खर्चको डरले कोरोना परीक्षण नगरी घरमै नबस्नुहोस्, पैसा लाग्दैन

केहीदिन यता सरकारी प्रयोगशालामा समेत कोरोना परीक्षण गराउनेको संख्यामा कमी आएको छ। परीक्षण र उपचार गर्दा खर्च हुने डरले धेरै मानिसहरु घरमा नै बसिरहेको हुनसक्ने भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेको छन्।
निजीमा उपचार गराएका संक्रमितहरुको खर्च विवरणले सरकारीमा पनि चर्काे शुल्क तिर्न पर्ने डर सर्वसाधारणमा देखिएको छ। अहिले स्वास्थ्यमा समस्या भएर पनि धेरैजना घरमा नै बसेको र गम्भीर बिरामी भएपछि मात्रै अस्पताल आउने गरेको पाइएको छ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेुमा कुनैबेला पीसीआरका लागि रातभर पालो कुरेर बस्नपर्ने स्थिति थियो। त्यहाँ पनि अहिले पीसीआर परीक्षण गराउनेको संख्या स्वाट्टै घटेको छ।
दिनहुँ १ हजारभन्दा बढीको स्वाब संकलन हुने गरेको यस अस्पतालमा हाल करिव २ सयको हाराहारीमा मात्रै नमुना संकलन भइरहेको अस्पतालले जनाएको छ। यसै सन्दर्भमा हामीले अस्पतालका निर्देशक डा.सागर राजभण्डारीसँग संक्षिप्त कुराकानी गरेको छौँ।
कोरोना परीक्षण निःशुल्क भइसकेपछि पनि किन कम परीक्षण भइरहेको छ ?
हामीलाई अस्पताल आएका धेरैले भन्ने गर्छन् की कोरोना परीक्षण र उपचार गर्न लाखौं खर्च लाग्ने रहेछ। त्यसैले हामीलाई अस्पताल आउन डर लाग्छ। निजी अस्पतालहरुमा कोरोना उपचारको खर्च धेरै लागेको सुनेकाले यसको असर सरकारी अस्पतालहरुमा पनि परेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ।
खर्चकै डरले सर्वसाधरण अस्पताल आउनै छाडेका हुन् त?
एउटा कारण यो पनि हो। एउटै घरमा परिवारका धेरै सदस्यहरु पनि संक्रमित भएका छन्। उहाँहरु घरमा नै बस्नुहुन्छ। कम उमेरकालाई संक्रमण भयोभने उहाँहरु घरमा नै बस्नुहुन्छ तर सोही घरमा पाका व्यक्तिहरु छन् भने कन्ट्याक्ट ट्रेसिङ गरिँदैन। पीसीआर परीक्षण हुँदैन। परिणामस्वरुप ती पाका व्यक्तिलाई संक्रमण भइसकेको पत्तो हुँदैन। अवस्था गम्भीर बनिसकेको हुन्छ। अस्पताल आउँदा ज्यान जोगिदैन। यस्तो घटना हामीले धेरै भोगिसकेका छाँै।
मलाई कयौँको फोन आउने गरेको छ, उहाँहरुले भन्नुहुन्छ ‘डाक्टरसाव मेरो बुुवा ८५ वर्षको हुनुहुन्छ। हिजोसम्म ठिक हुनुहुन्थ्यो आज त सास फेर्न गाहे भइरहेको छ के गर्ने ?’ पीसीआर परीक्षण गरिएको हुँदैन। ती बिरामी अस्पताल आइपुग्दा एकदमै अवस्था गम्भीर भइसकेको हुन्छ र बिरामीलाई जोगाउन कठिन हुन्छ।
अर्काे कुरा, पोजेटिभ आएपछि परिवारका सदस्यसँग अलग्गै बस्नुपर्छ। बरु परीक्षण नै नगराए थाहै हुँदैन आफैँ ठिक हुन्छ भन्ने गलत बुझाई विकास भएको छ। कोरोनालाई हल्कारुपमा लिन थालियो। हेलचक्र्याई एकदमै बढेको छ। न सामाजिक दूरी, न मास्क, न सेनेटाइजड? संक्रमण थोरै घटेको मात्रै हो। रित्तो भइसकेको होइन।
हाल आइसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितहरुको उमेर समूह कस्तो छ?
अधिकांश ६० वर्ष भन्दामाथिको हुनुहुन्छ। उहाँहरु पनि कोही उच्चरक्तचाप, कोही मधुमेहबाट पीडित हुनुहुन्छ। गम्भीर बिरामी हुनेमा धेरैजसो दीर्घरोगीहरु नै हुनुहुन्छ।
परीक्षणलाई अब कसरी बढाउने ?
मेरो अनुरोध, सबै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क छ। परीक्षणका लागि अस्पताल आउनुस्। सक्नेलाई मात्र राज्यलाई सहयोग गर्न पैसा तिर्नु भनिएको हो। नसक्नेले एक पैसा पनि तिर्नुपर्दैन। लक्षण देखिनेबित्तिकै अस्पताल आउनुहोस्। सुरुमा नै उपचार हुनसक्यो भने थप जटिलता आउन पाउदैँन। कन्ट्याक्ट ट्रेसिङ पनि हुनुपर्छ। आफूलाई संक्रमण भएपछि आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेट भएर बस्न खबर गरिदिनुपर्छ।
तपाईँको अभिमत