अध्ययनको रिपोर्ट : सप्ताहन्तमा कोभिडबाट मर्नेको संख्या बढी

फाइल तस्बिर।
कार्यालय दिनहरूको तुलनामा सप्ताहन्त (विदा) का दिनमा कोभिड महामारीबाट मर्नेको संख्या बढी देखिएको छ । क्यानडाको टोरोन्टो विश्वविद्यालयमा गरिएको एक अध्ययनले त्यस्तो देखाएको हो ।
विश्वभर महामारीका बखत सप्ताहन्तमा औसत ६ प्रतिशतले बढी कोरोना संक्रमितको ज्यान गएको हो । औसतमा सप्ताहन्तमा ८ हजार ५३२ जनाको ज्यान गएको थियो भने अन्य दिनहरूमा औसत ८ हजार ८३ जनाको ज्यान गएको हो । अध्ययनमा ७ मार्च २०२० देखि ७ मार्च २०२२ सम्मको मृतक संख्या समावेश गरिएको थियो ।
मृतकमध्ये अमेरिकामा सप्ताहन्तका बेला २२ प्रतिशतले संख्या बढेको थियो । सप्ताहन्तमा १ हजार ४८३ को औसत मृत्यु हुँदा अन्य दिनमा १ हजार २२० को मात्र मृत्यु भएको देखिएको छ । त्यस्तै ब्राजिलमा २९ प्रतिशतको फरक देखिएको छ । १ हजार ६१ सप्ताहन्तको औसत मृत्यु थियो भने औसत ८२३ जनाको अन्य दिनमा मृत्यु भएको थियो । बेलायतको भने ११ प्रतिशतले वृद्धि भएको देखिएको छ । सप्ताहन्तमा औसत २३९ संक्रमितको ज्यान गएको थियो भने अन्य दिनमा २१५ जनाको ज्यान गएको थियो ।
यस्तो हुनुमा अस्पताल तथा स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको कमी, स्वास्थ्यकर्मी कम भएपछि अस्पतालको क्षमतामा पनि कमी हुनु कारक रहेको अध्ययनकर्ताहरूले बताएका छन् । यस्तै गम्भीर बिरामीको अवस्था ढिलो थाहा हुनुलगायत पनि सप्ताहन्तमा मृतक संख्या बढी हुनुको कारण रहेको बताइएको छ ।
यद्यपि यस्तो फरक सबै मुलुकमा नदेखिएको अध्ययनकर्ताहरूले बताएका छन् ।
(टाइम्स अफ इन्डियाबाट)
हेल्थपाटी
तपाईँको अभिमत