धरान र आसपासमा डेंगी व्यापक, बीपी प्रतिष्ठानमा छुट्टै क्लिनिक राखेर उपचार
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगी क्लिनिक सञ्चालनमा ल्याएको छ । अहिले धरानलगायत वरपरका जिल्लामा डेंगीको प्रकोप धेरै देखिएको छ । उपचारलाई सहज बनाउन डेंगीको छुट्टै क्लिनिक सञ्चालन गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनुभयो ।
डा.पोखरेलका अनुसरा धरान उपमहानगरपालिकासँगको सहकार्यमा असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि छुट्टै डेंगु क्लिनिक सञ्चालन हुँदै आएको छ ।
उक्त क्लिनिक संचालनका लागि प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्स लगायत अन्य जनशक्तीको व्यवस्था गरिएको पोखरलले बताउनुभयो । धरान उपमहानगरपालिकाले ५०० थान डेंगी परीक्षण कीट उपलब्ध गराएको छ ।
सार्थ उपमहानगरले उपचारका लागि आउने सर्वसाधारणका लागि टेन्ट, कुर्सीको व्यवस्था पनि गरेको छ । क्लिनिक हप्तामा सातै दिन सञ्चालन हुने पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म क्लिनिक चल्ने छ ।
क्लिनिकमा आउने बिरामीको डेंगी परीक्षण निःशुल्क हुने व्यवस्था गरिएको छ । असार २९ गतेदेखि ३१ गतेसम्म १२१ जनाको परीक्षण गरिएकोमा ९६ जनामा अर्थात झण्डै ८० प्रतिशतमा डेंगी देखिएको पोखरेलले बताउनुभयो ।
डेंगी देखिनेमा बालकदेखि र्वद्धसम्म सबै उमेर समूहका व्यक्ति रहेको पनि उहाँको भनाइ छ ।
पोखरेलका अनुसार गर्भवती महिलाहरुलाई पनि डेंगी देखिएको छ। परीक्षणमा क्रममा धेरै संक्रमित धरानको १५, १७ र ११ नम्बर वडाका छन् ।
डेंगु क्लिनिकमा परीक्षण गराउन आउँदा बिरामीले ओपीडी टिक लिएर आउनुपर्नेछ हुन्छ । र्यापिड कीटको माध्यमबाट डेंगी भए नभएको तुरुन्तै परीक्षण गरिन्छ ।
डेंगी संक्रमित पाइएमा अन्य आवश्यक परीक्षणका लागि जटिल लक्षणहरु देखिएमा अस्पतालमै राखेर उपचार गरिने र सामान्य अवस्था भएकालाई चिकित्सकले परामर्श गरी घर पठाउने पोखरेलले बताउनुभयो ।
आगामी दिनमा परीक्षण गर्न ५०० कीटले नपुग्ने देखिएकाले धरान उपमहानगर, प्रदेश सरकार र संघीय सरकार तथा स्वास्थ्य सेवा विभागसँग समेत थप कीटका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत