अमेरिकामा हराइरहेकी नर्सको हत्या गरेर शव लुकाएको श्रीमान्माथि आरोप
अमेरिकाको भर्जिनियामा तीन सातादेखि हराइरहेकी नेपाली नर्स ममता काफ्ले भट्टको हत्या भएको शंका गरिएको छ । सीएनएनका अनुसार उनको हत्याको आरोप श्रीमान् नरेश भट्टलाई लगाइएको छ ।
श्रीमान् नरेशले आफ्नै घरमा श्रीमतीको हत्या गरी घिसारेर कतै लगेको हुन सक्ने बताइएको छ ।
सोधपुछका लागि बिहीबार भर्जिनिया प्रहरीले नरेशलाई पक्राउ गरी शुक्रबार अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित गराइएको उनीमाथि ममताको हत्या गरी लाश लुकाएको अभियोग लगाइएको सीएनएनले जनाएको छ ।
अदालतमा अभियोजकहरूले ममताको हत्या नरेशले नै गरेको र त्यसतर्फ इंगित गर्ने गर्ने विभिन्न सुराकहरू समेत रहेको बताएका छन्।
नरेशले ३० जुलाईमा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात लास घिसार्दै बाहिर ल्याएको अभियोजकहरूले अदालतमा बताएका छन्।
नरेश र ममता बस्दै आएको घरमा खानतलासी गर्दा मास्टर बेडरूममा रगतको धब्बाहरू देखिएको तथा मास्टर बाथरूम र त्यहाँ रहेको बाथटबमा पनि रगत देखिएको त्यहाँको प्रहरीले बताएको छ।
२८ वर्षीय नर्स काफ्ले गत जुआई ३१ तारिखका दिनदेखि परिवारको सम्पर्कमा आएकी थिइनन् । उनको खोजी उनका साथी र श्रीमान्हरूले गरिरहेका थिए ।
तर प्रहरीको अनुसन्धानले श्रीमान् आफैँले उनको हत्या गरेको तथ्य फेला पारेको दाबी प्रहरीले गरेको छ ।
तपाईँको अभिमत