युवा पुस्तामा मौलाउँदो हुक्का

ओई, ला तँ पनि एकचोटी तान् ।
–नाई यार, मैले अहिलेसम्म तानेको छैन ।
ह्या... केहि हुन्न तान् न तान्, चुरोट जस्तो हैन क्या यो पाइनापल फ्लेभर हो, टेस्ट पनि मिठो आउँछ !
–ल, दे न त दे !
बसन्तपुरको कुनै रेस्टुरेन्टको एउटा टेबलमा यस्तो आवाज सुनिन्छ, भाई बहिनीहरुसँग बसेर खाजा खाँदै गरेको मेरो ध्यान यो संवादले आकर्षित गर्छ र फर्केर हेर्छु । हेर्दा जन्मदिन मनाउँदै गरेको जस्तो देखिन्छ ५–७ जना युवाको एउटा समूह । छेउमा जन्मदिनको केक, अन्य परिकारहरु साथै टेबलकोबिचमा २ वटा हुक्का सेट । पालै पालो सबैले तानिरहेका । मैले धेरै बेर त्यो दृश्यलाई नियालिरहन्छु । अनि बल्ल मेरो ध्यान आफ्नो टेबल अनि अन्यन्त्र जान्छ ।

त्यतिबेला मनमा लागिरहेको थियो, ती टोलीको संवादले मेरो भाई बहिनीको दिमाखमा के चलिरहेको होला अथवा उनीहरुको ध्यान त्यता नहुन पनि सक्छ । हो, उनीहरुको संवादले भाई बहिनीहरुलाई अहिले केही असर परेको छैन होला तर के त्यो हुक्काबाट निस्किएको धुवाँले म अनि मेरो भाई बहिनी लगायत त्यो रेस्टुरेन्टको अन्य टेबलमा बसेकाहरुलाई असर नगर्ने होला र ? अहँ हुदैन !
दोस्रो चरणको निषेधाज्ञा हुनुभन्दा तीन–चार साता जति अगाडिको दृश्य हो यो ।
विश्व नै कोभिड माहामारीको आक्रामक अवस्थासँग जुझिरहेको अवस्थामा, नाक र मुखबाट निस्कने ¥याल, सिंगान र थुकका छिटाहरूबाट कोभिडको संक्रमण हुन्छ भनि प्रचार प्रसार गरिरहँदा पनि एउटै टिप पालैपालो सबैले प्रयोग गरेर हुक्का तान्नु कतिको सान्दर्भिक हो त ? एउटै समूहमा बाँडेर खाने एकातिर भयो भने अर्को समूहले फेरी त्यहि हुक्का प्रयोग गर्दा के त्यो हुक्काको टुप्पो राम्रोसँग सफा गरिएको हुन्छ होला ? साथै हुक्का लगायत अन्य सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसलाई कोभिडको उच्च जोखिम रहेको तथ्य विश्व स्वास्थ्य संगठनले पहिले देखिनै भन्दै आइरहेको छ भने धेरै जसो युवावर्गहरु यस कुरामा सचेत पनि पक्कै होलान् । त्यति हुदाँहुँदै पनि निडर भएर आफ्नो स्वास्थ्यलाई दाउमा राख्न सक्ने युवावर्गहरुका उदाहरण पात्र मात्र हुन यी युवाहरु ।
हुक्काको सेवन शताब्दीयौंदेखि लिजर गतिविधि मानिदै आएको छ भने पछिल्ला केही बर्षयता यसको सेवन झन् लोकप्रिय हुँदै आइरहेको छ र माग पनि दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । काठमाडौँ उपत्यका वरिपरी हाल गर्गल गरेको आवाजमा, बास्नादार धुवाँ, चम्किलो भाँडाहरु र हुक्काकै प्रयोगको लागि मानिसहरुको जमात भेटिनु सामान्य कुरा भएको छ । हुक्का वा बास्नादार चिज, साधारणतया सिसा भनिने चिज अहिले काठमाडौंको प्राय रेस्टुरेन्टहरूमा पाइन्छ । मुख्य गरी ठमेल, बसन्तपुर, झम्सिखेल, भक्तपुर दरबार स्क्वायर क्षेत्र जहाँ रेस्टुरेन्टको संख्या अत्यधिक छ । यति भन्दै गर्दा हुक्काको प्रयोग काठमाडौँ भन्दा अन्यन्त्र सहर बजारमा नहुने होइन, सहर बजार मात्र होइन हाल गाउँ घरमा खोलिएका रिसोर्ट अनि होमस्टे पनि यसमा अछुतो छैनन् ।
फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि मात्र भएपनि हुक्का तान्नेको जमात पनि कमी छैन यहाँ । जीवनमा एक चोटी चुरोट नतान्ने युवाहरु पनि हुक्कामा रमाइरहेका हुन्छन् । चुरोट सेवनको पोस्ट सामाजिक सन्जालमा बिरलै देखिन्छ तर हुक्का तानेपछि सामाजिक सन्जालमा पोस्ट गरेन भने हुक्का तानेको मतलव नै नहुने भन्दै पोस्ट गरिरहेका हुन्छन । सामाजिक सन्जालमा कसैले केही भिन्न काम गर्यो भने त्यसलाई पच्छ्याउनु आजको आवश्यकता जस्तै भैसकेको छ । जसले युवाहरुलाई पत्तै नदिई यस्तो हानिकारक पदार्थको लतमा फसाईरहेको छ । हुक्का सेवन, चुरोट लगायत अन्य सुर्तीजन्य पदार्थजस्तो हानिकारक हुँदैन भन्ने गलत विश्वास र भ्रमका कारण यसका प्रयोगकर्ता दिनानुदिन बढ्दै गइरहेका छन् । चुरोट सेवन र यसको असरकाबिच धेरै चर्चा भईरहँदा, मौलाउँदै गरेको हुक्काको सेवन र असरबिच चर्चा हुन पनि आवश्यक देखिएको छ । देख्दा साधारण लाग्न सक्छ तर यसको दीर्घकालीन असर भने सोचेजति साधारण कदापी छैन । हुक्का उपभोगको आजको ट्रेन्डलाई हेर्ने हो भने अधिकांश युवायुवती यसको कुलतमा नफस्लान् भन्न पनि सकिन्न ।
विशेष गरी १५ देखि २५ वर्ष उमेर समुहका किशोर–किशोरीहरू र युवापुस्ता माझ लोकप्रिय हुक्का सेवनलाई चुरोट सेवनको सुरक्षित विकल्पको रुपमा लिएको पाइन्छ । तर त्यसमा रहेको विषाक्त रसायन चुरोटकोभन्दा पनि अझै खतरनाक हुन्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार कोइला प्रयोग गरेर सुर्ती तताइन्छ जसबाट कार्बन मोनोअक्साइड, धातु र अन्य कार्सिनोजेनिक रसायन जस्ता विषाक्त पदार्थ र ग्यासहरू उत्पादन हुन्छ । जसले चुरोटले जस्तै क्यान्सर, हृदयघात, श्वास प्रश्वास सम्बन्धी समस्या, फोक्सोको कार्यदक्षतामा कमी जस्ता स्वास्थ्य समस्याहरूको जोखिमलाई बढाउँछ । यसले महिलाहरुको प्रजनन् क्षमतामा पनि कमी ल्याउँदछ र अनुसन्धानबाट यो पनि पत्ता लागेको छ कि दिनहुँ हुक्का सेवन गर्ने महिलाहरुबाट जन्मेको बच्चा हुक्का सेवन नगर्ने महिलाहरुबाट जन्मेको बच्चाभन्दा कम तौलका हुन्छन् र ती बच्चाहरु पनि श्वासप्रश्वास समस्याको बढी जोखिममा हुन सक्छन् ।
प्रायः व्यक्तिहरू, विशेष गरी किशोर किशोरीहरु, सोच्दछन् कि हुक्का पानीद्वारा चिसो र फिल्टर गरिएको हुन्छ, त्यसकारण यो सेवनको लागि सुरक्षित छ, तर त्यो सत्य भने पटक्कै होइन । अमेरिकी फोक्सो संघ (ए. एल. ए.) का अनुसार चुरोटमा जुन रसायनहरुको मात्रा प्रयोग गरिन्छ जसले चुरोटबाट निस्किने धुँवा हानिकारक बनाउँदछ हुक्कामा पनि उही रसायनहरू महत्वपूर्ण मात्रामा हुन्छ र सो रसायनहरु पानीबाट पास हुदाँ पनि हट्दैन । हुक्का सेवनमा समान क्यान्सर पैदा गर्ने पार्टिकुलेटहरू जुन अप्रत्यक्ष धुम्रपान अथवा सेकेन्ड ह्यान्ड धुवाँमा पाइन्छ र यो फोक्सो, मुत्रशय र मुखको क्यान्सरका कारण बन्न सक्छन् ।
हुक्का सेवनले चुरोट सेवनको जस्तो लत लाग्दैन भन्ने पनि सुनिन्छ तर यसमा सत्यता छैन । हुक्कामा पनि चुरोटमा जस्तै निकोटिनको मात्रा समावेश गरिएको हुन्छ । निकोटिन एक लत लाग्ने पदार्थ हो, जसले गर्दा हुक्कामा पनि चुरोट जत्तिकै लत हुन सक्छ, जुन प्रयोग भएको पदार्थ र निकोटिनको सहिष्णुताको स्तरमा निर्भर गर्दछ । जसले गर्दा मानिसहरु दुव्र्यशनमा फस्न सक्छन् वा चुरोटलेभन्दा ज्यादा लत लाग्न सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार चुरोट सेवनकर्ताहरुले एक खिल्ली चुरोट सेवन गर्न साधारणतया ८– १२ मिनेट समय लिन्छन । उक्त समयमा ४० देखि ७५ मिलि पफ लिन्छन्, जसबाट ०.५ देखि ०.६ लिटर धुवाँ शरीर भित्र जान्छ भने हुक्का सेवन साधारणतया २० देखि ८० मिनेटको रहन्छ, यस समयमा सेवनकर्ताले ५० देखि २०० पफ लिन्छन् भने प्रत्येक पफबाट ०.१५ देखि १ लिटर धुवाँ शरीरभित्र जान्छ । यसरी हुक्का सेवनकर्ताले एक हुक्का सत्रमा चुरोट सेवनकर्ताले १०० वटा चुरोट खाए बराबरको धुवाँ पिईरहेका हुन्छन् ।
काठमाडौँ उपत्यकाको ठमेल, बसन्तपुर, बानेश्वर, भक्तपुर दरबार स्वायर लगायतका नौ क्षेत्रमा गरिएको एक अध्ययन अनुसार, नेपालको बजारमा हाल डबल एप्पल, मिन्ट, मेङ्गो, पाईनएपल, चोकलेट, कोकोनट, मोजितो आदि लगायत हुक्कामा प्रयोग हुने ३० भन्दा बढि विभिन्न सुर्तीजन्य फ्लेभरहरू उपलब्ध रहेका छन् । अधिकांश हुक्का फ्लेभर र सेटहरू चीन, भारत र दुबईबाट आयात गरिन्छन् । रेस्टुरेन्टमा सेवन गर्न तयार हुक्का नेपाली तीन सयदेखि पाँच सयसम्म पर्दछ । काठमाडौं उपत्यकामा प्रायः १५ देखि ४२ वर्षसम्मका व्यक्तिहरुले हुक्का सेवन गर्ने र किशोर–किशोरी र विद्यार्थीहरू हुक्कामा झुम्मिने गरेको र पुरूष महिला दुबै हुक्काप्रति आर्कषित रहेको कुरा अध्ययनले देखाउँछ ।
कोभिडको सङ्क्रमणका कारण भएको लकडाउनको बेलामा हुक्काको उपभोग अलि कम भएको थियो तर बिस्तारै लकडाउन खुकुलो भएपछि अघि जस्तै यसको उपभोग बढ्दै गरेको पाइएको थियो । तर आश्चर्यको कुरा, हुक्काको सेवनद्वारा हुने कोभिड संक्रमणले खासै केहि असर पारेको देखिएन । अधिकांश रेस्टुरेन्टमा हुक्का जोन समेत नरहेको कुरा साथै हुक्काको बिक्रीका लागि नेपाल सरकारद्वारा पारित कुनै पनि स्पष्ट निर्देशन नभएको पनि अध्ययनले देखाउँछ ।
हाल, नेपाल कोभिडको दोस्रो लहरको चपेटाबाट उम्किन संघर्ष गरिरहेको छ भने सारा नेपालीहरु आफ्नो स्वास्थ्य स्थितिप्रति सजक पनि छन् । हामी कोभिडको दोश्रो लहरबाट त बचाैंला तर लहर सक्किइसकेपछि पृष्ठभूमिमा दर्शाइएको दृश्य हरेक दिन हरेक गल्ली र चोकहरुमा देखिनेछन् । जसको प्रभाव नेपाली समाजमा दीर्घकालिन रुपमा रहिरहने छ । आजको युवापिँढीले पिएको हुक्का लगायतका अन्य सुर्तीजन्य पदार्थको असरले भोलिको पुस्तालाई समेत अस्वस्थ बनाईरहेको छ । अधिकांश प्रयोगकर्ताहरू किशोर–किशोरीहरू र ३० बर्षभन्दा कम उमेरका युवाहरू हुने गरेकाले, यसको बिक्रीको लागि केही नियमहरू हुनुपर्दछ । जसमा सरकारी निकायको ध्यान जान अत्यन्तै जरुरी देखिन्छ । हुक्कामा पनि चुरोटमा जस्तै स्वास्थ्य चेतावनी जारी गरिनुपर्ने, उमेर समूह तोकिनुपर्ने, हुक्काको असरबारे जनचेतना फैलाउनुपर्ने र हुक्काको सेवनले स्वास्थ्यमा पार्ने असर साथै आर्थिक असरहरुलाई सही मूल्यांकन गर्दै हुक्का सेवन र बिक्रिका निम्ति नीति नियम बनाउने र सही कार्यान्वयनमा जोड दिनु आवश्यक छ ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवस (वल्र्ड नो टोबाको डे), हरेक बर्ष विश्वभर आजको दिन विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ दिवस मनाउने गरिन्छ । यो बर्ष “छोड्ने प्रतिबद्धता गरौँ” भन्ने नाराका साथ मनाइँदैछ । आउनुहोस्, आज एउटा बाचा गरौँ, हुक्का सहित अन्य सुर्तीजन्य पदार्थ जस्तो हानिकारक पदार्थहरु आजै त्यागौ, अरुलाई पनि त्याग्न प्रोत्साहन गरौँ, आफू पनि स्वस्थ रहौँ, अरुलाई पनि स्वस्थ रहन दिऊँ ।
(लामिछाने नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा अनुसन्धानकर्ता हुनुहुन्छ)
तपाईँको अभिमत