‘नर्सको १२–१५ हजार तलबबाट ३४ हजार ५०० न्यूनतम तलब बनायौँ, यति ठुलो उपलब्धिमा कसैले ताली बजाएन’
नर्स तथा स्वास्थ्यकर्मीहरूको तलब वृद्धि गर्नु ठुलो उपलब्धि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले दाबी गर्नुभयो । नेपाल नर्सिङ संघको ६४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले नर्सको न्यूनतम तलब तोकेर सम्झौता गर्न सक्नु ठुलो उपलब्धि भएको बताउनुभएको हो ।
उक्त उपलब्धिलाई प्रशंसा र योगदानको रूपमा ग्रहण गर्न नगरिएको भन्दै उहाँले असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । जेनजी विद्रोहपछि बनेको सरकार र केही समयपछि आफू मन्त्रालयमा आउँदा समेत नर्सहरूको आन्दोलन नरोकिएको अवस्थामा आन्दोलनकारीसँग र सरोकारवालासँगको बैठकपछि न्यूनतम तलब ३४५०० तोकिएको उहाँको भनाइ थियो ।
‘नर्सको १२ देखि १५ हजारबाट न्यूनतम ३४५०० मा सम्झौता गर्यौँ’, उहाँले भन्नुभयो, ‘कात्तिकपछि धेरैले त्यो तलब पाइरहनुभएको छ । पछिल्ला समयमा धेरै श्रम शोषणका बारे सुन्यौँ यस्तो उपलब्धि त भएको थिएन, यो ठुलो उपलब्धि हो । यसमा त कसैले ताली बजाएन !’ उहाँले श्रम शोषण उन्मूलन गर्न नसके पनि धेरै हदसम्म न्यूनीकरण गर्न सफल भएको दाबी गर्नुभयो ।
यद्यपि नर्स र स्वास्थ्यकर्मीहरूको सबै समस्या हल भइनसकेको प्रति आफू सचेत रहेको बताउनुभयो ।
मन्त्री शर्माले सरकारी नर्सहरूको स्तरवृद्धि जस्ता विषयमा केही कठिनाइ रहेको स्वीकार गर्नुभयो । यद्यपि स्वास्थ्य सचिव हुन ऐनले नरोकेको भन्दै उहाँले त्यसका लागि व्यक्तिगत नेतृत्व क्षमता अभिवृद्धि गर्न आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत