'अनेक योजना बन्छन् तर जाडो लागेर बिरामी घटेपछि डेंगु बिर्सिन्छौँ'
अहिले देशभर डेंगुको प्रकोप छ । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार साउन यता मात्रै यसबाट जनाको मृत्यु भइसकेको छ । नेपालमा डेंगुको प्रकोप सबैभन्दा धेरै यो वर्ष नै देखिएको हो । तर ३ वर्षअघि सन २०१९ मा पनि नेपालमा डेंगु ठूलो चुनौतीको रुपमा देखिएको थियो।
अहिले स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक रहनुभएका डा. अनुप बास्तोला ३ वर्षअघि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा हुनुहुन्थ्यो।
२०१९ मा डेंगु बिरामीको उपचारमा संलग्न डा.बास्तोला त्यतिबेला र अहिलेको अवस्था निकै फरक रहेको बताउनुहुन्छ । त्यो बेला डेंगुको डेंगु प्रकोपको अनुभव, अहिलेको अवस्था र डेंगुबाट अब गर्नुपर्ने कामबारे डा.बास्तोलाले धेरै जानकारीहरु दिनुभएको छ ।
हेरौँ डा.बास्तोलाको मत उहाँकै शब्दमा ।
सन २००४ मा नेपालमा पहिलो पटक डेंगुको केस देखिएको थियो । २००६ मा आउटब्रेक भयो, २००८ मा, २०११, २०१२, २०१३ मा भयो । त्यो बेला डेंगु प्राय गरी तराईका जिल्लामा सीमित थियो ।
सर्लाही, रौतहट लगायतका जिल्लामा धेरै थियो । काठमाडौं र पोखरामा फाट्टफुट्ट मात्रै केस थिए । रैथाने लामखुट्टे त्यति संक्रमित थिएनन्।
सन २०१८ को जाडो महिनातिरै काठमाडौंको बाफल, नयाँबजार क्षेत्रबाट केही बिरामी आएका थिए ।
२०१९ लागेर गर्मी महिना सुरु भएपछि नयाँबजार खुसीबु क्षेत्रबाट बाफल, कलंकी, थानकोट, सोह्रोखु्टटे, ठमेल, लैनचौर क्षेत्रतिर फैलिइरहेको थियो ।
काठमाडौंबाहिर धरानतिर केही केस देखिएका थिए । पछि मोरङमा आउटब्रेक भयो । राजधानीमा आयो । अहिलेजस्तो एक्कासी बम जस्तो ब्रेक भएको थिएन । बिस्तार संक्रमित लामखुट्टे फैलिएर केसहरु बिस्तारै बढेका थिए।
दशैँबाट बिरामी घट्न सुरु गरिसकेका थिए । नोभेम्बरबाट चाँहि बिरामीको संख्या न्यून भइसकेको थियो । त्यतिबेला आउने बिरामीमा अहिले जस्तै ज्वरो आउने, वान्ता आउने, आँखाको गेडी दुख्ने, जीउ दुख्ने यस्तै थिए ।
मैले शनिबारसमेत बिहान ७ बजेबाट बेलुकासम्म ओपीडीमा ८००–९०० बिरामी हेरेको थिएँ । कोही प्लेटलेट कम भयो भनेर आउँथे। त्यति बेला पनि बिरामीहरु धेरै आत्तिएका देखिन्थे । मलाई लामखुट्टेले टोक्या डेंगु भइहाल्यो कि जाँचिदिनुपर्यो भनेर आउँथे ।
मान्छेहरु पहिलको दुखः बिर्सिने रैछन् । नत्र उतिबेला पनि डेंगुबारे धेरै बहस भएको हो।
इडीसिडी, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालयमा धेरै छलफल भए । धेरै योजना बने । नारा पनि बन्यो । मिडिया कभरेज पजि त्यस्तै थिए । कयौँ अन्तवार्ता भए । लामखुट्टे नियन्त्रण गर्ने अभियानहरु चले ।
हामीले नारा नै बनाएका थियौँ ‘हप्ताको एकदिन एक घण्टा हुँदैन कुनै कष्ट, समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ । तत्कालीन स्वास्थ्य मन्त्रीले सदनमा समेत प्रस्तुत गर्नुभएको थियो।
पोखरा, काठमाडौंमा ठूलो प्रकोप भएको थियो । त्यो समय लतिलपुरमा धेरै थिएन । अहिले धेरै छ । डेंगुबाट काठमाडौं बाहिर ५–६ जनाको मृत्यु भएको थियो ।
त्यो बेला बिस्तारै केसहरु बढेका थिए । लामखुट्टेलाई सार्न समय लागेको थियो । यस पटक हाम्रोमा संक्रमित लामखुट्टे छ्यापछ्याप्ति थिए । त्यही भएर सुरुदेखि नै ह्वात्तै केस बढ्यो ।
यो एडिज जातको लामखुट्टेलाई शहरी क्षेत्र धेरै मनपर्छ । मान्छेको नजिक, घरभित्र बस्न रुचाउने लामखुट्टे हो यो। टेबलमुनि, पर्दामुनि, राखिएका कपडामुनि यस्तोमा धेरै बस्न रुचाउछ।
डेंगुको उपचार के हुन्छ ?
यो डेंगु ज्वरो यस्तो रोग हो-यसमा धेरै नै सकस हुन्छ । सुत्न नसक्ने, टाउको दुख्छ, आखाँका गेडीहरु धेरै नै दुख्छ, हेर्न सकिँदैन, चलाउन सकिँदैन, मांसपेशीहरु बेस्सरी दुख्छ । पिँडुला दुख्छ, जोर्नी दुख्छ, वान्ता हुन्छ, अरुची हुन्छ । यो सकसलाई हटाउने कुनै उपाय छैन ।
यतिबेला ज्वरो, अरुचीका कारण शरीरमा पानीको मात्रा कम हुन्छ । पानीको मात्रा पूर्तिका लागि प्रशस्त झोल कुरा खुवाउनु पर्यो । वयस्क मान्छेलाई दिनको २–३ लिटर झोल कुरा खुवाउनु पर्छ ।
दुखाइलाई कम गर्नलाई पारासिटामोल खान सकिन्छ । वयस्क मान्छेले दिनको ४ पटकसम्म खाँदा हुन्छ । ५ देखि ७ दिनसम्म सकस हुन्छ । यो समयमा लक्षणलाई न्यूनिकरण गर्ने हो अरु कुनै उपचार छैन।
डेंगुबारे केही भ्रमहरु पनि छन्। जस्तो–डब्लुबीसी घट्यो खत्तमै भयो भन्ने हुन्छ। त्यो घट्ने प्रक्रिया हो घट्छ । प्लेटलेट घट्यो भनेर अस्पताल भर्ना गरेर प्लेटलेस चढाएका घटना धेरै छन् । त्यो आवश्यक छैन । त्यो घट्छ आफैँ बढ्छ ।
डेंगुले हुने जटिलटता भनेको नसाबाट पानी बाहिर निस्किएर प्लाज्मा चुहिएर फियोमा पानी जम्मा हुने, फोक्सोमा पाी म्मा हुने हुन्छ । रक्तश्राव भएर बेहोस् हुने, आन्द्रामा रक्तश्राव हुने हुन्छ । दोस्रो पटक संक्रमित भएकालाई यस्तो समस्या हुन्छ।
प्राय रक्तश्राव आन्तरिक हुन्छ । तर कहिले कँही दाँतका गिजा, हातगोडाका कापमा पनि रगत बगेको देखिन सकिन्छ । यो रगत पातलो भएर हुने हो ।
आन्द्रामा हुने रक्तश्रावले गर्दा बिरामी गम्भीर बन्छ र मृत्यु पनि हुनसक्छ । मिर्गौला कलेजोले काम नगरेर पनि मृत्यु हुनसक्छ । यस्तो बेला चाँहि डराउनुपर्छ ।
संक्रमति लामखुट्टेले १० हजारलाई टोक्यो भने एक हजारलाई मात्रै लक्षण देखिन्छ । ९ हजारलाई केही हुँदैन । त्यो एक हजारमा पनि ५०० जनालाई सामान्य भाइरल फ्लू जस्ता लक्षण देखिन्छ , छिटै ठिक हुन्छ ।
बाँकी ५०० जनालाई चाँही क्लासिकल डेंगु देखिन्छ । अहिले देखिएजस्तै।
लार्भा नष्ट अभियान मेबाटै सुरु गर्नुपर्छ
हाम्रोमा लामखुट्टे मे महिनापछि बढ्छ । मे पछि अहिलेसम्म लामखुट्टेलाई चाहिने तापक्रम, आद्रता एकदमै अनुकुल हुन्छ ।
यो समयमै लामखुट्टेको वृद्धि, विकासलाई रोक्नुपर्छ । यसले हामीले जमाएका सफा पानीमा फुल पार्छ, वर्षाबाट जम्मा भएका पानीमा फुल पार्छ । साँझबिहान धेरै जनाबाट रगत खान्छ । लामखुट्टेको व्यवहार के हुन्छ त्यसमा ध्यान दिनुपर्छ ।
अर्को कुरा हामीले हाम्रो व्यवहार पनि हेर्नुपर्छ । शहरीकरण बढिरहेको छ । बाहिरबाट संक्रमितहरु आइराखेका छन् । घरभित्र लामखुट्टे छ। लामखुट्टेको वृद्धि विकास हुने ठाउँलाई वास्ता गरेका छैनौँ । हामी साँझ बिहान निस्फिक्री बाहिर हिड्छौँ । लामखुट्टेको टोकाइबाट बच्न कुनै प्रयत्न गरेका छैनौँ ।
वातावरणको अवस्था त्यस्तै छ-जताततै पानीका बोलत, सिसाहरु फालिएका छन् । बाटाबाटामा टायर फालिएको छ । एउटै घरमा धेरै परिवार बस्छ । सबैले भाँडाका भाँडा पानी हप्तौँसम्म जम्मा गरेका राखेका छन् ।
कौसी खेती गरिरहेका छन् । गमलामा प्लेटहरु राखेका छन् । यी जम्मै लामखुट्टेका लागि उपयुक्त वातावरण हुन् । जम्मै कुरा जब मिसिन्छ अनि आउटब्रेक हुन्छ । अहिलेका संक्रमित लामखुट्टेले पार्ने अण्डा डेसिकेटेट भएर पानी जमेको ठाउँमा रहिरहन्छ । र अर्काे वर्ष त्यसैबाट नयाँ लामखुट्टे संक्रमित भएरै जन्मिन्छन् ।
समस्या टरेपछि बिर्सनु भएन
अब जाडो आउँछ बिस्तारै बिरामी घट्दै जान्छन् हामी बिर्सिन्छौँ। अब हामीसँग धेरै संक्रमित लामखुट्टे छन् ।
अर्काे वर्ष वा एक-दुई वर्षपछि फेरि आउब्रेक हुन्छ । सिंगापुरजस्तो देश जहाँ लामखुट्टेको लार्भा भेटिए जरिवाना हुँन्छ । त्यहाँ पनि जीका केस भेटिन्छ, चिकन्गुनिया आउटब्रेक हुन्छ ।
अब सोचौँ हामी सिंगापुरको अवस्थामा पुग्न कति समय लाग्ला ? संक्रमित लामखुट्टे हामीसँगै भइरहन्छन् अब हामी कति जोखिममा छौँ ?
२०१९ का र अहिलेका भोगाइका आधारमा नयाँ रणनीति बनाउनुपर्छ । बढ्दो तापक्रमका कारण हिमाली पहाडी जिल्लामा पनि लामखुट्टे पुगेको छ । डेंगुबाहेक थुप्रै रोग यसले सार्छ ।
हामी कहाँ एडिज लामखुट्टे पहिले देखि थिए । तर त्यो स्वस्थ थियो । टोके पनि हामीले केही मतलब गरेका थिएनौँ । अब त त्यो अवस्था छैन।
हाम्रो घर सरकारले सफा गर्दैन
लामखुट्टेका लार्भा नष्ट अभियान समुदाय स्तरमा लानुपर्छ । सरकारले भनेर मात्रै हुँदैन । हामीले ध्यान दिनुपर्छ । एउटा संक्रमितले लामखुट्टेले टोक्यो भने काम पुग्यो ।
स्थानीय तहको पहलमा आम समुदायको सक्रियताले मात्रै लामखुट्टे नियन्त्रण सम्भव छ।
स्थानीय प्रतिनिधिले मात्रै घरघर चिनेको हुन्छ । त्यहाँको अवस्था थाहा हुन्छ । जमेका पानीहरु कहाँ हुन्छन् थाहा हुन्छ । यसमा स्थानीय सरकारकै मुख्य भूमिका हुन्छ ।
स्थानीय सरकारले नेतृत्व गरेर स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, प्रहरी, स्थानीय नेतालगायत वडा वडाबाट लामखुट्टेको लार्भा कहाँ नष्ट गर्ने अभियान मेबाटै सुरु गरेमा लामखुट्टेको घनत्व कम भएर केस घट्थ्यो ।
स्वास्थ्य मन्त्रालयले सचेत गराएको सूचना जानकारी दिएको छ । वडाका प्रतिनिधिसँग सवन्वय गरिरहेको छ।
अनि आफैँ लाग्नुपर्यो आफ्नो घर सफ गर्न । राज्य आएर हाम्रो घर सफा गरिदिन्छ र ? हामीले छतमा जम्मा गरेको पानी सरकारले फालिदिन्छ र ?
कौसी खेती गरेका छौँ सरकारले त्यहाँ आएर लामखुट्टे मारिदिन्छ र ? लामखुट्टे छकि छैन, लार्भा छकि हैन भनेर सरकार कौसी-कौसीमा त आउँदैन हाम्रो संरचनामा त्यतिधेरै जनशक्ति नै छैन ।
ट्वाइलेटको पछाडि १० वटा थोत्रा बाल्टी राखेको छौँ, त्यो सरकारले आएर हेर्छ र ? गर्न सक्छ र ?
केही स्थानीय सरकारले बाहिरतिर धुँवा छरेको देखिन्छ त्यो त फेक हो । डेंगु सार्ने लामखुट्टे घरमा छन् । बाहिर धुवा छरेर के हुन्छ ?
लामखुट्टे नियन्त्रण गर्न डेंगु कुर्ने होइन
अब हरेक वर्ष डेंगु नदेखिए पनि मे पछि लामखुट्टेका लार्भा नष्ट गर्न ध्यान दिनुपर्ने पर्छ भन्ने कुरा हरेकको दिमागमा घुसाउन सक्नुपर्छ।
जस्तो वर्षमा घरवरपर झाडी भयो भने सर्प आउँछ भनेर सफा गरिन्छ । त्यस्तै लामखुट्टेबाट बच्न पनि सचेत अपनाउते बानी बसाल्नु पर्छ ।
घर-घरलाई यसमा अभ्यस्त बनाउनुपर्छ । आउने दिनमा एडिज लामखुट्टेले सार्ने झन् ठूला रोग आउन सक्छ त्यसैले सधैँ सचेत भइरहनु पर्छ।
अहिले जतिको डेंगुबाट मृत्यु भयो भनिएको छ । त्यसको अध्ययन जरुरी छ । पहिलो डेंगु संक्रमण थियो कि थिएन भन्ने हुन्छ ।
उनीहरुको मृत्यु डेंगुका कारणले उब्जिएका समस्याबाटै भएको होकि होइन भनेर अध्ययन हुनुपर्छ ।
हेल्थपाटी
तपाईँको अभिमत