थियो।त्यत्तिकैमा दशैं सकियो।किरणले हरेक वर्ष डिसेम्बरको अन्तिमतिर नियमित स्वास्थ्य परीक्षण गराउने गर्नुहुन्थ्यो।
उहाँ डाक्टरकोमा जानुभयो।डाक्टरले देख्नेवित्तिकै तपाईलाई त जण्डिस भयो जस्तो छनि भन्नुभयो।‘मत छक्क परेँ किनकी मलाई जण्डिस हुँदा कस्तो लक्षण देखिन्छ थाहै थिएन’ किरण भन्नुहुन्छ, ‘थकाइ पनि थिएन।तौल घट्ने, अन्य कुनै लक्षण थिएन ।’
त्यसपछि डाक्टरले किरणलाई तपाई मदिरा पिउनुहुन्छ भनेर सोध्नुभयो ? किरणले धेरै त होइन कहिले कहीँ अलिअलि पिउँछु भन्नुभयो।त्यसो भनेपछि डाक्टरले केही आत्तिए जसरी फेरि सोध्नुभयो–साँच्चै खानुहुन्छ ? ‘कुनै - कुनै बेला साथीहरु आएका बेला खान्छु’ किरणले वास्तविकता सुनाउनुभयो।
त्यसपछि डाक्टरले तपाईको त कलेजोको सबै पक्षको जाँच गर्नुपर्छ भन्नुभयो।
किरणलाई लागेको थियो–डाक्टर किन यतिसारो आत्तिनुभएको होला ? तर पछि उहाँलाई थाहा भयो जण्डिस भएका बेला त रक्सी खान नहुने रहेछ।
त्यहि दिन हतार–हतार सबै परीक्षण भयो।साँझतिर रिपोर्ट आयो।रिपोर्ट हेरेपछि डाक्टरले सुनाउनुभयो–तपाईको कलेजो त बिग्रिसकेको छ ।
जण्डिस हुँदा रक्सी खाएकै कारण उहाँका केही साथीहरुको मृत्यु भएको किरणलाई थाहा थियो तर उहाँलाई लागेको थियो धेरै रक्सी खानेलाई मात्रै यस्तो समस्या हुन्छ ।
धेरै रक्सी खानेहरुलाई त्यस्तो हुन्छ भन्ने मैले बुझेको थिएँ’ किरण भन्नुहुन्छ, ‘यो कुरामा जण्डिस भएको मान्छे एकदमै सचेत हुनुपर्ने रहेछ।’
त्यसपछि उहाँ उपचारमा लाग्नुभयो।डाक्टरले कलेजो प्रत्यारोपण नै गर्नुपर्ने निष्कर्ष सुनाए।
कलेजोको समस्याले गर्दा बेहोस् हुने, अस्पताल जाने, आइसीयू बसेर ४–५ दिन उपचार गरेपछि होस आउँथ्यो।फेरि घर जानुहुन्थ्यो।करिब २ वर्ष यसैगरी बित्यो किरणको।
१०-१५ दिनको फरकमा बेहोस भएर अस्पताल आउने क्रम चलिरह्यो । एकसाता सम्म बेहोस् अवस्थामै अस्पताल बस्नुहुन्थ्यो।
कलेजो प्रत्यारोपण गर्न मिल्ने दाता आफन्तमा भेटिएन।अब आफू छिट्टै संसार छाडेर जान्छु भन्ने कुरा उहाँले स्वीकारी सक्नुभएको थियो।‘अब मेरो जानेबेला भयो, म तयार छु भन्ने मनमा बनाइसकेको थिएँ’ किरण सुनाउनुहुन्छ।
उहाँले आफ्नो बैंक खातामा भएका पैसा परिवारका सदस्यको नाममा पठाएर, खाता बन्द गरिसक्नुभएको थियो।
‘जसले मबाट ऋण लिएका थिए, त्यो सबै मिनाहा गरिदिसकेको थिएँ’ किरण भन्नुहुन्छ।
उहाँको जीवन बचाउन, एउटै सम्भावना थियो, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग पाएर प्रत्यारोपण गर्ने।त्यो सम्भावना असाध्यै न्यून थियो।यसै कारण पनि उहाँ नजिक आइरहेको मृत्युलाई कुरेर बसिरहनुभएको थियो।
२०७९ साल फागुनमा उहाँको जीवनमा चमत्कार भयो।राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट फोन आयो–मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो पाइयो, तत्काल प्रत्यारोपणको तयारी गर्नुहोस् भनेर । प्रत्यारोपण सफल भयो। उहाँले सबै तरिकाबाट आशा मारिसकेको जीवन फेरि प्राप्त गर्नुभयो।
अब जति बाँचिन्छ, त्यो जीवन सार्थक होस् भनेर उहाँले केही निश्चित योजना बनाउनुभएको छ।
हर वाक्यमा उहाँको सुझाव छ–जण्डिस भएकाले रक्सी खाँदै नखानू, छुँदै नछुनु ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत