मंगोलियन जातिमा हड्डीको बनोटकै कारण पनि घुर्ने समस्या हुन्छ
राति सुत्दा घुर्ने समस्या धेरै व्यक्तिमा देखिन्छ तर पनि घुर्नुलाई खासै समस्या मानिँदैन । अहिलेसम्म हामीले बुझ्दै आएको के छ भने यदि सुत्दा कोही व्यक्ति घुर्छ भने उसले आसपास सुत्ने अरुलाई बाधा पुर्याइरहेको हुन्छ।
सुतेका बेला घुर्ने बानीले अरुको निद्रा बिगार्ने मात्रै नभएर यसले जटिल स्वास्थ्य समस्या समेत निम्त्याउने नाक, कान घाँटी रोग विशेषज्ञ डा.योगेश न्यौपाने बताउनुहुन्छ।
हेल्थपाटीसँगको कुराकानीमा डा.न्यौपाने ले दिनुभएको जानकारी अनुसार घुर्नुको एउटै कारण श्वास फेर्ने बाटो साँघुरो भएर हो।
साघुँरो बाटो भएर श्वास फेर्दा एक किसिमको भाइब्रेसन आउँछ, त्यही भाइब्रेसन नै घुराइ हो।
अहिले व्यक्तिमा घुर्ने समस्या धेरै बढेको डा.न्यौपानेले जानकारी दिनुभयो।
‘आज भन्दा २० वर्ष पहिला ५ देखि १० प्रतिशत व्यक्तिहरु घुर्छन् भन्ने अध्ययनले देखाएको थियो’ डा.न्यौपाने भन्नुहुन्छ, ‘तर अहिले यो बढेर २५ प्रतिशत पुगेको छ । अझ कुनै–कुनै अध्ययनले त ४० प्रतिशत जनसंख्या घुर्छन् भन्छ।’
डा.न्यौपानेका अनुसार घुर्नु भनेको फोक्सोमा श्वास कम जानु हो। श्वास कम जाँदा अक्सिजन पनि कम हुन्छ । यस कारण शरीरमा अक्सिजनको कमी भएपछि विभिन्न स्वास्थ्य समस्या देखिन्छ।
घुर्नुको एउटा मुख्य कारण मोटोपन रहेको डा.न्यौपाने बताउनुहुन्छ। मोटोपनले पेटमा मात्रै नभएका घाँटी र जिब्रोका विभिन्न भागमा पनि जम्मा हुन्छ । त्यसले श्वास फेर्ने बाटो साँघुरो भएर घुर्ने समस्या हुन्छ ।
घुर्नुको एउटा मुख्य कारण मोटोपन रहेको डा.न्यौपाने बताउनुहुन्छ । मोटोपनले पेटमा मात्रै नभएका घाँटी र जिब्रोका विभिन्न भागमा पनि जम्मा हुन्छ । त्यसले श्वास फेर्ने बाटो साँघुरो भएर घुर्ने समस्या हुन्छ ।
नाकको हड्डी बाङ्गो हुँदा वा नाकमा मासु पलाएको छ, टन्सिल ठूलो भएको छ, माथिको तालु मुनि भुण्डिरहेको छ भने पनि त्यसले श्वास फेर्ने बाटो साँघुरो बनाएर घुर्ने समस्या हुन्छ ।
नेपाल, भारत लगायतका देशमा सुत्दा घुर्ने समस्याको मुख्य कारण मोटोपना नै रहेको डा.न्यौपानेको भनाइ छ । चीन लगायत मंगोलियन जातिमा भने हड्डीको संरचनाकै कारण पनि घुर्ने समस्या हुने उहाँ बताउनुहुन्छ ।
‘हाम्रो जस्तो देश नेपालमा, भारतमा घुर्नुको मुख्य कारण भनेको मोटोपना हो’ डा.न्यौपाने भन्नुहुन्छ, ‘चिनियाँ तथा मंगोलियन व्यक्तिमा भने हड्डीको संरचनाका कारण पनि घुर्ने समस्या हुन्छ । उनीहरुको अलिकति च्यापु पछाडि गएको हुन्छ, नाक थेप्छिएको हुन्छ । यसो हुँदा पछाडि भागमा जाने हुन्छ र त्यसले श्वास फेर्ने बाटो साँघुरो बनाइरहेको हुन्छ।’
कोही मान्छे घुरेर सुतेको छ भने कति आनन्दले सुतेको भन्ने सोचाइबाट राख्न नहुने डा.न्यौपाने बताउनुहुन्छ।

हेल्थपाटी
तपाईँको अभिमत