दशैं र तिहार १५ दिनको फरकमा किन मनाउन थालियो ?

हिन्दुहरुको ठूलो पर्व दशैं सकिएको केही दिनमै अर्काे ठूलो पर्व तिहार आउँछ । दशैंको माहौल र दौडधुप सक्काएर भर्खर नियमित कामकाजमा लागिरहेका व्यक्तिहरुलाई फेरि तिहार पर्वको चटारोले छुन्छ ।
कामका सिलसिलामा टाढाटाढा बसिरहेका व्यक्तिहरु गाउँ, घर पुगेर परिवार, आफन्तसँग भेटघाट गरेर भर्खरै फर्किएका हुन्छन्।
दशैं र तिहारसँगै हुँदा एकै पटक धेरै आर्थिक बोझ पर्ने र अन्य धेरै अप्ठेरा पनि हुन्छन् ।
यस्तो अवस्थामा दशैंलगतै भन्दा तिहार पर्व अलि महिनापछि आउने भए धेरे राम्रो हुन्थ्यो भन्ने तर्क धेरै उठ्ने गर्छन् । सँगसँगै दुई ठूला पर्व किन मनाउन थालियो होला भन्ने प्रश्न धेरैले गर्ने गर्छन् ।
आखिर दशैं र तिहार १५ दिनको फरकमा किन मनाउन थालियो होला ?
त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, सँस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा.डा.सोम प्रसाद खतिवडासँग गरिएको कुराकानी पुन प्रकाशन गरेका छौं ।
यो अहिले मनाउन थालिएका पर्व होइनन्। हाम्रो पुर्खाले हजारौँ वर्ष पहिलादेखि मनाउँदै आएका हुन्। सबै चाडपर्वहरु वैज्ञानिक महत्वका छन्।
दशैं भनेको बाहिर गएको मान्छे घरमा आएर खुसीयाली भएर मनाइने पर्व हो। जुन पर्वमा शक्ति संग्रह गर्ने गरिन्छ। उसले हर्साेल्लासका साथ शक्ति संग्रह गर्ने खालको, शक्ति सञ्चय गर्ने किसिमका खानेकुरा खाइन्छ, लुगा लगाइन्छ। अनि आफन्तसँग आशिष लिइन्छ।
त्यसको १५ दिनपछि जुन तिहार पर्व मनाइन्छ। यो चाहिँ विदाइ गर्ने मनाउने पर्व हो। बाहिर जाने मान्छेलाई लामो समय घरमा बस्न मिल्दैन अनि तिहार पर्व मनाएर दीर्घायूको कामना गरेर विदा गर्न यो पर्व मनाउन थालिएको हो।
उबेला व्यापार कस्तो थियो भने–अहिले जस्तो एउटा ठाउँमा पसल राखेर चल्दैनथ्यो। मान्छेले गाउँ–गाउँमा शहर–शहरमा सामान लिएर जानुपर्थ्यो। व्यापारीहरू हुलका हुल हिँड्ने गर्थे। बाटोमा चोरी लुटपाट पनि हुने गर्थ्यो।
दिदी बाहिनीले दीर्घायूको कामना गरेर विदा गर्ने गरेका हुन्।
तिहारमा कागलाई पूजा गर्ने चलन छ। पहिले–पहिले जतिबेला यी चाडपर्व सुरु भए कागलाई समाचार लाने–ल्याउने माध्यम मानिन्थ्यो। घरको छेउमा बसेर काग कराउँदा राम्रो खबर ल्यायो कि नराम्रो ल्यायो भनेर मूल्यांकन गरिन्थ्यो।
बाहिर गएको मान्छे मर्यो, बाँच्यो केही थाहा हुँदैनथ्यो। कागलाई यमराजको दूत मानिन्थ्यो। त्यो बेलाको समाज त्यस्तै थियो। समाचार दिने माध्यमको रुपमा पूजा गर्न थालियो।
कुकुर हामीलाई थाहा छ बिना शुल्क खाना मात्रै खाएर मालिकको रक्षा गर्ने जनावर हो। चोर डाका, जंगली जनावरबाट रक्षा गर्थ्यो। चोरी डकैती भयो भने अहिलेको जस्तो प्रहरी प्रशासन सुरक्षाको सम्भावनै थिएन। कुकुरले नै सुरक्षामा सहयोग गर्थ्यो।
तिहारमा लक्ष्मीको पुजा हुन्छ। लक्ष्मी भनेको धन सम्पतिसँग सम्बन्धित भयो। बाहिर जाने मान्छे धन कमाउन हिँडेको हुन्छ। उसले तिहारमा लक्ष्मीलाई खुसी पारेर हिँडन खोजेको हो।
दूध दिने, गोरु जन्माउने, मल दिने गुणैगुण भएकाले गाईलाई लक्ष्मी मानेर पूजा गरिएको हो। गाईलाई लक्ष्मी मानेर पूजा गर्नुको पछाडि गाईलाई लोप हुन नदिनु पनि एउटा हो। लक्ष्मी भनेपछि गाईलाई मान्छेले नमास्ने भयो। संरक्षण गर्दा फाइदा धेरै थियो।
गोरु जोतेर अन्न उत्पादन गरिन्थ्यो। गाडा लगायतका सवारीका लागि पनि गोरुको प्रयोग गरिन्थ्यो। त्यसैले गोरुको पूजा गरियो।
गोवद्र्धनको पर्वतको पूजा चाहिँ जडीबुडी दिने गुणकारी पर्वतको नाम गरिएको हो।
नेवार समुदायमा त म्ह पूजा गर्ने चलन छ । नेपाल सम्वत पनि सुरु हुन्छ। आफ्नो पूजा गर्ने वर्षभरि स्वास्थ्य हुने भन्ने हो।
अन्तिममा भाइ टीका अर्थात भाइ पूजा गर्ने चलन छ। यसमा दिदी बाहिनीले दाजुभाइलाई पूजा गरेर दीर्घायूको कामना गर्न गरिन्छ। दीर्घायूको कामना गरेर, यमराजले आँखा लगाउन नसकोस भनेर आशीर्वाद दिएर दशैँमा आएको व्यक्तिलाई बाहिर पठाउने हो।
तिहार लगतै तराईमा छठको पूजा हुन्छ। हिन्दु धर्ममा विभिन्न देवी देवताको कल्पना गरिएको छ। तीमध्ये आँखैले देखिने देवता भनेका सूर्य हुन्। सूर्य देखिएन भने संसार सधैँ अन्धकार हुन्छ। छैठीको दिन सूर्यलाई पूजा गर्ने भएकाले छठ भनियो।
दशैं, तिहार, छठलगायतका पर्व एकअर्कामा अन्तर सम्बन्धित छन्। उहिलेको समयमा जुन बेला यातायातको विकास भएको थिएन, त्यो बेला आफन्तहरुसँग भेटघाट गर्ने अध्यात्मिक उन्नयन गर्ने, व्यक्तिको विकास गर्ने, स्वास्थ्यलाई ख्याल गर्ने ठूलाबाट आशिष लिने केटाकेटीलाई पनि ख्याल गर्ने जस्ता कार्यका लागि यी पर्वहरु मनाइएको हुन्।
तपाईँको अभिमत