क्यान्सर हुँदा पनि जाँच नै नगरी पायल्सको औषधि खान्छन् बिरामी(भिडियो)
वाफलका राजेन्द्र महर्जनलाई दिसा गर्दा रगत देखो पर्ने समस्या सुरुभयो। केही दिनसम्म त्यस्तो समस्या देखिएपछि उहाँले सोच्नुभयो-मलाई पायल्स भएछ।
पायल्स हुँदा दिसामा रगत देखिने कुरा उहाँले चिनजानका अरु बिरामीबाट थाहा पाउनुभएको थियो। त्यही बुझाइअनुसार पायल्स चट्टै निको हुन्छ भनी प्रचार गरिएका आयुर्वेदिक औषधि किनेर खानुभयो।
एक महिनासम्म पनि ठिक नभएपछि जाँचका लागि नर्भिक अस्पताल पुग्नुभयो। त्यहाँ चिकित्सकले जाँच गरेपछि पायल्स नभएको निष्कर्ष निकाले अनि भक्तपुर क्यान्सर अस्पताल जान सुझाव दिए। भक्तपुर क्यान्सर अस्पताल पुगेर जाँच गर्दा उहाँलाई क्यान्सर भएको पुष्टिभयो।
उहाँ अहिले भक्तपुर क्यान्सर अस्पताल आएर उपचार गराइरहनुभएको छ।
पायल्स र मलद्वार क्यान्सरका उस्तै–उस्तै लक्षण देखिन्छन्। यही कारणले गर्दा मलद्वार क्यान्सर हुँदा समेत कुनै जाँच नै नगरी पायल्सको औषधि खाने व्यक्तिको संख्या धेरै रहेकोभक्तपुर क्यान्सर अस्पतालका सर्जिकल अंकोलोजिस्ट डा.पुण्यराम खर्बुजा बताउनुहुन्छ।
यस खालकाे समस्या हुने धेरैजना सुरुमा पायल्स भन्दै आयुर्वेदिक लगायतका औषधि खाएर ४–५ महिनापछि मात्रै अस्पताल आउने गरेको डा. खर्बुजाले जानकारी दिनुभयो।
यो प्रवृत्ति ममलद्वार क्यान्सरको उपचारमा एक चुनौतीको रुपमा रहेको उहाँको भनाइ छ।
लक्षणकै आधारमा यी दुई रोग छुट्याउन नसकिने र बिरामी झुक्किने गरेको डा.खर्बुजा बताउनुहुन्छ।
दिसामा रगत आउने, दिसा पूरा नभको जस्तो हुने, दिनमा धेरै पटक दिसा गर्न जानुपर्ने, मलद्वारबाट भित्र मासु पलाएजस्तो हुने लक्षण यी दुवै रोगमा देखिन्छ।
यदि यसका खालका लक्षण देखियो भने कुनै घरेलु उपचार वा आफूखुसी कुनै औषधि नखान र तुरुन्त स्वास्थ्य संस्था गई परीक्षण गर्न उहाँको सुझाव छ।
स्वास्थ्य संस्था गएपछि चिकित्सकले औला हालेर सामान्य रुपमा हेर्दा मात्रै पनि क्यान्सर होकि पायल्स हो भन्ने थाहा हुने डा.खर्बुजा बताउनुहुन्छ।
यसमा अझ स्पष्ट हुनका लागि कोलोनोस्कोपी(मलद्वारबाट पाइप छिराएर गरिने परीक्षण) गरिन्छ।
पायल्स भयो भन्दै केही महिना औषधि खाएर मात्रै बिरामी आउँदा क्यान्सर जटिल चणरमा पुगिसकेको हुने डा.खर्बुजाले जानकारी दिनुभयो। क्यान्सरको तेस्रो, चौथो चरण भइसकेपछि निको बनाउन अवम्भव जस्तै हुन्छ।
डा.खर्बुजाका अनुसार क्यान्सरको उपचार गर्न ढिलो भइसकेपछि धेरै जना बिरामीको स्टोमा बनाउनु पर्ने हुन्छ। स्टोमा भनेको दिसा आउने ठाउँमा अप्रेसन गरिसकेपछि त्यसको मल निकालेर खन्याउन एउटा पाइप बनाउनुपर्ने हुन्छ, त्यो पेटको साइडमा राखिन्छ। रोगको उपचार सुरु गर्न जति ढिला भयो त्यति स्टोमा बनाउनु पर्ने आवश्यकता हुनछ।
मलद्वार क्यान्सरमा स्टोमा बनाउनु पर्ने, नपर्ने कुरा कुन ठाउँमा क्यान्सर भएको छ भन्ने कुराले पनि निर्धारण गर्ने डा.खर्बुजा बताउनुहुन्छ। उहाँका अनुसार क्यान्सर मलद्वारको जति बाहिरी भागमा भयो, त्यति नै धेरै स्टोमा बनाउनुपर्ने सम्भावना हुन्छ।
जति भित्री भागमा क्यान्सर भयो, त्यति उपचार गरेर बचाउन सकिने सम्भावना बढी हुन्छ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारमा आउने गरेका मलद्वार क्यान्सरका अधिकांश बिरामी सुरुमा पायल्सको उपचार गराएर आएका नै हुने गरेकाे डा. खर्बुजाले सुनाउनुभयो। आफूले व्यक्तिगत रुपमा वर्षमा ५० वटा जति मलद्वार क्यान्सरको अप्रेसन गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो।
पायल्सको उपचार गर्ने विधि थुप्रै रहेकाले जुनमा विश्वास लाग्छ त्यही उपचार गर्न डा.खर्बुजाको सुझाव छ। तर औषधि उपचारमा जानु भन्दा पहिला जाँच गरेर पायल्स हो वा क्यान्सर हो भन्ने स्पष्ट हुन भने जरुरी रहेको उहाँ सुनाउनुहुन्छ।

केदार गौतम
तपाईँको अभिमत