धर्म लाग्छ भनेर सुत्केरी बेथा लागेकालाई सघाउने अठोट लिएकी कलावती
अहिले ८५ वर्ष पुगेकी कलावती गौतमलाई पुराना दिन सम्झनै सकस छ । पर्वत राम्जाकी उनले थुप्रै कुरा बिर्सिसकिन्। बिहानै काभ्रोको रुखमा घाम देखिनेवित्तिकै जेठो छोरा जन्मिएको क्षण भने कलावतीको मानसपटलमा अमीट छाप बनेर बसेको छ।
उति बेलाको समय, गर्भवती भनेर कहाँ सुख पाइन्थ्यो र ! दिउँसो खेतबारी, वनजंगल जानुपर्थ्यो । साँझ-बिहान भातभान्सा पनि हेर्नुपर्थ्यो । राति अबेरसम्म वा बिहान उज्यालो नहुँदै ढिकी जाँतो गरेर खाने सामलको जोहो पनि गर्नुपर्थ्यो।
गर्भ अवस्थामा धेरै वाकवाक लाग्ने, प्राय: खान मनै नलाग्ने हुन्थ्यो अनि खान मन भएका बेला खान पाइँदैनथ्यो ।
गर्भवती भएको ७ महिनामै एक दिन तल्लो पेट दुख्न थाल्यो । कलावतीको हिँडाइ र अनुहार देखेर बज्यै(सासू)ले पल्लोघरकी हजुरआमा र फूपु(श्रीमान् की फूपू) खबर गरिन् । उनीहरूले यो अवस्थामा हुने समस्याबारे सम्झाइ–बुझाइ गरे, सान्त्वना दिए।
त्यसै दिन श्रीमान् लेकको बारीमा आलु लगाउन गएका थिए। त्यो दिन फर्किएनन् ।
रातभरी निन्द्रा लागेन । बेथाले गाह्रो बनायो।फुपूले सान्त्वना दिँदै सहयोग गरिन् । बज्यै रोगी थिइन्, केही गर्न नसक्ने। धेरै पीडाका बीच बिहानै कलावतीले छोरालाई जन्म दिइन्। 'बिहानै ४ घडी दिन जाँदा काभ्राको रुखमा घाम आएपछि बाबु जन्मियो' कलावती पहिलो पटक आमा बन्दाको क्षण सुनाउँछिन्।
छोरा त जन्मियो तर रुदै रोएन । जम्मा एकमुठीको थियो, निकै सानो । श्वास फेरेजस्तो पनि लागेन । वरिपरि जम्मा भएका महिलाहरूले '७ महिनामा जन्मिएको बाँच्दैन क्यारे' भने । एक बुढी आमाले सान्तवना दिइन् ‘मज्जाले बाँच्च किन नबाँच्नु, ७ महिनामै जन्मिएर बाँचेका धेरै छन्।’
सेक-ताप गरेपछि बल्ल श्वास फेर्यो । निकै दिनसम्म कलावतीको दूध आएन । गाईको दूध खुवाएर बचाइयो ।
आफूलाई परेपछि कलावतीलाई लाग्यो–सुत्केरी हुँदा निकै सहयोग, ढाडस चाहिने रहेछ । सुत्केरीलाई सहयोग गर्दा धर्म लाग्छ भन्ने कुरा उनको मनमा बसेको थियो । माइतीमा हुँदा आमाले धर्म लाग्छ भनेरै सुत्केरी बेथा लागेकालाई सहयोग गर्न गाउँ चाहारेको उनले देखेकी थिइन् । आमाले भाइबहिनी जन्माउँदा अलिअलि सहयोग कलावतीले पनि गर्ने गर्थिन् ।
पहिलो छोरा जन्मिएपछि गाउँका अरू महिलालाई पनि सुत्केरी हुन सहयोग गर्ने अठोट उनको मनमा पनि पलायो ।
उनको यो इच्छा बुझेपछि फुपूले सिकाइन् । ९ वर्षकै उमेरमा विधुवा भएपछि फुपू माइतमै बसेकी थिइन् । आफूले बच्चा नजन्माए पनि सुत्केरी बेथा लाग्दा के गर्ने, साल नझर्दा के गर्ने, सुत्केरीको हेरचाह कसरी गर्ने यो सबै उनलाई थाहा थियो ।
यस्ता धेरै महिलालाई उनी सहयोग गर्न जान्थिन् ।
फुपूले २ जना महिला सुत्केरी हुनेबेला आफैँ अगाडि बसेर कलावतीलाई सिकाइन्, त्यसपछि अब तिमी आफैँ गर्न सक्छौ भनिन् ।
यति सिकेपछि कलावतीले धेरै महिलालाई सुत्केरी हुने बेला सहयोग गरिन् । गाउँमा कसैलाई सुत्केरी बेथा लाग्यो भने लिन आउँथे, उनी घरको चाँजोपाँचो मिलाएर दौडिहाल्थिन् । कुनैबेला उनलाई साथ दिने अरू महिला पनि हुन्थे, कतै कलावती एक्लै पर्थिन् ।
बेथा लागेपछि कोहीको छिट्टै बच्चा जन्मिन्थ्यो । कसैलाई लामो समय लाग्थ्यो । बच्चा छिट्टै जन्मियोस् भनेर कसै–कसैलाई दलिनमा डोरी लगाएर बेस्सरी झुण्डिन लगाइन्थ्यो । त्यहाँ झुण्डिएर बल गरेपछि छिटो जन्मिन्थ्यो । घ्यू, दही खान दिँदा छिटो हुन्छ भनेर दिने गरिन्थ्यो ।
बेथा लागेको २–३ दिनसम्म पनि बच्चा जन्मिँदैनथ्यो । कसैको टाउको पहिला निस्कनु पर्नेमा खुट्टा निस्कन्थ्यो । यस्तो बेला बच्चा निस्कन निकै गाह्रो पर्थ्यो । कसैकसैको बच्चा नै ठूलो हुँदा पनि बाहिर निस्कन गाह्रो हुन्थ्यो ।
कसैमा चाहिँ बच्चा जन्मिने साल नझर्ने समस्या पनि हुन्थ्यो । बच्चा जन्मिएको एकै छिनमा साल झर्नुपर्ने निकै बेर झर्दैनथ्यो।
यस्तो बेला उभिन लगाउने, पछाडि पिठ्यूँ मालिस गरिदिँदा र कसैलाई पिसाब गर्न लगाउँदा पनि साल झर्थ्यो । कसैको हात नै हालेर पनि झिकिन्थ्यो ।
कसै गर्दा पनि नझरेपछि मनतातो पानी खुवाउने, पुरानो चाँदीको 'मोहोर' पखालेर, चट्याङ पर्दाको ढुंगा पखालेर खुवाउने गरिन्थ्यो।
त्यो समय पखालेर खुवाउने गरेको धेरै पुरानो (पृथ्वी नारायण शाहको पालाको) सिक्का कलावतीले अझै सुरक्षित राखेकी छिन्, जुन उनकी आमाले दिएकी थिइन्।
पुरेतले पानी मन्त्रेर खुवाउने पनि गर्थे । रेलको टिकट देखाउँदा पनि साल झर्छ भन्थे। रेलको टिकट छ कि भनेर लाहुरेको घरमा खोज्न जाने गरिन्थ्यो त्यो बेला ।
साल झरे पनि कसै–कसैको रगत बगेर आहाल बन्थ्यो । मुर्छा पर्थे । पानी खुवाएर पेट मालिस गर्दा रगत रोकिन्थ्यो । बिस्तारै बौरिन्थे ।
सुत्केरी हुन नसकेरै धेरैले ज्यान गुमाउने समय थियो त्यो । तर कलावतीले सहयोग गरेका कसैको पनि नराम्रो भएन ।
मोहरमा राखेर चक्कुले, आँसी (हँसिया) बच्चाको नाइटो काटिन्थ्यो । नाइटो उमालेको बटुवा धागोले रगत नबग्ने गरी बाँधिन्थ्यो । नाइटो झरेपछि छोराको भए नजिकैको चौतारामा र छोरीको अगेनामा गाडिन्थ्यो ।
जन्मनेवित्तिकै आमाको दूध आएन भने मह खुवाइन्थ्यो । दूध खुवाउने अन्य महिला खोज्ने, त्यो पनि नभए गाईको दूध खुवाइन्थ्यो ।
११ दिनमा न्वारन हुन्थ्यो । पुरेतले नाम राख्थे । पछि शरीरमा डाबर नआओस् भनेर भलायो खुवाउने गरिन्थ्यो न्वारनको दिन ।
न्वारनका दिन छोरा भए वेदका किताब, कलम साथमा राखेर बोक्नुपर्थो। छोरी भएमा सालका पातको मुठा र सिन्काहरू लिएर बोक्नुपर्थ्यो ।
उनी आफू ४ गर्भवती भइन् । त्यसमध्ये २ छोरा जन्मिए भने २ बच्चा खेर गए ।
खाली धर्म कमाइन्छ भन्ने आसमा उनले आमा र फुपूले सिकाएकै भरमा सुँडेनी बनेर धेरै सुत्केरीलाई सहयोग गरिन् ।
सुत्केरी बेथा लागेपछि सुडेनीलाई बोलाउनुपर्छ भन्ने गीत नै थियो– गावै डुलने कटवाले (गाउँ घुमी हिँड्ने कटवाल) । सोल्यानी (सुँडेनी) माई बोलाइ ल्याऊ बालिखालाई मरिदान (मालिस गर्न) ।
त्यो समय कलावतीले सहयोग गरेर जन्मिएका सबैजसो अहिले पनि छन् । सबैले विवाह, ब्रतबन्धजस्ता समारोहमा बोलाउँछन् । उबेला सहयोग गरेको भाडा भनेर लुगाफाटो उपहार पनि दिन्छन्।
उनीहरूलाई भेट्दा अहिले पनि ती दिनको सम्झना आउँदा निकै खुसी लाग्ने कलावती सुनाउँछिन् ।
तपाईँको अभिमत