'सूर्तीजन्य पदार्थको प्रयोगका कारण नेपाल झन गरिब भइरहेको छ' (भिडियो)
सूर्तीजन्य पदार्थको प्रयोगको कारण मुटु, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउँछ।
विश्वभर क्यान्सरबाट हुने २५ प्रतिशत मृत्युको कारण सूर्ती सेवन रहेको अध्ययनहरूले छन् । विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु सूर्तीजन्य पदार्थको प्रयोगका कारण भइरहेको छ।
धुमपान नगर्नेभन्दा धुमपान गर्नेलाई फोक्सो क्यान्सर हुने जोखिम २२ गुणा बढी हुन्छ। धुमपान गर्ने पाँचमध्ये एक जनामा श्वास फेर्न कठिन हुने, फोक्सोको दीर्घ रोग लाग्ने हुन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विशेषगरी बाल्यकाल र किशोरावस्थामा धुमपान सुरु गर्नेमा यो जोखिम बढी हुन्छ। धुमपानले फोक्सोको वृद्धि विकासलाई सुस्त बनाउँछ।
धुमपान गर्नेमा स्ट्रोक हुने जोखिम दुई गुणा धेरै र मुटु रोग हुने जोखिम चार गुणा धेरै हुन्छ। निकोटिन र सूर्तीजन्य पदार्थहरूको सेवनले मुटु तथा रक्तनली रोगको जोखिम बढाउँछ।
सूर्ती सेवन गर्नेहरूमध्ये आधाको ज्यान सूर्तीले नै लिन्छ।
'विदेशमा सूर्तीजन्य पदार्थमा यति धेरै कर लगाइएको छकी न्यून आय भएको व्यक्तिले किनेर खानै सक्दैन'
प्रत्येक वर्ष नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगकै कारण २७ हजार बढीको मृत्यु हुने गरेको तथ्यांक छ। साथै सूर्तीजन्य पदार्थको सेवनले निम्तिएका यी रोगको उपचारका लागि लाग्ने खर्च, बिरामीहरूको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्तताको हिसाब गर्दा वार्षिक करिब ४७ अर्ब रूपैयाँ भन्दा बढी आर्थिक क्षति हुन्छ।
सूर्तीजन्य पदार्थको प्रयोगबाट स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउनुहुन्छ।
उहाँका अनुसार सूर्तीमा हजारभन्दा बढी रसायनहरू हुन्छन्। जसमध्ये ६० वटा रसायन निकै हानिकारक र क्यान्सरजन्य हुन्छन्। ३ वटा रसायन मुटुका लागि अति हानिकारक रहेको उहाँले जानकारी दिनुभयो।
सूर्तीमा निकोटिन, कार्बनमोनोक्साइड र टार रसायन पाइन्छन्। सूर्तीजन्य पदार्थलाई आगो लगाएपछि कार्बनमोनोक्साइड र टार जस्ता विषयुक्त रसायनको उत्पत्ति हुन्छ।
अल्पकालीन असरमा चुरोटको धुँवा श्वासनलीमा जानेबित्तिकै ब्रोन्काइटिस हुन्छ र खोकी लाग्न सुरु हुन्छ। दम बढाउँछ। सूर्ती (खैनी) चपाउनाले मुखको क्यान्सर, दाँत खिइने, दाँत पहेँलो हुने, गिजामा सेतो दाग देखिने, निन्द्रा नलाग्ने समस्या निम्तिन्छ ।
कार्बाेनमोनोक्साइड र निकोटिनले मुटुको रक्तनलीभित्र रगत बग्ने भित्तामा घाउ बनाउँछ। त्यहाँ बोसो, कोलेस्टेरोल जमेर रक्तनलीलाई साँघुरो बनाउँछ। रक्तनली बन्द भएपछि मुटु नै फुटेको जसरी दुख्न थाल्छ र हृदयघात हुन्छ। ब्रेनमा पनि मुटुमा जसरी नै असर गर्छ। नसाहरू फुट्ने जोखिम रहन्छ र मस्तिष्कघात हुन्छ।
सूर्तीले २० प्रकारका क्यान्सर गराउँछ
धुमपान र धुवाँरहित सूर्तीको सेवनले मुखको क्यान्सर, ओठको क्यान्सर, घाँटीको क्यान्सर र अन्ननलीको क्यान्सर गराउँछ।
धुमपान गर्नेहरूमा गम्भीर म्येलोइड लुकिमिया, नाक तथा नाकको भित्री भागको क्यान्सर, कोलोरेक्टल, मिर्गाैला, अग्न्याशय, पेट र पाठेघरको क्यान्सर, र तल्लो मुत्रनलीको (मुत्राथैली, मुत्रवाहिनी नली र रेनल पेल्भिस) क्यान्सर विकास हुने उच्च जोखिम हुन्छ।
सूर्तीजन्य पदार्थले क्यान्सर मात्रै नभई अन्य नसर्ने रोगसमेत बढाइरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) की सह-प्राध्यापक एवं क्यान्सररोग विशेषज्ञ डा. सन्ध्या चापागाईँ बताउनुहुन्छ । सन् २०१८ मा विश्व स्वास्थ्य संगठनको तथ्यांकले फोक्सोको क्यान्सरबाट हुने मृत्युमा ८५ प्रतिशत कारण सूर्तीजन्य पदार्थ रहेको देखाएको चापागाईँले जानकारी दिनुभयो।
उहाँका अनुसार नेपालमा हुने मृत्युमध्ये २३ प्रतिशत फोक्सोको क्यान्सरबाट हुने गरेको छ। चुरोटमा ६०० किसिमका केमिकल तत्वको हुन्छन्। त्यो केमिकललाई सल्काएर बालेपछि रियाक्सन हुँदै ६०० बाट ७ हजार किसिमका केमिकल बन्न जान्छन्। धूँवामार्फत आउने विषले शारीरिक र मानसिक स्वास्थ्यमा असर देखाउनेतर्फ उहाँले सचेत गराउनुभयो।
चुरोटमा एसिटोन तत्व पाइन्छ। यो नेल पोलिस रिमुभरमा प्रयोग गरिएको पाइन्छ। नङमा लगाइएको पालिस मेट्ने बेला हामी मुखमा परियला कि भनेर डराउँछौ। अर्काे एमोनिया, जुन घर सफा गर्ने बेला प्रयोग गरिने विभिन्न किसिमका फिनाइलहरूमा पाइन्छ। यी लगायत अन्य हजारौँ हानिकारक केमिकल तत्व चुरोटमा पाइने डा. सन्ध्या बताउनुहुन्छ।
चुरोटमा टार भन्ने विषयुक्त रसायन हुन्छ । यसले क्यान्सर गराउँछ। चापागाईँका अनुसार टार भनेको लेदो वस्तु हो। जसले फोक्सोमा असर पुर्याउँछ। त्यसैले चुरोट खानेलाई मात्रै होइन धुवाँको वरिपरि बस्नेलाई समेत असर गरिरहेको हुन्छ।
धुमपान गर्नेमा दृष्टि क्षमता र श्रवण शक्ति हराउने जोखिम धेरै हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार धुमपान गर्नेहरूको आयु औसतमा १० वर्ष छोटो हुन्छ। चुरोटको प्रत्येक सर्कोसँगै टक्सिन र कार्सिनोजेनहरू शरीरमा प्रवेश गर्छन्। धुमपान गर्नेहरूमा मधुमेह र डिमेन्सियाको जोखिम बढी रहन्छ।
उद्योगको हस्तक्षेपले सेवन घटेन
उद्योगीको हस्तक्षेपका कारण विषसरह रहेको सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन नसकिएको स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण सञ्जालका संयोजक शान्तलाल मुल्मीको दावी छ । सामाजिक उत्तरदायित्वको नाममा सूर्ती उद्योगले सूर्तीको प्रवर्द्धन र प्रचार-प्रसार गरिरहेको उहाँ बताउनुहुन्छ।
मुल्मीका अनसार सूर्ती उद्योगीले विद्यालय, गैरसरकारी संस्था एवं एम्बुुलेन्स खरिदलगायतमा सहयोग गरेर समाजसेवा गरिरहेको भ्रम फैलाइरहेका छन्।
सरकारले नै सूर्ती उद्योगीहरूलाई प्रोत्साहन गर्ने काम गर्दै आएको आरोप उहाँको छ। सूर्य नेपाल बर्षेनी सर्वाेत्कृष्ट करदाताको रूपमा राज्यबाट सम्मानित हुँदै आएको र यसले सूर्य नेपाललाई धेरैभन्दा धेरै कर तिर्न सूर्तीजन्य पदार्थको उत्पादनमा बढावा र प्रोत्साहन मिलिरहेको मुल्मी ठोकुवा गर्नुहुन्छ।
‘विदेशमा सूर्तीजन्य पदार्थमा लगाइएको चर्काे करका कारण ती पदार्थ किनेरै खान सकिँदैन' मुल्मी भन्नुहुन्छ, 'सूर्तीजन्य पदार्थको खपत घटाइरहेको छ तर नेपालमा कर ४० प्रतिशतभन्दा कम छ, सस्तोमा सजिलै चुरोट, सूर्ती किन्न पाइन्छ, अनि कसरी घट्छन् सूर्तीजन्य पदार्थको प्रयोगकर्ता ?’
सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि कस्ता नियमहरू छन् ?
विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कम्तिमा ७५ प्रतिशत कर लगाउनुपर्छ भन्दै आएको छ। अघिल्लो वर्षको बजेटमा १९ प्रतिशत कर कढेको थियो तर यसपटक जम्मा ३ प्रतिशत मात्रै बढाइयो, जुन १० वर्षयताकै कम हो।
ग्लोबल टोबाको इन्डेक्सका अनुसार एसियामा सबैभन्दा बढी चुरोटमा कर लगाउने देश बंगलादेश हो। उसले आफ्नो उत्पादनको बिक्री मूल्यमा ७१ प्रतिशत कर लगाएको छ। माल्दिभ्सले ६९ प्रतिशत,श्रीलंकाले ६६ प्रतिशत, पाकिस्तानले ५६ प्रतिशत, भारतले ५४ प्रतिशत पुर्याइएको छ तर नेपालमा भने ३० देखि ३३ प्रतिशत मात्रै हुन आउँछ।
सन् २००३ को डिसेम्वरमा ३ मा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि एफसिटिसिमा हस्ताक्षर गरेको नेपालले सन् २०११ मा मात्रै सूर्तीजन्य पदार्थ नियमन तथा ऐन जारी भएको थियो।
उद्योगीहरूको हस्तक्षेपका कारण सूर्तीजन्य पदार्थको खोलमा ७५ प्रतिशत भागमा चेतावनीमुलक सन्देश छाप्नेपर्ने व्यवस्था भने ऐन जारी भएको २७ महिनापछि अर्थात् सन् २०१४ मा मात्रै कार्यान्वयनमा आयो।
सूर्तीजन्य पदार्थको प्रयोगबाट हुने मृत्युलाई कम गर्न सन् २०१५ मा ९० प्रतिशत भागमा चेतवनीमुलक सन्देश छाप्नुपर्ने प्रावधान अथक प्रयासपछि हालै कार्यान्वयनमा आएको छ।
सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन,ऐन २०६८) ले सार्वजनिक स्थलमा धुमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था गरेको छ । यदि गरेमा १०० रूपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ।
यो व्यवस्था कार्यान्वयनमै छैन। कुनै पनि सञ्चारमाध्यमबाट सूर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइदैन्। यदि गरेमा १ लाख रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ तर खेलकुद, अस्पतालसम्ममा तथा अन्य कार्यक्रमहरू सूर्ती कम्पनीहरूले स्पन्सर गरिरहेको देख्न सकिन्छ भने संस्थादेखि अस्पतालसम्मले उनीहरूबाटै सहयोग लिइरहेको पाइन्छ।
फुटकर रूपमा चुरोट बिडी वा सिगारको खिल्ली बिक्री बितरण गर्न पाइदैन्। यदि गरेमा १० हजार रूपैयाँसम्म जरिवाना हुनसक्छ। तर खुलेआम फुटपाथ पसल यतिसम्मकी अस्पतालका गेटमा रहने पसलमासमेत सूर्ती जन्य पदार्थको प्रयोग भइरहेको छ।
कार्यालय र सार्वजनिक स्थलमा धुमपान तथा सूर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्ने व्यवस्था छ। यदि नगरेमा त्यस्तो कार्यालयले ५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ तर सरकारी कार्यालयदेखि अस्पताल हाताभित्रै कर्मचारीहरूले सूर्तीजन्य पदार्थको प्रयोग गरिरहेको देखिन्छ।
सूर्ती उत्पादकले कम्तिमा २० खिल्ली अटाउने गरी चुरोट वा बिँडीको प्याकेट या बट्टा तयार गर्नुपर्ने व्यवस्था छ । कम्पनीले १० खिल्ली भएको बट्टा तयार गरी बेचिरहेका छन्।
सूर्ती जन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य लिनुपर्छ । नलिएको खण्डमा १० हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्छ भने नि:शुल्क रूपमा सूर्ती जन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइँदैन। यस्तो गरेको भेटिएमा १० हजार रूपैयाँ जरिवाना हुनसक्छ।
यसैगरी १८ वर्ष भन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निशुल्क उपलव्ध गराउन पाइँदैन। यदि गरेमा १० हजार रूपैयाँसम्म जरिवाना हुनसक्छ। साथै, सूर्ती जन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइँदैन। यदि गरेमा १० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था सूर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन, ऐन २०६८ ले गरेको छ।

तुलसा घिमिरे
तपाईँको अभिमत