‘मानसिक तनावले शारीरिक रोग निम्त्याइरहेको हुन्छ पत्तो पाउँदैनौ’
मानसिक तनावले स्वास्थ्यलाई नष्ट गर्छ
एउटी कामकाजी महिला छिन् । घरको काम र जागीरका साथै उनी अन्य सामाजिक क्रियाकलापमा पनि शरीक हुन्छिन् । केटाकेटीको पढाइ, घर निर्माणदेखि लिएर घरपरिवारकै विवाह, श्राद्ध, पूजाआजा आदि सबै ठाउँ र अवसरमा उनी समान रूपले भ्याउँछिन् ।
हामी कुनै मानिसलाई धेरै रिस उठिरह्यो भने “तिम्रो प्रेशर बढेको छ कि क्या हो ? जचाँउन जाऊ भन्छौं । अर्थात्, सामान्यतया रिस, आवेग र उच्च रक्तचापको सम्बन्ध अब प्रायः सबैलाई थाहा भैसकेको छ । तर, हामीमध्ये कमैलाई मात्र थाहा छ, हाम्रा अन्य विभिन्न शारीरिक रोग वा समस्याहरू पनि मानसिक तनाव र चिन्तासँग नै सम्बन्धित हुन सक्छन् ।
एक गृहिणी बिहान सबेरैदेखि बेलुकी अबेरसम्म घरको काममा व्यस्त हुन्छिन् । बिहान दूध समयमा आएन, धारामा पानी आएन, स्कूल जाने बेलामा बच्चाको एउटा मोजा पाइएन, तरकारीमा हाल्न मसला सिद्धिएछ, बच्चाको स्कूलको बस छुट्यो, भान्छामा चिया हाल्दा शिशाको कप फुट्यो, बेलुका बच्चालाई खाजा के बनाउने समस्या लिएर उनी मानसिक तनाव वा दबाब भोगिरहेकी हुन्छिन् ।
बेलुकीपख उनको टाउको तथा ढाड दुख्छ । बिस्तारै–बिस्तारै महीनावारी अनियमित हुन थाल्छ । खानामा रुचि घट्दै जान्छ । मुटु बेस्कन ढुकढुक गर्छ । ओछ्यानबाट उठ्दा जीउ कसैले थिलथिलो हुनेगरी पिटेजस्तो लाग्छ । उनी कुनै गम्भीर रोग लाग्यो कि भनेर अनेक खाले चिकित्सकहरूलाई देखाउँछिन् । तर, समस्या पत्ता लाग्दैन । एकजना डाक्टर उनको समस्या शारीरिक नभएर मानसिक भएको हुनाले मानसिक रोग विशेषज्ञकहाँ जाने सल्लाह दिन्छन् ।
मानसिक रोग विशेषज्ञले उनको रोगको सम्पूर्ण विवरण लिन्छन्, उनको दिनचर्या र पारिवारिक वातावरणका बारेमा सोध्छन् र निष्कर्ष निकाल्छन्, तपाईंलाई कुनै पनि शारीरिक रोग भएको छैन । तपाईंको समस्या लामो समयसम्मको मानसिक तनावले गर्दा पैदा भएको हो । यसका लागि खास कुनै दवाईको जरूरत पर्दैन, तर तपाईंले दिनचर्यामा परिवर्तन गर्नुका साथै दैनिक जीवनका समस्या, पीर आदिका बारेमा घरपरिवारका व्यक्ति र श्रीमान्स“ग कुरा गर्नु र केही समय केवल आफ्नो लागि पनि खर्च गर्नुपर्छ ।”
मानसिक रोग विशेषज्ञको यस्तो निदान र उपचारले उनको समस्या शतप्रतिशत नभए पनि ८० प्रतिशत हराएर जान्छ । अझै उनलाई कहिलेकाँही मुटु ढुकढुक हुने समस्याले सताउँछ । तर, उनलाई थाहा छ, यो कुनै शारीरिक रोग होइन ।
माथिको विवरणले आम गृहिणीहरूलाई आइपर्न सक्ने एउटा समस्याको तस्वीर प्रस्तुत गर्छ । जति–जति समाजको शहरीकरण हुँदै जान्छ, मानिसहरूका इच्छा–आकाङ्क्षा बढ्दै जान्छन्, मानिसहरूलाई समय कम हुँदै जान्छ र त्यति नै मानसिक तनाव पनि बढ्दै जान्छ ।
लामो समयसम्म तनाव भइरहेमा यही नै पछि गएर मानसिक रोग, जस्तै– डिप्रेशन (अवसाद) आदिमा परिणत पनि हुनसक्छ ।
दैनिक जीवनका तनावलाई अलिअलि गर्दै झेल्दै जानुपर्छ र ससाना तनाव जम्मा हुँदै गएर यसले थाहा नै नपाईकन ठूलो रूप लिन पुग्छ । यसको परिणामस्वरूप अनेक किसिमका शारीरिक समस्या देखा पर्छन् । लामो समयसम्म तनाव भइरहेमा यही नै पछि गएर मानसिक रोग, जस्तै– डिप्रेशन (अवसाद) आदिमा परिणत पनि हुनसक्छ ।
एउटी कामकाजी महिला छिन् । घरको काम र जागीरका साथै उनी अन्य सामाजिक क्रियाकलापमा पनि शरीक हुन्छिन् । केटाकेटीको पढाइ, घर निर्माणदेखि लिएर घरपरिवारकै विवाह, श्राद्ध, पूजाआजा आदि सबै ठाउँ र अवसरमा उनी समान रूपले भ्याउँछिन् । बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म घर, अफिस, छोराछोरीको स्कूल आदिको समस्याले उनी पिरोलिनै रहन्छिन् । उनलाई लाग्छ, उनले हेरिनन् भने सबै कुरा लथालिड्ड हुन्छ, सबै ठाउँमा उनले नै भ्याउनुपर्छ । उनी भ्याउँछिन् पनि ।
४० वर्ष नपुग्दै उनलाई टाउको दुख्ने, रिँगटा लाग्ने, भोक कम हुने समस्या देखा पर्छ । उनी डाक्टरकहाँ जान्छिन् । डाक्टरले जाँच्दाखेरि उनको रक्तचाप निकै नै माथि पुगेको हुन्छ । केही परीक्षणपछि उनलाई डाक्टरले रक्तचापको औषधि नै खानुपर्छ भन्छन् ।
उनी औषधि खान शुरू गर्छिन् । रक्तचाप त कम हुन्छ । त्यसले गर्दा टाउको दुख्ने समस्यामा पनि कमी आउँछ । तर, अन्य समस्या, जस्तै– सानो–सानो कुरामा रिस उठ्ने, कसैसँग बोल्न र कतै जान मन नलाग्ने, सबै कामहरू बोझ लाग्ने, तरपनि गरिनै रहनुपर्ने समस्याचाहिँ यथावत नै रहन्छन् । उनी उच्च रक्तचापका बिरामी भएको कुरा सबैलाई थाहा हुन्छ, तर उनका अन्य समस्या उनीभित्रै रहन्छन् । उनी त्यसैसँग बाँचेकी छन् ।
अमेरिकाको कोलम्बस शहरको ओहियो विश्वविद्यालयका मनोवैज्ञानिक टिलमर एन्गेब्रेस्टनले यस विषयमा अनुसन्धान गरेर के फेला पारे भने लगातारको रिस, आवेग र आक्रोशले मुटुका कोषहरूलाई बिगार्ने काम गर्छन् र शरीरमा नराम्रो खालको बोसो बढाउने काम गर्छन् । रिस उठ्दा वा आवेगमा आउँदा हाम्रो मुटुको धड्कन बढ्न जान्छ, हाम्रो शरीरको एड्रेनालिन नामक तनावजन्य आन्तरिक रस (स्ट्रेस हर्मोन) बढ्न जान्छ ।
एड्रेनालिनले रक्तचापलाई बढाउँछ र । रिसाएको, तनाव वा दबाबमा भएको मानिसको र लगातार नकारात्मक सोचाइ राख्ने मानिसको रगतमा हामीले एडे नालिनको मात्रा बढी पाएका छौं, डा. विलियम, जसले एड्डर किल्स (रिसले मार्छ’) भन्ने किताबै लेखेका छन्, भन्छन् ।
मानसिक तनावले शारीरिक व्यथालाई निम्त्याउँछ
तपाईं–हामीले कति परिवारमा देखेका छौं, कुनै महिलाले ठूलो दुर्घटना हवाईजहाज वा बम बिस्फोटमा परिवारका दुई–तीनजना सदस्य एकैचोटि गुमाउँछिन्, वा विवाह गरेको दुई–तीन वर्षमा नै श्रीमान्को मृत्यु हुन्छ, वा लामो समयको प्रतीक्षापछि गर्भवती भएर जन्मेको नाबालक शिशुको मृत्यु हुन्छ । यस्ता दुर्घटनापछि घरपरिवारका सदस्य र महिलाहरू रुने, दुखित हुने र “जीवन नै निरर्थक” भन्ने आदि त हुन्छ । तर, समय बित्दै गएपछि बिस्तारै यस्ता दुर्घटनाका बारेमा कुराकानी गर्दा मन केही दुखी भएर आउने भए पनि जीवनचाहि“ सामान्य अवस्थामा चलिरहन्छ ।
त्यस्तो बेलामा हामीलाई ओहो यस्तो दुख पनि त्यस व्यक्तिले कसरी सह्यो होला वा बिस्र्यो होला जस्तो लाग्छ । तर, वास्तवमा प्रकृतिले मानव शरीरलाई अनेक दुखपूर्ण अवस्थाबाट पार भएर स्वस्थ जीवन जिउन शक्ति दिन्छ । तर, अर्कोतिर दैनिक जीवनका ससाना घटना, स-साना तनाव, ससाना चिन्ता र घर परिवारका समस्याले चाहिँ मानिसहरूलाई दीर्घरोगी बनाउन सक्छ ।
भावनात्मक असर प्रत्येक मानिसको जीवनमा परिरहेकै हुन्छ । तर, कुनै मानसिक तनाव र समस्याले होइन, त्यसप्रति प्रतिक्रिया गर्ने हाम्रो दृष्टिकोण कस्तो छ त्यसले हाम्रो शरीरमा असर पारिरहेको हुन्छ । त्यस्तै प्रकारले घरमा बिरामी मान्छेको हेरचाह गर्ने गृहिणी, सामान्य ठाकठुक परेर बोलचाल बन्द गरेका श्रीमान्–श्रीमती, स्कूलमा बच्चाले जाँचमा कम नम्बर ल्याउँदा बच्चालाई पिट्ने, झपार्ने, कराउने मातापिता आदिमा चाहिँ नकारात्मक मानसिक तनाव परिरहन्छ ।
वास्तवमा मानिसको मनमा भएका सकारात्मक र नकारात्मक दुईटै कुराहरू उसको अनुहारमा स्पष्ट देख्न सकिन्छ । यसको मुख्य कारण शरीरभित्र हुने आन्तरिक प्रक्रिया नै हो ।
मानसिक तनावलाई हटाउने केही उपाय
कुनै समस्यालाई कसरी हेर्नुहुन्छ भन्ने दृष्टिकोण फरक पारेर पनि चिन्ता र तनावबाट केही हदसम्म बच्न सक्नुहुन्छ । मानसिक तनाव कम गर्ने अर्को उपाय हो– शारीरिक व्यायाम । तपाईं भन्ठान्नुहोला, दिनभरि शारीरिक काम गरिन्छ, फेरि किन चाहियो र शारीरिक व्यायाम ? तर, घरको नियमित काम गर्दा एक त शहरी महिलाहरूको शारीरिक व्यायाम त्यति हुँदैन, अर्को लगातार गरिरहने कामले वाक्क भई तनावको कारण बन्न जान्छ ।
अनि त्यही तनावले फेरि स्वास्थ्यमा नराम्ररी प्रभाव पार्न सक्छ । त्यसैले बिहान–बेलुका हिंड्ने, कसरत गरेर तनाव घटाउन सकिन्छ । धार्मिक आस्था छ भने मन्दिरमा गएर भजन सुन्ने, आफैं भजन गर्ने, योग आदिले पनि तनाव घटाउने काममा सहायता दिन सक्छन् ।
डा. अरुणा उप्रेती
तपाईँको अभिमत