नेपालीका लागि घातक बन्दै 'अति खराब चिल्लो', कानुन बनाउन माग
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ट्रान्स फ्याट अर्थात अति खराब चिल्लोको धेरै प्रयोग हुने १० देशमध्ये नेपाल पनि पर्छ ।
वरिष्ठ मुटुरोग विशेज्ञ डा.प्रकाशराज रेग्मीले अति चिल्लो पदार्थ मन्दविष भएकाले थाहै नपाई यसले हृदयघातको समस्या निम्त्याइरहेको जानकारी दिनुभयो
नेपाल हृदयरोग निवारण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा बोल्दै डा.रेग्मीले नेपालमा अति चिल्लो पदार्थबारे नीति। नियम भएपनि कानुन नभएकोले नियन्त्रणमा समस्या भएको बताउनुभयो।
नेपालमा खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा सीमित गर्नेबारे तत्काल कानूनी प्रावधानको खाँचो रहेको पनि उहाँले औँल्याउनुभयो।
के हो ट्रान्स फ्याट ?
ट्रान्स फ्याट अंग्रेजी शब्द हो। ट्रान्स फ्याट धेरै कम सुन्नमा आएको शब्द भएकाले यसबारे धेरैलाई जानकारी छैन। यो शब्द १९७८ मा मात्र अंग्रेजी शब्दकोशमा लेखिएको थियो। ट्रान्स फ्याट एक प्रकारको अति खराब चिल्लो पदार्थ हो।
Partially Hydrogenated Oil (PHO) मा ट्रान्स फ्याट धेरै हुन्छ। यसलाई नेपालीमा अति खराब चिल्लो भन्दा उत्तम हुन्छ। यसलाई खराब वा हानिकारक चिल्लो मात्र भनेर पुग्दैन, अति खराब चिल्लो नै भन्नु पर्दछ। यसको नेपाली शब्द छैन।
स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो हो। खानामा ट्रान्स फ्याटको मात्रा धेरै भएमा हृदयघात र मस्तिष्कघात लगायत मधुमेह, उच्च रक्तचाप, मोटोपन, एक प्रकारको स्तन क्यान्सर जस्तो अन्य धेरै स्वास्थ्य समस्याहरु देखा पर्दछन्।
ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरि दुई श्रोतबाट प्राप्त हुन्छ। राँगा, भैँसी, खसी, बोका आदि जनावरको रातो मासुमा हुने बोसो र दुध दहीबाट बनेको परिकारमा ट्रान्स फ्याट को मात्रा ३ देखि ९ प्रतिशतसम्म हुन्छ।
थोरै मात्रामा खादाँ प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले स्वास्थ्यमा धेरै नकारात्मक असर पार्दैन। तर अत्यधिक मात्रामा सेवन गर्नाले भने नकारत्मक असर हुन्छ। कृत्रिम स्रोतबाट प्राप्त हुने, अर्थात खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट जसलाई Partially Hydrogenated Oil (PHO) भनिन्छ, स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ।
यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ।
यस्तो प्रकृयाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवर्तन हुन्छ।
ट्रान्स फ्याट भएको तेल सामान्य तापक्रममा जम्छ।
नियन्त्रणका लागि कानुन आवश्यक
उद्योगमा ट्रान्स फ्याट हटाउने रणनीतिको प्रभावकारी कार्यान्वयन गर्न तत्काल कानुन आवश्यक भएको नेपाल हृदय रोग निवारण प्रतिष्ठानका प्रोजेक्ट निर्देशक डा. प्रेम राज वैद्यले बताउनुभयो ।
नीति र कार्यक्रम मात्र भएर पुग्दैन। यसका लागि कानूनी प्रावधान पनि चाहिन्छ।
दण्ड सजायको व्यवस्था नभएसम्म ट्रान्स फ्याट नियन्त्रणको नीति र कार्यक्रम प्रभावकारी नहुने उहाँको भनाइ छ। खाद्य पदार्थमा ट्रान्स फ्याट नियन्त्रण गर्ने अभियान विश्वव्यापी रुपमा रहेको पनि डा.वैद्यले जानकारी दिनुभयो।
उहाँका अनुसार विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा विश्व बजारमा उपलब्ध गराइने खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्स फ्याटको मात्रा २ प्रतिशत वा सो भन्दा कम बनाउने लक्ष्य राखेको छ।
विश्वका ४५ भन्दा बढी मुलुकहरुले नीति, कार्यक्रम र कानूनी प्रावधान मार्फत यो लक्ष्य प्राप्त गरिसकेका छन्।
दक्षिण एसियामा भारत र बंगलादेशले ट्रान्स फ्याटलाई २ प्रतिशतमा सिमित गर्ने नीति पारित गरिसकेका छन्। नेपालमा पनि खानामा ट्रान्स फ्याट नियन्त्रण गर्ने नीति, कार्यक्रम र कानून बनाउन नेपाल हार्ट फाउण्डेशनले विगत दुई वर्ष देखि विभिन्न कार्यक्रमहरु मार्फत सम्बन्धित निकायलाई घच्घच्याउँदै आएको छ।
गतसाल मात्र नेपाल सरकारबाट नसर्ने रोगहरु नियन्त्रणको बहुपक्षीय कार्य योजना २०२१-२०२५ जारी भएको छ।
यस नीति तथा कार्यक्रम सम्बन्धी दस्तावेजमा नेपालमा खाद्य पदार्थमा २ प्रतिशत वा सो भन्दा कम मात्र औद्योगिक ट्रान्स फ्याटको मात्रा कायम गर्नु पर्ने कुरा उल्लेख गरिएको छ।
यसका साथै विश्व स्वास्थ्य संगठनद्वारा ट्रान्स फ्याट नियन्त्रणका लागि प्रतिस्थापन रणनीति अंगिकार गर्ने नीति लिने कुरा समेत उल्लेख गरिएको छ।
यी प्रावधानहरु मार्फत नेपालमा ट्रान्स फ्याट नियन्त्रणतर्फ कदम चाल्ने कार्यको ढोका खुलेको उहाँले बताउनुभयो।
नयाँ खाद्य ऐन ल्याउन लागिएको सन्दर्भमा खाद्यवस्तुमा ट्रान्स फ्याटको मात्रा बढीमा २ प्रतिशत मा सीमित हुनुपर्ने कुरा त्यसमा समेट्नु पर्ने राय नेपाल हृदय रोग निवारण प्रतिष्ठानको छ।
नेपालमा ९० प्रतिशत डाक्टरले अति खराब चिल्लो पदार्थ (ट्रान्स फ्याट)बारे जानकार नरहेको दानी डा. प्रेमराज वैद्यको छ।
जम्मा एक प्रतिशत नागरिकले मात्रै यसबारे जानकारी पाएको अनुमान उहाँले गर्नुभयो । अति चिल्लो पदार्थ प्रयोगबारे जनमासमा चेतना फैलाउन पर्ने आवशयकता औँलाउनुभयो।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले ट्रान्स फ्याट नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो
पटक-पटक एउटै तेलमा पकाएका खाना नियन्त्रणका लागि २०७७ भदौदेखि तेललाई टीपियम मिटर मार्फत अनुगमन गरिरहेको जानकारी महर्जनले दिनुभयो। उहाँले ट्रान्सफ्याटलाई २ प्रतिशतमा झार्ने व्यवस्थाको खाका तयार भएको पनि बताउनुभयो
साथै उहाँले तेल परीक्षणका लागि प्रयोगशालाको क्षमता विस्तार आवश्यक रहेको धारणा पनि राख्नुभयो।
हेल्थपाटी
तपाईँको अभिमत