मैले बाँडेको अक्सिजन र औषधि विदेशी अनुदानको होइनः वनमन्त्री आले
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिन्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको दाबी गर्नुभएको छ ।
सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ।’
महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको उहाँको भनाइ छ।
उहाँले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटर समेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने,‘म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु(मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन।’
मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिन्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिन्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ।
मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिन्डर प्रदान गरिसकेका छन् ।
विपतका बेलामा वन मन्त्रीले अक्सिजनका सिलिण्डरमा आफ्नो फोटो टाँसेको भन्दै अहिले उक्त चित्र सामाजिक सञ्जालमा भाइरल भएको छ । रासस ।
हेल्थपाटी
तपाईँको अभिमत