‘नेपालमा इच्छामृत्युको प्रावधान लागू भए पहिलो नाम मेरो लेखियोस्’
म्याग्दे गाउँपालिका-७,तनहुँका दीपक भण्डारीले मुडोजस्तै ओछ्यानमा पल्टिएर जीवन काट्न थालेको १२ वर्ष बितिसकेको छ। उहाँ २०६६ सालमा सडक दुर्घटनामा पर्नुभएको थियो। त्यसयता उहाँको टाउको मुनिको(कुमबाहेक) कुनैपनि अंग चल्दैनन्।
उहाँले फेसबुकमार्फत प्रधानमन्त्रीलाई खुल्ला पत्र लेख्दै इच्छामृत्युको माग गर्नुभएको छ। बाँच्नका लागि २४ सै घण्टा अरुको साहरा चाहिने भएकाले आफूसँगै परिवार पनि पीडित भएको दीपक सुनाउनुहुन्छ। राज्यले निर्माण गरेको अपाङ्गता नियमावली अनुसारको अत्यावश्यक सेवा सुबिधा पाउन स्थानीय सरकारसँग निवेदन गर्दापनि प्राप्त गर्न नसकेकाले अब आफ्नो चाहना 'इच्छामृत्यु' भएको उहाँ बताउनुहुन्छ।
एकपटक प्रधानमन्त्रीलाई भेट्न पाए हुने भन्ने इच्छा उहाँले जाहेर गर्नुभएको छ। ‘म एकपटक प्रधानमन्त्री ज्यू तपाईंसँग प्रत्यक्ष भेटी मेरो पीडा र आवश्यकताको यथार्थ अवगत गराउन चाहन्छु’ दीपक भन्नुहुन्छ, प्रधानमन्त्री ज्यू एकचोटि तपाईँले मेरो ठाउँमा रहेर पीडाको महसुस गरेर हेर्नुहोस्।’
प्रधानमन्त्रीलाई भेटी आफू र आफूजस्तो परिस्थितिमा बाँच्न बाध्य व्यक्तिहरूको हितका विषयमा कुरा गर्ने दीपकको चाहना छ। 'यसै निवेदनमार्फत तपाईं माननीय प्रधानमन्त्रीसमक्ष हार्दिक अनुरोध गर्दछु। पक्कै पनिे भेट्ने वातावरण मिलाउनु हुनेछ भन्ने आशा राखेको छु।’ दीपकले फेसबुकमा लेख्नुभएको छ।
प्रधानमन्त्रीलाई भेट्न पाए कानुनमा इच्छामृत्युको प्रावधान राख्न माग गर्ने उहाँको भनाइ छ।
'‘इच्छामृत्यु’ को प्रावधान लागुगर्ने सहमति भएमा नेपालको इतिहासमा स्वैच्छिक मृत्युवरण गर्नेको लिष्टमा पहिलो नाम मेरो लेखिओस् भन्ने हृदयदेखि इच्छा व्यक्त गर्दछु।’
खुसी खोसिएको त्यो दिन
दीपक २०६६ फागुन ५ गते पोखराबाट गाउँ फर्किँदै हुनुहुन्थ्यो। पोखरामा रहेका आफन्तको घरमा गएर फर्किनुभएका उहाँको साथमा ससुरा र माहिला ससुरा समेत हुनुहुन्थ्यो।
उहाँहरू चढेको बस कास्की र तनुहँ जोड्ने कोत्रे खोलाको पुलनजिक घुम्तीमा दुर्घटना भयो।
दुर्घटनामा बेहोस् हुनुभएका उहाँ होसमा आउँदा काठमाडौंको नर्भिक अस्पतालमा हुनुहुन्थ्यो। सुरुमा उहाँलाई पोखराकै मणिपाल अस्पताल लगिएको थियो। दुर्घटना भएपछि गाडीबाट निकाल्दै गरेको अलिअलि याद रहेको दीपक सुनाउनुहुन्छ। दुर्घटनाको ३ दिनपछि मणिपालबाट नर्भिकमा ल्याएर अप्रेसन गरेपछि मात्रै उहाँलाई होस् आएको थियो।
होसमा आएपछि उहाँले थाहा पाउनुभयो–आफूसँगै बसमा चढेका ६ जनाले संसार छाडेछन्। ससुरा र महिला ससुरा अचेत अवस्थामा अस्पतालमा रहनुभएको थाहा भयो। केही दिनपछि उहाँहरू दुवै जना बित्नुभयो।
उहाँलाई आफू बाँचेछु भनेर खुसी लाग्यो। होस आएपछि डाक्टरहरूले सुनाउनुभयो, ‘तपाईलाई स्पाइनल इन्जुरी भयो टाउकोमुनिका अंग चल्दैनन्’ तर दीपकलाई डाक्टरहरूको कुरामा विश्वासै लागेन। ‘तपाईहरूले भनेर हुन्छर ? म पूरै ठिक हुन्छु’ उहाँको मनमा लागिरहेको थियो। यही कुरा डाक्टहरूलाई भन्नु पनि भयो।
तर बिस्तारै पत्याउन करै लाग्यो। दीपकका अधिकांश अंग चलेनन्। त्यसपछि फिजियोका लागि उहाँलाई माइतिघरको अन्नपूर्ण न्युरो अस्पताल लगियो। त्यसपछि काभ्रेको बनेपामा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा गएर दीपक ८ महिना बस्नुभयो। अनि पोखरा हरियोखर्कमा ५ दिन बसेर दुर्घटनाको करिब ९ महिनापछि घर फर्किनुभयो। अब उहाँलाई आफ्ना हरेक दैनिक काम गर्न कसैको सहयोग चाहिने भयो। त्यसयता उहाँ निकै संघर्षको जीवन बाँचिरहनुभएको छ।
दुर्घटनामा पर्दा दीपक ३२ वर्षको हुनुहुन्थ्यो। बिहे गरेको ५ वर्ष भएको थियो। छोरी आइशा ४ वर्षकी थिइन्। गुजाराका लागि गाउँमै किराना पसल राख्नुभएको थियो। दीपक दुर्घटनामा परेपछि पसल, छोरीको हेरचाह साथै दीपकको रेखदेखको सबै बोझ उहाँकी पत्नी कल्पनाको काँधमा आयो।
पीडामाथि थप पीडा
सानो किराना पसल, अपांगता भएका व्यक्तिलाई आउने सामाजिक सुरुक्षा भत्ता यहीबाट दीपक–कल्पनाको परिवार जेनतेन चलिरहेको थियो। २०७८ साल बैशाख ३ गते यो परिवारमा अर्को बज्रपात आइलाग्यो। पसलमा आगलागी भयो। आगलागीमा परेर कल्पना घाइते हुनुभयो। त्यसको उपचारका लागि कल्पना अहिलेसम्म अस्पताल धाउँदै हुनुहुन्छ।
छोरी आइशा ११ कक्षामा पढ्दै छिन्। दीपक केही गर्न नसक्ने, कल्पना पनि अस्ताल धाइरहनुपर्ने भएपछि पसल चल्न सकेको छैन।
‘दुःख पनि हामीमाथि मात्रै कति अति आइपरेको ? दीपक प्रश्न गर्नुहुन्छ, जति भएपनि खप्नैपर्ने के गर्नु? अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावलीमा भएको व्यवस्था अनुसार सेवा, सामग्री माग गर्दा कसैले नसुनेको उहाँको गुनासो छ।
उक्त नियमावलीमा उल्लेख भएअनुसार आफूलाई एक सुसारे र आवश्यक सेवा सामाग्री भए बाँच्न सहज हुने दीपक बताउनुहुन्छ। ‘मलाई अरु केही चाहिएको थिएन, २४ घण्टै अरुको सहारामा बस्नुपर्छ नियमावली अनुसार सहयोगीको व्यवस्था भए हुने।’
त्यसका लागि पटक-पटक आग्रह गरेपछि वडाले सिफारिस गरेर पठाए पनि माथिल्लो निकायले कुनै ध्यान नदिएको उहाँको गुनासो छ।
आफूले सक्ने काम पाए हुने भन्ने चाहना उहाँको छ। ‘अरु अंग नचले पनि औँलाको पछाडिको भागले कम्युटरमा टाइप गर्नसक्छु। यस्तै काम दिए त आफ्नै कमाइमा बाँच्न सक्थेँ नि’ दीपक भन्नुहुन्छ।
तपाईँको अभिमत