नेपालमा पनि टिएभीआई विधिबाट मुटुको उपचार, छाती र मुटु चिर्न नपर्ने
नेपालमा पनि ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टिएभीआई) विधीबाट मुटुको भल्ब प्रत्यारोपण सुरु भएको छ । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा.चन्द्रमणी अधिकारीले जानकारी दिनुभयो ।
उक्त उपचार पद्धतीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नेपालमै पहिलो पटक फागुन १६ गते ८० वर्षकी महिलाको टिएभीआई विधिबाट सफल उपचार गरिएको बताउनुभयो ।
उक्त उपचार पद्धतीमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरबाट मानव निर्मित भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्यारोपण भएको भल्बले तुरुन्तै काम शुरु गर्ने हुँदा बिरामीले चाँडै निको भएकाे महशुश गर्नेछन् ।
बिरामीलाई बेहोस गरि छाती र मुटु चिरी शल्यक्रिया गर्न नपर्ने भएकाले जटिलता न्यून रहने बताउँदै शल्यक्रियाको तुलनामा यस उपचार पद्धति प्रभावकारी र यसमा मृत्युदर कम हुने अध्ययनले देखाएको उहाँको भनाइ छ ।
मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्व साँघुरिने रोगलाई एओर्टिक स्टेनोसिस भनिन्छ। यो रोगमा विशेषगरी स्वाँस्वाँ हुने, छाति दुख्ने र बेहोस हुनेजस्ता गम्भिर लक्षणहरू देखिन सक्छ । यस्ता लक्षणहरु देखिएका बिरामीहरुको दुई वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशतले हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
यो रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भाल्व प्रत्यारोपण गरिने विधि हो तर विशेषगरी वृद्धवृद्धामा यस रोगका साथसाथै अन्य प्रकारका जटिल रोगहरु र शारिरिक दुर्वलतासमेत हुने भएकोले छाती चिरेर शल्यक्रिया गर्दा बढि जोखिम हुने गर्दछ । यस्ता विरामीहरुको जोखिम न्यूनिकरण गर्नको निमित्त टिएभीआई उपचार विधि विकास भएको अधिकारीले बताउनुभयो ।
यो विधिबाट पहिलोपटक सन् २००२ मा फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतीबाट नियमित रुपमा उपचार हुँदै आएपनि नेपालमा यो प्रविधि भित्रिएको थिएन ।
मुटुरोगका राकथाम, निदान, उपचार तथा हृदयरोगीहरुको पर्नस्थापनाको लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वशुलभ रुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीहरुलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोग सम्बन्धी अध्ययन र अनसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यसहित वि.सं. २०५२ सालमा केन्द्रको स्थापना भएको हो । स्थापनाकालमा ९ शैयाबाट सेवा सुरु गरेको यस केन्द्रमा हाल २३९ शैंयासहित सेवा दिई रहेको छ।
हेल्थपाटी
तपाईँको अभिमत