खेल जित्नका लागि प्रतिबन्धित औषधिको प्रयोग : के हुन्छ स्वास्थ्यमा असर ?(भिडियो)
खेलाडीले आफूलाई बलियो बनाउनका लागि खेल खेल्नुअघि विभिन्न औषधि प्रयोग गर्ने गरेका कुरा हामीले सुन्दै आएका छौँ। यस्ता औषधि प्रयोग गरेका कारण जितिसकेको पदक, उपाधि फिर्ता भएका, खेलाडी, प्रशिक्षक तथा देशलाई नै कारबाही भएको खबरहरू पनि आइरहेका हुन्छन्।
खेलाडीले खेल जित्ने महत्वकांक्षाका लागि यस खालका औषधि प्रयोग गर्नुलाई ‘डोपिङ’ भनिने गरेको छ। नेपालीमा यसलाई प्रतिबन्धित औषधिको प्रयोग भन्ने गरिन्छ।
खेल क्षेत्रलाई यस्ता हर्कतबाट मुक्त गर्न भनेर विश्व एन्टिडोपिङ एजेन्सी स्थापना भएको छ।
खेलाडीहरूले कस्ता-कस्ता औषधि प्रयोग गर्छन् ? यिनले कसरी खेल जित्न मद्दत गर्छ ? स्वास्थ्यमा यसको असर के हुन्छ ? यसबारे हामीले राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संयोजक डा.असिम भण्डारीसँग कुराकानी गरेका छौँ।
हेल्थपाटीसँगको कुराकानीमा डा.भण्डारीले दिनुभएको जानकारीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ।
खेलमा डोपिङ कसरी हुन्छ ?
खेलाडीले खेलमा अनुचित फाइदा नलिउन भनेर वाडा अर्थात वर्ल्ड एन्टिडोपिङ एजेन्सीले मनिटरिङ गर्दै आएको छ।
यसले खेलमा अनुचित फाइदा लिनका लागि प्रयोग गरिने औषधि र विधिहरू के–के हुन्छन्, तिनको पहिचान गरी ती औषधि र विधिलाई प्रतिन्धित गरेको छ।
डोपिङका लागि धेरै प्रयोग हुने औषधिमा स्टेरोइड चक्की हुन्छन्। यसले मांसपेशी बलियो बनाउन मद्दत गर्छ। विशेष गरी एथ्लेटिक्स खेलका प्रतियोगी खेलाडीले यसको प्रयोग गर्छन्।
अर्काे हुन्छ ‘डाइयुरेटिक्स’ यसले पिसाब धेरै लाग्ने हुन्छ। पिसाब धेरै लागेपछि हाम्रो शरीरबाट पानीको मात्रा धेरै बाहिर जान्छ। तौलका आधारमा खेलाइने जस्तै बक्सिङ जस्ता खेलमा सहभागीले यो प्रयोग गर्न सक्छन्। उदाहरणका लागि कुनै ६५ केजीको खेलाडीले ‘डाइयुरेटिक्स’ प्रयोग गरेको खण्डमा धेरै पानी उसको शरीरबाट बाहिर जान्छ। उनको तौल ६० केजी वा ६२ केजीमा घट्न सक्छ। अनि उसले आफ्नो वास्तविक तौल ६५ केजीको समूहमा नभई ६० या ६२ केजीको समूहमा प्रतिस्पर्धा गर्न पाउँछ। यसो हुँदा उसलाई जित्न सजिलो हुन्छ।
डाइयुरेटिक्सले आफूले लिएको अन्य औषधि पनि शरीरबाट बाहिर फाल्न मद्दत गर्ने हुँदा यसलाई चाहिँ सबै खेलमा प्रतिबन्ध लगाइएको हुन्छ।
दमका लागि फोक्सो फुलाउन प्रयोग हुने औषधि पनि खेलाडीले दुरुपयोग गरिरहेका हुन्छन्। यो औषधिले हाम्रो श्वासनली खुलाउने काम गर्छ। श्वासनली धेरै खुल्दा हाम्रो शरीरमा धेरै अक्सिजन जान पाउँछ। धेरै अक्सिजन शरीरमा जाँदा शक्ति आर्जन हुने र खेलाडी कम थाक्ने हुन्छ।
मुटुको चाल कम गर्ने औषधि पनि प्रयोग भइरहेको हुन्छ। यो आर्चरी जस्ता खेलमा प्रयोग हुन्छ। मुटुको चाल कम भएपछि हात कम काप्ने हुन्छ र लक्ष साध्न सजिलो हुन्छ भनेर यो औषधि सेवन गर्ने गरेको पनि पाइन्छ।
डोपिङबाट रोक्न खेलाडीको कस्तो-कस्तो जाँच हुन्छ ?
खेल्नुको ठिक अगाडि परीक्षण हुन्छ। जस्तो भोलि खेल छ भने उक्त दिन सुरु हुनुभन्दा ठिक्क अगाडि परीषण गरिन्छ। खेल नसकिँदासम्म परीक्षण हुन्छ। यो भनेको इनकम्पिटिसन टेस्ट भनिन्छ।
अर्काे भनेको टार्गेटेट टेस्ट हुन्छ। यो भनेको कुनै देश वा टिमको कुनै एउटा उच्च तहको खेलाडीलाई लक्षित गरी परीक्षण गरिन्छ। उक्त खेलाडीले आगामी ३ महिनासम्मको आफ्नो पूरा विवरण दिनुपर्ने हुन्छ। उसले यो समयमा म यहाँ हुन्छु भनेर पूरा विवरण दिनुपर्ने हुन्छ। उक्त खेलाडी भएकै ठाउँमा गएर परीक्षण गरिन्छ।
यस्ता औषधिको प्रभाव शरीरका कति समयसम्म रहन्छ ?
कुनै औषधि खाएको २४ घण्टामै शरीरबाट पूर्णरुपमा बाहिर निस्किसकेको हुन्छ। कुनैलाई ३ दिन लाग्न सक्छ। कुनैलाई एक महिना र कुनैलाई ३ महिना पनि लाग्न सक्छ। त्यस कारण खेलाडी बन्ने लक्ष्य लिएका व्यक्तिले जुनसुकै तहका व्यक्ति हुन् उनीहरूले बिरामी परेकै अवस्थामा पनि औषधि लिँदा विचार गर्नुपर्छ।
बिरामी भएरै खेलाडीले त्यस्ता औषधि प्रयोग गर्नुपर्ने भयो भने के गर्ने ?
खेलाडीको स्वास्थ्य भन्दा ठूलो कुरा त खेल होइन। रोग लागेका बेला औषधि नै खान नपाउने हुँदैन त्यो त मानवता विरोधी कुरा भयो। खेलाडीले कुनै रोग लाग्यो भने ती प्रतिबन्धित औषधिको विकल्पमा के हुन्छ ती औषधि प्रयो गर्नुपर्छ। त्यही काम गर्ने अर्काे औषधि प्रयोग गर्ने। यदि यसको विकल्प छैनभने त्यसका टियुई(Therapeutic use examption) भन्ने एउटा पत्र हुन्छ, यसलाई नेपाली भन्नुपर्दा चिकित्सकीय प्रयोग छुट भनिन्छ, त्यो अनुमति लिनुपर्ने हुन्छ।
रोग पत्ता लगाउने डाक्टरले यो रोग लागेको छ भनेर लेखिदिनुपर्छ। रोग लागेको कुरा डाक्टरले प्रमाणित गरेको कागजातसहित आवेदन दिनुपर्छ। यो रोग लागेकाले यो ओषधि यति दिनका लागि खान पाउँ भनेर फर्म भरेर राष्ट्रिय इन्टिडोपिङ एजेन्सीमा आवेदन दिनुपर्छ। अहिले नेपालको सन्दर्भमा दक्षिण एसियाली इन्टिडोपिङ एजेन्सीले हाम्रो टियुई हेर्दै आएको छ।
आवेदन आएपछि संस्थाले त्यसबारे छानबिन गर्छ–साँच्चिकै बिरामी भएको होकि उक्त औषधि प्रयोग गर्नका लागि मात्रै बिरामी भएको देखाइएको हो भनेर।
छानबिनपछि निश्चित अवधिका लागि निश्चित मात्रामा औषधि खान पाइन्छ।
यस्ता घटनामा नेपाली खेलाडी कत्तिको परेका छन् ?
खेल भन्नेवित्तिकै डोपिङको कुरा नआउने भन्ने हुँदैन। मान्छे हुनेवित्तिकै बिरामी नहुने भन्ने पनि हुँदैन। नेपालको सन्दर्भमा पनि ३ जना खेलाडी डोपिङमा परेका छन्। एउटा १९९७–९८ तिर परीक्षण भएको थियो।
अनि २००६ को साफ गेममा एक जना एथ्लेटिक्सका खेलाडी डोपिङकै कारण प्रतिबन्धमा पर्नुभएको थियो। त्यो बेला उहाँले स्वर्ण पदक जित्नुभएको थियो। त्यो खोसियो। तर प्रतिबन्ध सकिएपछि फेरि सहभागी भएर उहाँले स्वर्णं पदक नै जित्नुभयो।
२०१४ को हाराहारीमा पनि बक्सिङका एक खेलाडीको डोपिङ पोजेटिभ आएको थियो। १९६० देखि १९८० मा युरोपको एउटा देश थियो। जसले खेलाडीलाई अनिवार्य रुपमा डोप गरायो।
हरेक देशमा के मान्यता हुन थाल्यो भने खेलाडीलाई अभ्यास गराएर होइन डोपिङ गरेर खेल जित्नुपर्छ।
यस्ता औषधिले स्वास्थ्यमा केही असर गर्छ कि गर्दैन ?
स्वास्थ्यमा विभिन्न असर हुन्छन्। जस्तो हाम्रो मुटुको एउटा समान्य चाल हुन्छ। यसलाई कतिसम्म रोक्ने त ? मुटुलाई हामीले समान्य रुपमा चल्न दिएनौँ। यसको चाललाई गढबढ गर्ने औषधि प्रयोग गरिराख्यौँ भने मस्तिष्कधात हुने, हृदयघात हुने एकदमै जोखिम हुन्छ। मुटुको चाल थपघट गर्नेवित्तिकै मुटुमा रगतको चोक्टाहरू बन्ने सम्भावना धेरै हुन्छ।
फोक्सोको चाल। कतिसम्म फोक्सोलाई खुलाउने औषधि खाने भन्ने हुन्छ। स्टेरोइडको कुरा गरौँ। यसको धेरै प्रयोगले पुरुषमा महिलाजन्य गुण आउने र महिलामा पुरुषजनय गुण आउने हुन्छ।
युरोपको एउटा देशमा सटपुटको खेलाडीलाई यति धेरै स्टेरोइड दिइयो कि उहाँ महिला हुनुहुन्थ्यो। पुरुषजन्य लक्षण देखिन थाल्यो। दारी जुँगा आउन थाल्यो, महिनाबारी रोकियो। बच्चा पाउन नसक्ने हुनुभयो। महिलामा हुने बानी-व्यहोरो हराउँदै गयो। उहाँलाई यति अप्ठ्यारो भयो कि पछि लिंग नै परिवर्तन गर्नुपर्ने अवस्था आयो।
डोपिङ गर्दा कस–कसलाई कारबाही हुन्छ ?
पहिले पहिलो यसमा खेलाडी मात्रै फस्ने हुन्थ्यो। तर खेलाडीले मात्रै डोपिङ गर्न सम्भव छैन। डाक्टरहरू पनि डोपिङ गराउन संलग्न भएको उदाहरण छ। डोपिङ गराउन फेडेरेसनको पनि भूमिका हुन्छ। प्रशिक्षकको भूमिका हुन्छ। त्यो देशको खेलको निकाय दोषी हुन्छन्। खेलाडीका अभिभावक पनि हुनसक्छन्।
यसमा जो पनि संलग्न छन्, तिनीहरूलाई कारबाही गर्ने नीति विश्व एन्टिडोपिङ एजेन्सीले लिएको छ। यसमा के उदाहरण छ भने सन २००६ मा संसारभरिको खेल संघको अध्यक्षलाई पनि कारबाही भएको छ।
त्यो पनि आजिवन कारबाही गरिएको छ। उहाँले जीवनभरि कुनै खेलमा पनि सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।
डोपिङ गर्ने खेलाडीलाई कस्तो सजाय हुन्छ ?
पहिलो प्रमाणित हुनुपर्यो। तयसका लागि परीक्षण गरिन्छ। पिसाब र रगतको नमुनाबाट परीक्षण हुन्छ। वाडाले नै प्माणित गरेको प्रयोगशालामा त्यो परीक्षण हुन्छ। त्यसमा पोजेटिम नतिजा आयो भने त्यसपछि रिजल्ट म्यानेजमेन्टमा जान्छ। रिजल्ट म्यानेजमेन्टले अवस्था हेरेर सजाय निर्धारण गर्छ। २ वर्ष, ४ वर्ष वा आजिवन कारबाही हुनसक्छ।
अहिलेसम्म कस्ता–कस्ता खेलाडीलाई कारबाही भएको छ ?
१९६० मा स्टेरोइड खाएर साइकलिङको खेलाडी हुनुुहुन्थ्यो। उहाँको खेलकै क्रममा मृत्यु भयो। यसमा विवाद भयो। स्टेरोइड भएर मस्तिष्कघातका कारण मृत्यु भएको पनि भनियो। अर्काथरीले लडेर टाउकोमा मृत्यु भएको पनि भनियो। लामो समय लगाएर यो घटनाको बारेमा जाँच भयो। १९७६ युरोपको एउटा देशले डोपिङमा फस्यो। अर्जेन्टिनाका महान हस्ती समेत १९९४ को विश्वकपमा डोपिङमा परेर दुई खेल खेलेपछि प्रतिबन्धमा पर्नुभएको उदाहरण पनि छ।
२००६ मा यसमा नेपालका खेलाडी पनि परेका थिए। पछिल्लो पटकको एसिएन खेलमा पनि बास्केट बलको स्वर्ण पदक र कास्य पदक जितेको टोलीबाट पनि डोपिङ गरेका खेलाडी भेटिएका थिए। चीनको भलिबल टोलीमा पनि देखिएको थियो। क्रिकेटको कुरा गर्दा पाकिस्तानका चर्तित फास्ट बलर पनि पर्नुभएको थियो। छिमेकी देश भारतका खेलाडी पनि फस्नुभएको छ। अस्ट्रेलियाका महान स्पीनर पनि २००३ मा फस्नुभएको थियो।
केदार गौतम
तपाईँको अभिमत