प्रत्यारोपण केन्द्रमा नाम टिपाएका सबैको पालो आउन २ वर्ष लाग्छ
नेपालमा वर्षेनी ३० लाख व्यक्तिको मिर्गौलामा कुनै न कुनै समस्या देखिने गरेको अस्पतालमा आएका बिरामीको तथ्यांकले देखाउँछ । जसमध्ये ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ ।
मिर्गाैला फेल भएको अवस्थामा बिरामीको जीवन जोगाउन प्रत्यारोपण एक मात्र विकल्प रहन्छ । तर नेपालमा वर्षमा २०० जनाको पनि मिर्गाैला प्रत्यारोपण हुँदैन । प्रत्यारोपणका लागि दाता नपाउनु तथा दाता पाइहालेमा महिनौँ कुर्नुपर्ने समस्या छ ।
आजभन्दा १० वर्ष अगाडि मिर्गाैला प्रत्यारोपणको अवस्था अझै भयावह थियो । वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा आक्लझुक्ल प्रत्यारोपण हुने गर्थ्यो । यसमा पनि सफलता न्यून थियो। बिरामी र तिनका आफन्तलाई नेपालमा पनि मिर्गौला प्रत्यारोपण हुन्छ भन्नेमा विश्वास थिएन । उनीहरु ठूलो रकम खर्चेर उपचारका लागि भारत जान्थे ।
अंग प्रत्यारोपणमा यो दयनीय अवस्था देखेपछि नेपालमा छुट्टै अंग प्रत्यारोपण अस्पताल हुनुपर्छ भन्ने आवाज उठ्न थाल्यो । त्यसको नेतृत्व डा.पुकारचन्द श्रेष्ठले गर्नुभयो, जो कलेजो तथा मिर्गौैला प्रत्यारोपण विशेषज्ञ हुनुन्छ । धेरै मेहनतपछि वि.स २०६८ साल बैशाख ११ गते भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना गरियो । अहिले उक्त अस्पतालको नाम शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र छ ।
स्थापनाको ३ महिनापछि केन्द्रमा डाइलाइसिस र ९ महिनापछि प्रत्यारोपण सेवा सुरु भयो । धेरै रस्साकस्सीबाट स्थापना गरिएको उक्त केन्द्र आगामी ११ गतेबाट ११औं वर्षमा प्रवेश गर्दैछ । अहिले पनि उक्त केन्द्रमा ४०० जना बिरामीले मिर्गाैला प्रत्यारोपणका लागि नाम टिपाएका छन् । हामीले नेपालमा मिर्गाैला प्रत्यारोपणको अवस्था, भावी योजनाका बारेमा उक्त केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठसँग कुरा गरेका छौं ।
केन्द्रमा बिरामीको चाप कत्तिको छ ?
४०० जना मिर्गाैला ट्रान्सप्लान्टको लाइनमा छन् । यसमा ७० जना बिरामी सम्पूर्ण जाँच पूरा गरी प्रत्यारोपणका लागि तयारी अवस्थामा छन् । हाम्रो क्षमता भनेको हप्तामा बढीमा ८ जना मात्रै गर्न सक्ने हो । यो क्षमताअनुसार प्रत्यारोपणका लागि नाम टिपाएका बिरामीको प्रत्यारोपण गर्न २ वर्ष लाग्छ । यसबीचमा बिरामी थपिने क्रम त चलिरहन्छ । अब यो केन्द्रले मात्रै बिरामीलाई धान्न सक्दैन ।
केन्द्रमा प्रत्यारोपणका जनशक्ति र पूर्वाधाको अवस्था कस्तो छ ?
यस अस्पतालमा ३०० जना कर्मचारी हुनुन्छ । मिर्गाैला प्रत्यारोपणमा ७ जना नर्ससहित १० जना स्वास्थ्यकर्मी, एनेष्थेसियामा ६, नेप्रोलोजिष्ट ७, ओटी र आइसियुमा २०-२० जना नर्स गरी ५० देखि ६० जनाको टिम छ । छुट्टै प्रत्यारोपण युनिट छ । त्यसले समन्वय गर्छ ।
यो केन्द्र सय बेड क्षमताको हो । ४ वटा अपरेशन थियटर, १० वटा आइसीयू कक्ष छन् । हप्तामा हामीले ६ देखि ८ जनाको मिर्गाैला प्रत्यारोपण गर्दा ओटी र आइसीयू सबै भरिन्छ । हामीले क्षमताले भ्याएसम्म रातदिन नभनी सेवा दिइरहेका छौँ । हामीसँग सक्षम टिम पनि छ तर बिरामीको अनुपातमा सेवा प्रवाह गर्न कठिन छ ।
सेवा विस्तार गर्न केन्द्रको योजना के छ ?
कानुनी अड्चन, आर्थिक अभाव, जनचेतनाकमी जस्ता कारण धेरै बिरामीहरु उपचारको पहुँचमा आउन सकेका छैनन् । स्वास्थ्य सेवा पहुँचमा आएका बिरामीलाई समयमा नै उपचरा गर्न सकिएको अवस्था पनि छैन ।
बिरामीलाई सरल र सहज वातावरणमा उपचारको पहुँचमा ल्याउनका लागि सातै प्रदेशमा प्रत्यारोपण केन्द्र अनिवार्य भइसकेको छ । प्रत्यारोपण सेवालाई विस्तार गर्नैपर्छ ।
पूर्वमेची देखि पश्चिम महाकालीसम्मका बिरामी यहाँ नै आउनपर्छ भन्ने होइन। अब संघीय अस्पतालमा पनि मिर्गाैला प्रत्यारोपण गर्नुपर्छ । अनि मात्रै धेरैभन्दा धेरै बिरामीको समयमै प्रत्यारोपण गरी जीवन बचाउन सकिन्छ भन्नेमा हाम्रो जोड छ । यसका लागि यसै आर्थिक वर्षभित्र पोखरा र सुर्खेतमा प्रत्यारोपण सेवा सुरु गर्ने तय भइसकेको छ ।
प्रत्यारोपण सेवा विस्तारका लागि स्रोत, साधन र जनशक्ति छन् ?
हामीले सरकारी अस्पतालहरूमा प्रत्यारोपण सेवा विस्तार गर्ने भनेका हौँ । स्रोत, साधन र जनशक्ति पूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सकारात्मक र प्रतिवद्ध छ । यसै आर्थिक वर्षमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा प्रत्यारोपण सुरु गर्ने सहमति केन्द्रसँग भइसकेको छ। ती स्थानमा प्रत्यारोपण सेवा सुरु गरी निरन्तरता दिन केन्द्रले यहाँको जनशक्तिलाई पठाएर त्यहाँको जनशक्तिलाई तालिम दिनेछ ।
क्रमश सेवा विस्तार गर्दै लैजानुपर्छ । अर्को आर्थिक वर्षमा बाँकी रहेका प्रदेशमा सेवा सुरु गर्ने तयारीमा हामी छौँ । त्यसका लागि विभिन्न अस्पतालका जनशक्तिलाई तालिम दिनुपर्छ । सर्जन, प्याथोलोजी, एनेष्थेसिया तथा नर्सलाई तालिम दिनुपर्छ ।
केन्द्रमा भएका हालसम्मको प्रत्यारोपणको सफलताको अवस्था कस्तो छ ?
एकदमै राम्रो छ । मिर्गाैला होस् या कलेजो दुबैमा हाम्रो हाम्रो सफलता ९९ प्रतिशतभन्दा बढी छ । हाम्रो केन्द्रमा हुने प्रत्यारोपण र विदेशमा हुने प्रत्यारोपणमा कुनै फरक पाउनु हुन्न, यो मेरो दाबी हो । विदेशमा त्यहाँका स्वास्थयकर्मीले भन्दा स्वदेशमा उहाँकै स्वास्थ्यकर्मीले नै आफ्ना बिरामीलाई बढी माया गर्छन नी होइन र ? कुनै धक नमान्नु होला । त्यसैले स्वदेशमै कुनै पनि धक नमानी केन्द्रमा सेवाका लागि आउनु होला । हामी बिरामीको विश्वास जित्दै यो अवस्थासम्म आइपुगेका छौं ।
स्थापनाको १० वर्षमा प्रत्यारोपित संख्या कम होइन ?
सर्वप्रथम, सुरुमा केन्द्रको स्थापना हुनु नै ठुलो कुरा थियोे । स्थापनापछि स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्यो । स्थापना भएको ९ महिनापछि प्रत्यारोपण सेवा सुरु भएको थियो यस केन्द्रमा । हालसम्म आइपुग्दा यहाँ ८३७ जनाको मिर्गाैला प्रत्यारोपण भइसकेको छ । कानुन अनुसार ३७ जोडीको फरक परिवार बीच अंग साटासाट गरि मिर्गाैला प्रत्यारोपण भएको छ । ८ जनाको कलेजो प्रत्यारोपण भएको छ । हामी नेपालमै अंग प्रत्यारोपण सम्भव छ भनेर स्थापित गर्न सफल भएका छौ अब प्रत्यारोपण सेवालाई विस्तार गर्नु अति आवश्यक छ ।
ब्रेनडेथको अंगदान अभियानमा पनि हुनुन्छ तपाई, यो अभियान किन ?
मैले अगाडि भनिसकेँ । नेपालमा कलेजो तथा मिर्गाैला फेल हुने बिरामीको सख्या अत्याधिक छ तर प्रत्यारोपणको अवस्था अत्यन्तै न्यून छ । मिर्गाैला प्रत्यारोपणको आवश्यकतालाई हेर्ने हो भने अहिले वर्षमा जम्मा १५ प्रतिशतको मात्रै प्रत्यारोपण भइरहेको छ । कलेजो प्रत्यारोपणको अवस्था त्यो भन्दा कम छ । मिर्गाैला, कलेजो फेल हुन्छ तर अंग पाइदैन । हाम्रो कानुनले स्वास्थ्य र ब्रेन डेथ भइसकेका व्यक्तिको अंगबाट प्रत्यारोपण गर्न पाइन्छ ।
स्वस्थ व्यक्तिको शरीरबाट अंग निकाल्न अति जोखिम छ । स्वस्थ व्यक्तिको शरीर चिरी अंग निकालेर फेरि सही तरिकाले अर्काे व्यक्तिको शरीरमा राख्नु चुनौतीपूर्ण काम हो । यसमा बिरामी र स्वस्थय व्यक्ति दुबैको शरीरलाई जोखिम हुन सक्छ । तर ब्रेन डेथ भइसकेका व्यक्तिको अंग निकाल्न जोखिम रहँदैन । ब्रेन डेथ भएका एक व्यक्तिको ८ वटा अंग प्रयोग गर्न सकिन्छ । नेपालमा सडक दुर्घटनाबाट करीब ३ हजारको मृत्यु हुन्छ भने करीब १ हजारको ब्रेन डेथ हुने गरेको तथ्यांक छ ।
खरानी भएर, गाडेर जाने शरीरको अंगले अरु सयौंको ज्यान जोगिन्छ । अहिले दाता नपाउँदा धेरैले मृत्युवरण गर्नुपरिरहेको अवस्था छ तर ब्रेन डेथ भएकाको अंग खेर जान्छ, ती अंगको उपयोग गरेर अर्काे व्यक्तिको ज्यान जोगाउन सकिन्छ । सुरुमा सय, २ सय गरेर सुरुवात गर्ने हो । ब्रेनडेथ भएकाको अंगदानबारे जनचेतना फैलाउनु छ ।
सरकार पनि यो अभियानमा सकारात्मक छ । सम्माननीय प्रधानमन्त्री लगायत अहिलेको मन्त्रिपरिषदका सम्पूर्ण सदस्यहरुले पनि अंगदानको घोषणा गरिसक्नु भएको छ । ब्रेनडेथ भएकाको अंगदान गर्ने कार्यलाई व्यवहारिक रुपमा लागू गर्न सके नेपाल अंग प्रत्यरोपणमा आत्मनिर्भर हुन सक्छ र हजारौंले नयाँ जीवन पाउने थिए ।
तपाईँको अभिमत