'ज्यान फाल्न चार तलाबाट हामफालेँ, जीवनको अर्थ बल्ल बुझ्दैछु'
साढे ६ वर्ष पहिला सग्लो शरीर थियो। जीवनका बाटाहरू सजिला थिए। तर मन टुटेको थियो। सबैतिर अन्धकार मात्रै देखिन्थ्यो। मनले बाच्नुको सार्थकता भेट्दैनथ्यो।
निराशै निराशाको बादलले सम्भावनाको मार्गलाई ढपक्कै ढाकेको ठानेर एक २१ वर्षे युवाले आफ्नो जीवन नै समाप्त पार्ने प्रत्यत्न गर्यो। संयोगवस ऊ बाँच्यो।
अहिले ह्वीलचियरको सहारामा हिड्नुपर्छ। दैनिक जीवन यापन उहिले भन्दा कठिन छ। समस्या अनेकौँ छन् तर निराशाको पर्दा हटेको छ। मनमा उत्साह र खुसी छ। वरिपरि सम्भावनाका द्वारहरू देखिन्छ।

२७ वर्षीय शान्तनु शर्मालाई लाग्छ–आफ्नो आत्मालाई जगाएपछि पो जीवनको सार्थकता भेटिने रहेछ। संसारलाई राम्ररी नियालेपछि पो खुसी भेटिने रहेछ।
काठमाडौंको मध्य बानेश्वरमा जन्मिनुभएका शान्तनु शर्मा ९ वर्षको उमेरमा अमेरिका जानुभयो। उहाँका बुबा पिएचडी गर्नका लागि केही वर्षअघि नै अमेरिका जानुभएको थियो।
आवश्यक प्रक्रिया मिलाएर शान्तनु र उहाँकी ममी अमेरिका जानुभएको थियो। नेपालमा कक्षा ४ सम्म पढेर जानुभएका उहाँको बाँकी पढाइ अमेरिकामै अघि बढ्यो। उहाँहरु हवाइ राज्यमा बस्नुहुन्थ्यो ।
फुटबल टोलीबाट फालिँदा दिल टुट्यो
स्कुल पढ्दै गर्दा व्यवसायिक फुटबल खेलाडी बन्ने अभिलाषा मनमा जाग्यो। आफ्नो लक्ष्य पूरा गर्न उहाँले १६ वर्षको उमेरदेखि २० वर्षसम्म निकै मेहनत गर्नुभयो
शान्तनुको सपनामाथि खुट्टाले साथ दिएन। फुटबल खेल्न थाल्यो कि दुख्ने हुन थाल्यो। हिम्मत गरेर खेल्छु भन्यो दुखाइका कारण स्कुलको टिमबाट सधैँ बाहिर पर्ने। तर जसरी पनि फुटबलमा लाग्ने सपना पूरा गर्नु थियो।
खुट्टाको समस्या लिएर विभिन्न ठाउँ जानुभयो। पिँडुलाको मांसपेशीमा समस्या देखिएपछि शल्यक्रिया हुनेभयो। शल्यक्रिया हुने कुराले उहाँ औधि रमाउनुभयो।
‘अप्रेसन गर्न भनेपछि अरू मान्छे डराउन गर्छन् तर म चाँही ज्यादै खुसी भएँ, शान्तनुु भन्नुहुन्छ, ‘म ठिक हुन्छ, निर्धक्कले फुटबल खेल्न पाउछु भन्ने खुसी मनमा थियो।’
शल्यक्रिया सफल भयो। तर पनि उहाँ फिट हुन सक्नुभएन। फुटबल करियर राम्ररी अगाडि बढ्न सकेन। बेलाबेलामा खुट्टाको समस्या आइरह्यो। शान्तनु आफ्नो लक्ष्यबाट पछि हट्नु भएको थिएन। कलेजमा पुगेपछि पनि फुलबलमा लागि रहनुभयो। राम्रै पनि भइरहेको थियो।
२०१५ अगष्ट महिनाको कुरा हो। कजेलको फुटबल टोली छनोट हुँदै थियो। फिटनेसको कारण उहाँ छनोटमा पर्नुभएन। टोलीबाट फालिनुभयो।
हुन त स्कुलमा हुँदा पनि यस्तो भइरहेको थियो। तर यस घटनाले शान्तनुको दिल टुट्यो। यही पीडाकै कारण उहाँ डिप्रेसनको शिकार हुनुभयो।
जीवनको एक सुन्दर सपना र ४ वर्षसम्मको महेनत बेक्कार भएको उहाँले ठान्नुभयो। यस घटनाको २ हप्तासम्म सम्हालिन कोसिस गर्नुभयो। निराशाको बादलले मन यति ढाकिएको थियो कि शान्तनु त्यसबाट निस्कनै सक्नुभएन।
किन टोलीबाट निकालियो ? जति गरेपनि किन सफल भइन ? भन्ने कुरा मात्रै मनमा खेलिरह्यो।
मुड अफ हुन थाल्यो। एकैछिन पनि कसैसँग कुरा गर्न पनि नसक्ने, टाउको दुख्ने, क्यान्टिनमा बस्दा अरुले गरेका कुराकानी सुनेर पनि झर्को लाग्न थाल्यो।
शान्तनु ओहायो राज्यको एक कलेजमा स्नातक तेस्रो वर्ष पढ्दै हुनुहुन्थ्यो। कलेजको होस्टलमा बसाइ थियो। पढाइ राम्रो चलिरहेको थियो।
आफूलाई मानसिक समस्या भएको महसुस गरेपछि कलेजमा डीनसँग कुरा गरेर केही दिनको छुट्टी लिनुभयो। अभिभावक समेत नेपाल आएकाले सेप्टेम्बर महिनामा नेपाल आउनुभयो। यहाँ केही समय उपचार गरेर छिट्टै अमेरिका फर्कने योजना थियो।
नेपाल आएर धेरै ठाउँमा, धेरै जना मनोचिकित्सकसँग परामर्श लिनुभयो। उपचार गराउनुभयो। तर ठिक भएन।
फुटबलप्रतिको लगाब हराइसकेको थियो । उहाँलाई फुलबल हेर्नसम्म पनि खासै रुची थिएन । तर पनि डिप्रेसनबाट निस्कन सक्नुभएन।
सबैतिर अन्धकार नै अन्धकार लाग्थ्यो। फ्रेस हुन भनेर आमाको मामाघर पर्वत पनि जानुभयो। 'त्यति रमाइलो ठाउँमा पनि किन म खुसी हुन सकिरहेको छैन ? 'मनमा उब्जिएको यो प्रश्नको जवाफ पाउनुभएन। त्यो बेला खाने र सुत्नेबाहेक अरु दैनिकी हुन सकेन।
अवस्था सुधार नभइकनै उहाँ पढाइ पूरा गर्ने अभिलाषा बोकेर जनवरीमा अमेरिका फर्किनुभयो। तर पढाइमा ध्यान केन्द्रीत हुनै सकेन। यसअघि पढेका कुराहरू पनि बिर्सिने हुनथाल्यो।
उहाँको अवस्था देखेपछि कलेजले एक अस्पतालको मनोचिकित्सक वार्डमा लगेर भर्ना गरिदियो। ती दिनहरू आफ्ना लागि सबैभन्दा खराब दिन रहेको शान्तनु सुनाउनुहुन्छ। ‘कलेजबाट कतै टाढा अस्पतालको बेडमा बस्नुपर्दा कहिले यहाँबाट निस्कन पाइएला जस्तो भयो।परिवारसँग पनि कुरा गर्न नपाइने । चेक गरेर औषधि खादा ठिक भइहाल्थ्यो नि किन भर्ना गरेको होला भन्ने लाग्थ्यो।’
चाँडै अस्पतालबाट निस्कनका लागि निको भएको नाटक गर्नुभयो। २ हप्तापछि डिस्चार्ज भयो तर अवस्था सुध्रिएको थिएन।
उस्तै निराशा, मनमा उस्तै पीडा, कसैगरी पढाइ अगाडि बढाउन सक्नुभएन। पढाइ नभएपछि उसै अमेरिका बस्न पनि नमिल्ने।
पढाइ बीचैमा छाडेर शान्तनु २०१५ फेब्रुअरी १९ मा नेपाल फर्किनुभयो। मानसिक समस्या बढ्यो थियो।
डिप्रेसनबाट कसरी बाहिर निस्कने त्यहि चिन्ता थियो मनमा धेरै। अमेरिकाबाट फर्किएको भोलिपल्टै शान्तनुले अकल्पनीय कदम उठाउनुभयो।
फेब्रुअरी २० तारिखको राति ८ बजेतिर परिवारमा भर्खर खाना खाने काम सकिएको थियो। शान्तनुुका बुबा, आमा खाना खाइसकेर भन्सामै हुनुहुन्थ्यो।
खाना खाइ सक्नेवित्तिकै शान्तनु सरासर घरको ४ तलामाथि जानुभो । दायाँबायाँ केही नसोची हामफाल्नु भयो।

‘दिमाग शून्य भएको थियो। के गरेँ ? किन गरेँ ? केही सोच्न सकेको थिइन’ शान्तनु त्यो दिनको घटना सुनाउनुहुन्छ, ‘माथिबाट तल बजारिँदा कानमा टिनिन्न घन्टी बजेजस्तो भइरह्यो। कहाँ कहाँ दुख्यो, कति पीडा भयो केही याद छैन।’
हतार–हतार बुबा आएर उठाएको, छिमेकी समेत जम्मा भएको ट्याक्सीमा हालेर नर्भिक अस्पताल लगेको शान्तनु लाई राम्रै याद छ। कम्मर, खुट्टा, ढाड धेरैतिर भाँच्चिएको थियो। नर्भिकबाट भोलिपल्टै ग्राण्डी लगियो। त्यहाँ अप्रेसेन भयो।
आइसीयूमा २ हप्ता राखियो। आइसीयूमै रहेका बेला उहाँलाई ज्ञात भयो। मैले गलत बाटो समाएको रहेछु। धन्न म बाँचेछु।
त्यही बेला आइसीयूमा बुबा आउँदा शान्तनु धेरै रुनुभयो। ‘त्यो दिन जिन्दगीमा पहिलो पल्ट म भित्रैदेखि मन खोलेर रोएँ। निकै बेरसम्म बुबाको अगाडि रोहइरहेँ’ त्यो दिन सम्झिएर शान्तनु निकै भावुक हुनुभयो।
अब म जीवनमा हरेश खान्न। जे छ त्यसै स्वीकार गरेर अघि बढ्छु भन्ने हिम्मत आउँदै गयो। अनेक उपचारका बाबजुद कम्मरमुनिको भाग नचल्ने भयो।
एक महिना अस्पताल बसाइमा फिजियो थेरापी, मनोपरामर्श भइरहको थियो। फिजियो थेपारी गर्न एक महिना भारतमा पनि जानुभयो।
जीवनको जस्तो मोडमा पनि सम्भावनाको द्वार भेटिने रैछ। अझै पनि मेरा धेरै सम्भावनाहरू जीवत रहेछन्। भन्ने अनुभव भयो
अस्पतालबाट घर फर्किएको ६ महिनापछि उहाँले आफ्नो कथाबारे ब्लग लेख्न थाल्नुभयो। सामाजिक सञ्जालमा आफ्ना कुरा सेयर गर्न थाल्नुभयो।
त्यसका सकारात्मक, नयाँ उर्जा भर्ने खालका प्रतिक्रियाहरू आए। तिनले मन छोयो।
मन दरिलो हुँदै गयो। मेरो कुरा सुन्ने बुझ्ने धेरै मान्छेहरू दुनियाँमा रहेछन्, दुनियमा मेरो महत्व रहेछ भन्ने अनुभव हुँदै गयो।
लकडाउनले जीवन मोडियो
यसैगरी जीवन चलिरहेको थियो। शारीरिक समस्याका कारण शान्तनु प्राय घरमै बसिरहनुहुन्थ्यो।संसारमा कोरोना महामारी आयो। नेपालमा पनि लामो समय लकडाउन भयो। यस लकडाउनले शान्तनुको जीवनप्रतिको दृष्टिकोणमा बदलाब ल्याइदियो।
पहिला बाहिर हिँडडुल गर्न गाह्रो हुने उहाँ जस्ता मान्छेहरू मात्रै घरमा बस्थे। लकडाउनले सबै मान्छे घरमा थुनिए।
लकडाउनमा उहाँले महाभारत लगायत सिरियलहरू हेर्नुभयो।
भर्चुअल छलफलको चलन लकडाउनले सुरु गरेको थियो। शान्तनु ‘आर्ट अफ लिभिङ’ संगठनको भर्चुअल कार्यक्रममा त्यहाँ आत्मालाई कसरी जगाउने, जीवनमा कसरी खुसी हुने, मनलाई भित्रैबाट कसरी बलियो बनाउने जस्ता कुराहरु सिक्नुभयो।
त्यहाँबाट उहाँले सिक्नुभयो- खुसी भएर जीवन ज्यूनका आफ्नो आत्माालाई जगाउनु, बलियो बनाउनु पो मुख्य कुरा रहेछ।
जस्तोसुकै कठिन परिस्थितिमा पनि सम्भावनाका टुसाहरू अंकुराउन सक्ने रहेछन्। परिस्थितिलाई स्वीकारेर मन दरिलो बनाउँदा अर्कै खुसी मिल्नै रैछ।
मन दरो हुँदे आएपछि सक्रियता पनि बढ्दै गयो। पत्रपत्रिकाहरूमा लेखहरू पठाउन थाल्नुभयो। त्यसमा निकै राम्रो प्रतिक्रियया आउँथे। उहाँमा नयाँ उर्जा थपिइरहेको थियो।
मनोबल उच्च हुँदे गएपछि मनमा खुसीको महोल नियमित खाने धेरै औषधिहरू अहिले खान छाडेको उहाँ सुनाउनुहुन्छ।

अहिले शान्तनु धेरैका लागि प्रेरणको स्रोत बन्नुभएको छ। मोटिभेसनल स्पिकरका रुपमा स्कुल, कलेजबाट निम्ता आउँछ बेलाबेला।
मानसिक स्वास्थ्य सम्बन्धि काम गरिरहेको कोशिश भन्ने संस्थासँग जोडिएर काम गरिरहनुभएको छ। मानसिक स्वास्थ्यबारे ज्ञान दिँदै हिड्नुहुन्छ।
सेमिनार गोष्ठिहरूमा अनुभव सेयर गर्नुहुन्छ।मनलाई बलियो बनाएर कसरी जीवन कसरी सुन्दर बनाउन सकिन्छ भनेर प्रेरणा दिनुहुन्छ।
‘उतिबेला जीवनमा अहिले भन्दा धेरै कुरा थियो मात्र खुसी थिएन्। अहिले उबेलाका धेरै कुरा छैनन् तर खुसी छ। खुसी भनेको दर्बिलो मन र आत्मा विश्वास नै रहेछ’ शान्तनु निष्कर्ष सुनाउनुहुन्छ।
धेरैलाई प्रेरणको स्रोत बन्नकै लागि। धेरैलाई सकारात्मक सन्देश दिनकै लागि बाँचेको रैछु भनेर औधि खुसी लाग्ने उहाँ सुनाउनुहुन्छ।
बितेका घटनाप्रति दुखी भएर पश्चुताउन मन छैन उहाँलाई । शान्तनु भन्नुहुन्छऔ, ‘त्यो घटना नभएको भए सायद मैले जीवनलाई बृहत रुपमा देख्न सक्दिन थिएँ होला । जीवनलाई बुझ्ने सीमित दृष्टिकोण थिए।'
‘जीवनको अर्थ र खुसी बाहिरी दुनियाँमा मात्रै होइन आफैँभित्र खोज्नुहोस्। सकारात्मक सोच राख्नुहोस् र आत्मालाई जगाउनुहोस्' शान्तनुको सुझाव छ।
केदार गौतम
तपाईँको अभिमत