नेपालमा जलविन्दुको उपचारका लागि पहुँच, सामर्थ्य र दिगोपन
परिवारको छाक टार्न उहाँको दृष्टि सुरक्षित हुन जरुरी छ
६३ वर्षका रसुवाका टिकबहादुर घर्ती हरेक वर्ष कम्तिमा दुई पटक चिकित्सकलाई भेट्न काठमाडौं आउनुहुन्छ । परिवारको छाक टार्न उहाँको दृष्टि सुरक्षित हुन जरुरी छ ।
आँखामा लगाएको हरेक थोपा औषधीसँगै रोग निको होस् भनेर उहाँ प्रार्थना गर्नुहुन्छ । यद्यपि चिकित्सकले उहाँको बाँकी जीवनभर त्यस्तै औषधी लगाउनुपर्ने बताउनुहुन्छ, तर उहाँको आशा भने मरेको छैन ।
यतिका लागि उहाँ आफ्नो घरदेखि काठमाडौं जाने गाडी पाउनलाई तीन घण्टासम्म हिँड्नुहुन्छ । उहाँसँग अरू कुनै विकल्प छैन । कहिलेकाहीँ उहाँले निःशुल्क औषधी पाउनुहुन्छ । तर धेरैजसो चाहिँ अलि सस्तो पर्ने औषधी चिकित्सकले सिफारिस गरिदिन्छन् ।
जलविन्दु अन्धोपन हुने कारणमध्ये एक प्रमुख कारण हो । यद्यपि यसको नियन्त्रण गर्न औषधी तथा शल्य उपचार पद्धतिहरू व्यवस्थापन गरिँदैछन् । तैपनि यो रोगबाट ग्रामीण भेगमा बस्नेहरूका लागि गाह्रो भएको देखिन्छ ।
नेपालका हरेक जिल्लामा कहिलेकाहीँ शल्यचिकित्सकको उपस्थिति हुने गरी प्राथमिक आँखा हेरचाह केन्द्रहरू (पीईसीसी) व्यवस्था गरिएका छन् ।
भारतसँग सिमाना जोडिएका १४ वटा जिल्लामा जलविन्दु उपचारका लागि आधुनिक उपकरणसहितका अस्पतालहरू स्थापना गरिएका छन् । ३५ वटामध्ये २२ वटा अस्पतालहरू त यसै क्षेत्रमा पर्छन् ।
पीईसीसीका ठूला अस्पतालहरू तराईका सबै जिल्लामा स्थापना गरिएका छन् । हिमाली र पहाडी क्षेत्रमा भने उस्तै अवस्था छैन । ती क्षेत्रमा पीइसीसी स्थापना गर्न भौगोलिक विकटताका कारण गाह्रो भइरहेको छ । जसले जलविन्दुको उपचारमा पहुँच पुर्याउन अप्ठ्यारो भइरहेको छ ।
नेपालमा अधिकांश जलविन्दुका औषधीहरू सामाजिक स्वास्थ्य बीमा योजना अन्तर्गत उपलब्ध छन् । सन् २०१६ देखि ७७ जिल्लामध्ये ६६ जिल्लाले यो योजना लागू गरेका छन् । नेपालमा १ देखि २० डलरसम्म पर्ने आँखाका औषधीमध्ये जलविन्दुको औषधी सबभन्दा महङ्गो हो । सधैँ औषधी प्रयोग गरिरहनुभन्दा यसको शल्यक्रिया तुलनात्मक रूपमा कम खर्चिलो देखिन्छ, तर भरपर्दो नतिजामा विश्वस्त हुन सकिने अवस्था छैन । असफलताको दर निकै रहेको छ । साथै बिरामीे ५ देखि ६ महिनासम्म नियमित रूपमा अस्पताल धाउनुपर्ने पनि हुन्छ ।
पहुँचका बाधाहरू
आर्थिक विपन्नतासँगै सबभन्दा प्रमुख विषय भनेको जलविन्दुको औषधीको उपलब्धता हो । सबैजसो अस्पतालहरूले बारम्बार त्यही औषधी सिफारिस गरिरहनाले फार्मेसीहरू त्यसलाई सञ्चय गरेर राख्न खोज्छन् । सहरी क्षेत्रका सबै फार्मेसीमा यो औषधी उपलब्ध छैन । ग्रामीण भेगको त कुरै छोडौँ । यस्तो औषधी आँखा अस्पतालका फार्मेसीमा मात्र पाइन्छ ।
यसको कारण चाहिँ जलविन्दु भएका बिरामीको क्षेत्रगत तथ्यांकको अभावले हो । त्यस्तै खास क्षेत्र वा जिल्लामा यसको माग हुने कुरा अनुमान गर्न नसक्नु हो । यससँगै जलविन्दुको शल्यक्रिया गर्ने चिकित्सकको संख्या न्यून (करिब ३० जना) हुनु पनि यसको एक कारण हो ।
जलविन्दुको बिरामी पत्ता लगाउने तरिका पनि सामान्य छैन । धेरैजसो शिविरहरू जाँच गर्नमा केन्द्रित हुन्छन् । यस्ता शिविरहरू ग्रामीण क्षेत्रमा रहेका जलविन्दुको प्रारम्भिक अवस्थामा रहेका बिरामी पत्ता लगाउने अवसर हो । यस्ता थोरै मात्र शिविरहरू भएका छन् जसले प्रारम्भिक अवस्था पत्ता लगाओस् । त्यस्तै स्वास्थ्य शिक्षा तथा जनचेतनाका कार्यक्रम पनि थोरै मात्रामा मात्र भएका छन् । चेतनाको अभाव पनि सेवाको पहुँच पुर्याउने एक बाधा हो ।
आविष्कार/नयाँपन
जलविन्दुका बिरामी पत्ता लगाउने केही नयाँ उपायले आशा भने बढाइदिएको छ । कतिपय नयाँ किसिमका शिविरहरू तराई क्षेत्रका समुदायमा गएर गरिएका छन् । विभिन्न जिल्लाका बालबालिकामा पनि जाँच गरिँदै छ, अस्पताल तथा आईएनजीओहरूले विभिन्न स्थानमा गएर शिविर सञ्चालन गर्न थालेका छन् ।
सीमान्त क्षेत्रमा गरिएका शिविरहरूले जलविन्दुका बिरामीहरू पत्ता लगाउनमा प्रभावकारी भूमिका निर्वाह गर्छन् । यसरी समुदायस्तरबाट तथ्यांक संकलन गरी राष्ट्रिय स्वास्थ्य सेवामा विशिष्टीकरण गर्न सकिन्छ । त्यस्तो तथ्यांकबाट जलविन्दुको औषधी उपलब्ध गराउन अत्यन्तै सहज हुनेछ ।
यदि स्थानीय स्तरमै औषधी उपलब्ध हुने भए टिकबहादुर घर्तीले हरेक ६ महिनामा आर्थिक अभावका बाबजुद पनि आँखाको दृष्टि बचाउन काठमाडौंसम्म आउनु पर्दैन थियो । जलविन्दु उपचारमा आर्थिक वृद्धि र दिगोपन गर्नु आजको आवश्यकता हो । यो राजनीतिक प्रतिबद्धता र आँखाको स्वास्थ्य क्षेत्रमा नीति परिवर्तनले मात्र सम्भव छ ।
सरकारले सबै तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउनुपर्छ । सामाजिक स्वास्थ्य सेवा सबै ७७ वटै जिल्लामा पुर्याउन आवश्यक छ । यसैगरी जलविन्दुको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पनि औषधी उपलब्ध गराउनुपर्छ । यो आवश्यकताअनुसार निःशुल्क पनि गराउनुपर्छ ।
हेल्थपाटी
तपाईँको अभिमत