साउन महिना ‘डेंगी सचेतना महिना राष्ट्रिय अभियान’ घोषित
साउन महिनालाई सरकारले ‘डेंगी सचेतना महिना राष्ट्रिय अभियान’ घोषणा गरेको छ । बुधबार (आज) एक कार्यक्रम गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अभियानको घोषणा गर्नुभएको हो ।
प्रदेशका स्वास्थ्यमन्त्री समेत भर्चुअल माध्यमबाट सहभागी कार्यक्रममा मन्त्री पौडेलले अभियानको घोषणा गर्नुभएको हो ।
साउन महिना डेंगी सङ्क्रमणको उच्च विन्दु पुग्ने तथा तीव्र हुने सुरुवात महिना भएकाले सङ्क्रमण तीव्र हुनुअगावै सचेतना अभियान थालनी गर्न सचेतना अभियान घोषणा गरिएको उहाँले बताउनुभयो ।
‘डेंगी साउन महिनामा उच्च सङ्क्रमण हुने सुरुवाती महिना हो’, उहाँले भन्नुभयो, ‘यस महिनामा सतर्कता अपनाउन सके डेंगी सङ्क्रमण कम गर्न सकिने भएकाले यसै महिनालाई सचेतना अभियान महिना घोषित गरिएको हो ।’
आफू डेंगी सङ्क्रमणबाट बच्दा अन्य व्यक्तिलाई समेत बचाउन सकिने भएकाले सबै सचेत हुनेपर्ने उहाँको भनाइ छ । उहाँले डेंगी सङ्क्रमणका कारण मानसिक स्वास्थ्य समेत बिग्रने भन्नुहुँदै यसबाट आफू जोगिएर अरूलाई समेत जोगाउन आग्रह गर्नुभयो ।
यसैगरी मन्त्रालयका सचिव डा. विकास देवकोटाले डेंगी पूर्ण रूपमा उन्मूलन गर्न नसकिने अवस्था रहेको भन्नुभयो । जीवनशैली परिवर्तन गरेर सङ्क्रमित हुनबाट जोगिनुपर्ने उहाँको भनाइ थियो ।
डा. देवकोटाले डेंगीबाट बच्न स्प्रे तथा झुल मात्र लगाएर नहुने भन्नुहुँदै ‘सर्च एन्ड डिस्ट्रोय’ उपाय नै उत्तम उपाय भएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटीले डेंगी सङ्क्रमण एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने भन्नुहुँदै त्यसको टोकाइबाट बच्नुपर्ने बताउनुभयो । उक्त जातको लामखुट्टेलाई खोजी कार्य गरी नष्ट गर्नु नै डेंगीबाट बच्ने सबभन्दा उपयुक्त उपाय भएको उहाँको भनाइ थियो । यसका लागि हरेक साता उक्त अभियान सञ्चालन गरिने बताउनुभयो ।
एडिज जातको लामखुट्टेको जीवनचक्र ८० प्रतिशत पानीमा हुने भएकाले पानी जम्न नदिने उपाय अवलम्बन गर्न आग्रह गर्नुभयो ।
डेंगी नियन्त्रणका लागि बहु क्षेत्रको भूमिका तथा संलग्नता हुनुपर्ने नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजिराओ पाण्डवले बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालय एक्लैले यसको नियन्त्रण गर्न नसक्ने भन्नुहुँदै सचेतनाका लागि शिक्षा मन्त्रालय तथा सञ्चारमाध्यमको ठूलो भूमिका हुने उहाँको भनाइ थियो ।
नेपालले पहिलोपटक डेंगी नियन्त्रणका लागि सचेतना महिना नै घोषणा गरेर अभियान सञ्चालन गर्न लागेकोप्रति खुसी व्यक्त गर्नुहुँदै उहाँले यसका लागि विश्व स्वास्थ्य संगठन सहयोग गर्न तत्पर रहेको जनाउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत