११ वर्षपछि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय नेतृत्व नेपाललाई, सम्मेलनका एजेण्डा के हुन् ?
नेपालको आयोजनामा विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को दक्षिण पूर्वी एसियाको सम्मेलन भोलिदेखि हुँदैछ । ११ वर्षपछि सम्मेलनको नेतृत्वको गर्ने मौका नेपालले पाएको हो । भर्चुअल माध्यामबाट हुने सम्मेलन ५ दिनसम्म चल्नेछ ।
नेपालले यस सत्र देखि आगामी एक बर्षका लागि विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको अध्यक्षका रुपमा कार्य गर्नेछ । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओको सम्मेलन आयोजनाको तयारीबारे जानकारी दिएको हो ।
सम्मेलन नेपाली समयअनुसार पौने १० बजेदेखि सुरु हुनेछ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालले यस वर्ष विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको ७४औं सत्र आयोजक र अध्यक्षको जिम्मेवारी वहन गर्न पाएकोमा निकै खुशी लागेको बताउनुभयो ।
सम्मेलनमा स्वास्थ्यको आपत्कालिन सृदृढिकरण, नसर्ने रोगको नियन्त्रण, कोरोना विरुद्ध खोपको वितरण,एचआइभी, हेपाटाइटिस तथा यौन रोगहरुको उन्मूलनका सम्बन्धमा छलफल हुने श्रेष्ठले जानकारी दिनुभयो ।
क्षेत्रिय समितिमा दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरु रहेका छन्। पछिल्लो पटक सन् २००९ मा नेपालले यस क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो ।दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरु, नीति, बजेटको समिक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड- १९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दाहरुमा गहन छलफल गरिने छ ।
यसका साथै नेपालले प्रस्ताव गरे अनुसार कोभिड- १९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुंच कसरी बढाउने र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने बारेमा मन्त्री स्तरीय विशेष छलफल समेत आयोजना गर्नेछ। आपसी एकता, हातेमालो र परस्पर सहयोगले विपद् र महामारीलाइ नियन्त्रण गर्नुका साथै स्वास्थ्य सम्बन्धी विश्व, क्षेत्रीय र राष्ट्रिय स्तरमा जाहेर भएका प्रतिबद्धताहरूलाई कसरी प्रभावकारी ढंगले हासिल गर्न सकिन्छ भन्ने बारेमा छलफल हुनेछ।
भदौ २५ गतेसम्म चल्ने ७४ औं सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक, क्षेत्रिय निर्देशक, दक्षिण पूर्वि एसियाका ११ वटा राष्टका स्वास्थ्य मन्त्री, वरिष्ठ स्वास्थ्य अधिकारीहरु, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका बरिष्ठ स्वास्थ्य अधिकारीहरु लगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरु, विकास साझेदारहरू, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
हेल्थपाटी 
तपाईँको अभिमत