नेपाली श्रमिकको स्वास्थ्य र मिर्गौला डायलासिस केन्द्रहरुको स्तरोन्नतिमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरुसँग स्वास्थ्यका लागि सघाउन आग्रह गर्नुभएको छ ।
अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले ठूलो संख्यामा नेपाली त्यहाँ कार्यरत रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र युएई सरकारबाट समेत उनीहरुको स्वास्थ्य रक्षाका लागि सहयोगको अपेक्षा बताउनुभयो । उहाँले प्रस्थान गर्नुअघि तथा फर्केपश्चात सरकारले समेत श्रमिकको स्वास्थ्य रक्षाका लागि चालेको कदममा युएई सरकारबाट सहयोगको अपेक्षा गर्नुभएको हो ।
मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य बीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मिर्गौला डायलासिस केन्द्रहरुको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
युएईका स्वास्थ्य विभाग अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको र दुई देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले युएईमा रहेका नेपाली श्रमिकहरुको प्रशंसासमेत गर्नुभएको थियो ।
मन्त्री पौडेल आइतबार आयोजना हुने नेपाल फेस्टिभलमा सहभागी हुन त्यहाँ पुग्नुभएको हो ।
तपाईँको अभिमत