आज ५ प्रदेशमा भारी वर्षा हुनसक्ने, २ प्रदेशमा हावाहुरी आउने
आज दिउँसो र राति गरी ५ प्रदेशमा भारी वर्षाको सम्भाना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। २ प्रदेशका हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानमा साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राति देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
हेल्थपाटी
तपाईँको अभिमत