ऋषिपञ्चमी ब्रतको घोर विरोधी हुँ, त्यो दिन पकाइने कर्कलो र भात मिठो लाग्छ
ऋषि पञ्चमीको दिनमा बिहान नुहाएर पुजा गरेपछि महिलाहरुले कर्कलो र भात खाने चलन छ। ऋषि पञ्चमी ब्रतको म घोर विरोधी हुँ। तर त्यो दिन पकाइने कर्कलो र भात म बडो मिठो मानेर खान्छु।
‘कर्कलोको नाम लिएपछि त्यस्तो पनि तरकारी हुन्छ र ? के खाने छ्या ! भनेर नाक खुम्च्याउनेहरु पनि धेरै भेटिन्छन्। कर्कलोमा पाइने पौष्टिक तत्वबारे थाहा भएको भए सायद यसरी नाक खुम्च्याउने मध्ये धेरैले आहा ! भन्ने थिए। नखानेहरुले पनि खान थाल्थे होलान्।
कर्कलोको हरियो पात पकाउँदा कतिपय अवस्थामा कोक्याउने पनि हुन्छ। तर यसमा अमिलो हालेपछि, त्यो कोक्याउने हट्छ।
फलामको भाँडामा पकाएको कर्कलो अमिलो गोलभेडा र भातसँग खायो भने यसले शरीरमा लौहतत्व पर्याप्त प्रदान गर्छ। शायद त्यसैले हाम्रो सँस्कृतिमा तीज र पञ्चमीको ब्रतपछि शरीरलाई उर्जा र पोषण दिन भनेर कर्कलो भात खाने चलन चल्यो।
ऋषि पञ्चमीको दिनमा कर्कलो खोजीखोजी खाइन्छ। तर अरु दिनमा पनि कर्कलो खाइयो भने रक्तअल्पताबाट बच्न खुब मद्दत गर्ने थियो।
नेपालमा मात्र होइन कर्कलो त चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि प्रयोग गरिन्छ। दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, देराममा सुप बनाएर खाइन्छ।
कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टामा पनि कतिपय ठाउँमा प्रयोग गरिन्छ युरोपमा रोमन कालदेखि नै यसलाई प्रयोग गरिन्थ्यो। त्यो बेलामा पिँडालु कसरी पकाएर खाने भनेर किताबमा नै लेखिएको थियो।
नेपालमा कर्कलो र पिँडालुलाई अलि अपहेलित खाना मानिन्छ। तर कर्कलो र मासको मस्यौरा तातो भातसँग खाने मानिसहरुले चाँही यसको स्वाद बिर्सन गाह्रो हुन्छ।
किन होला कर्कलो र पिँडालु यति अपहेलित भएको नेपालमा?
शायद जताततै पाइने भएर हो कि? तराईतिर बाटो–बाटोमै कर्कलोको बोट देखिन्छ। तर कसैले प्रयोग गरेको देखिन्न। कर्कलोमा लौहतत्व, क्याल्सियम, विभिन्न अन्य खनिज पदार्थ र भिटामिन ए, भिटामिन सी, भिटामिन के पनि केही मात्रामा हुन्छन्।
बाटामा फलिरहेको कर्कलो किन कसैले नटिपेको भनेर सोद्धा एक महिलाले भनेकी थिइन् –यसमा त विष हुन्छ। खानु हुन्न। वास्तवमा नै यसमा रहेको ‘क्याल्सियम अक्सोलेट’ नामक तत्वको उपस्थितिले यसमा केही विष हुनसक्छ। तर रातभरि पानीमा भिजाएर वा मज्जासँग पकाएपछि त्यो विषालु तत्व नष्ट हुन्छ।
केही व्यक्तिहरु जसको घुडाँ दुख्छ, उनीहरुले धेरै कर्कलो र पिँडालु खाएपछि घुडाँको दुखाइ बढेको अनुभव गर्छन् भने शायद यस्ता व्यक्तिहरुले कम खाएकै वा छोडेकै ठीक हुन्छ।
तर अन्य स्वस्थ व्यक्तिहरुलाई स्वादको साथै रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले प्रयोग गर्नु अति उक्तम हुन्छ।
सस्तो भन्दैमा हेप्न पर्दैन। बट्टाका, प्याकेटका कुहिएका खानेकुरा भन्दा त कर्कलो र पिँडालुको तरकारी प्रयोग गरे हुन्छ।
लट्टेको सागको तरकारी पाहुनालाई बनाएर दिदाँ पाहुनाले त्यो तरकारी छुँदै नछोएको नमिठो अनुभव मसँग छ। तर जब त्यही लट्टे अंग्रेजी नाम दिएर ठूलो होटेलमा बेचिन्छ, तब यो सबैले रुचाउँछन।
नेपालका विभिन्न ठाउँमा यसलाई विभिन्न नामबाट चिन्ने र प्रयोग पनि फरक–फरक तरिकाबाट हुने गरेको पाइन्छ। तराई तथा भित्रीमधेसमा यसलाई चौलाई, ‘रामदाना’ भनिन्छ भने पहाडी क्षेत्रमा ‘लट्टे’, वा ‘लुँडे’, उच्च पहाड र कर्णली एवम् सो भन्दा पश्चिमका क्षेत्रमा ‘मार्से’ भन्ने गरिन्छ।
अमेरिका र महाभारत क्षेत्रमा उत्पति भएको मानिएको लट्टे संसारमा पाइने पुराना बालीमध्ये एक हो। महाभारत श्रृङ्खला र मध्य तथा दक्षिण अमेरिकी देशमा परापूर्वकालदेखि नै लट्टेको खेती र प्रयोग गरेको इतिहास भेटिन्छ।
यसको दानाबाट मेक्सिकोमा विभिन्न खाद्यपदार्थ बनाइन्छ। मकैजस्तै भुटेर महसँग मिलाएर प्रयोग गरिन्छ। यो अफ्रिका, चाइना, भारत, रसिया, अमेरिकामा पनि पाइन्छ। बज्यैहरुले ब्रतका बेला लट्टेलाई दुधमा पकाएर खुवाउनुभएको याद छ।
पौष्टिकताले भरिपूर्ण भएर होला, यसको उपयोग ब्रतका बेलामा गरेको। रायो र पालुङ्गोको तुलनामा लट्टेमा सुक्ष्म पोषणहरु विशेष गरी फलाम प्रचुर मात्रामा पाइने भएकाले यो अत्यन्तै पोषिलो हुन्छ। साथै लट्टेका दाना ग्लुटिनरहित् भएकाले ग्लुटिन पचाउन नसक्नेहरुका लागि यसको परिकार प्रभावकारी मानिन्छ।
अमेरिकातिर धेरै प्रयोग गरिने अन्न किनुवा भन्दा लट्टेमा बढी उर्जा, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन बी पाइन्छ।
लट्टेको साग त मैले रगतको कमी भएका गाउँका महिलाहरुलाई खानको लागि जहिले पनि भन्छु। नजिकको तीर्थ हेला भनेझँै यो साग प्राय सजिलै पाइने हुनाले कसैले वास्ता गर्दैन।
कैलालीकी शान्तिलाई रगतको कमी भएर कमजोर अनुभव भयो। उनलाई यसको लागि गोली खान भनियो। शान्तिकी एक साथीले उनलाई हरियो लट्टे दिनदिनै खान सल्लाह दिइन्। शान्तिको घरको वरिपरि भएको लट्टेले फाइदा गर्छ भन्ने विश्वास त शान्तिलाई लागेन। तर पनि हेरी हालु न। भनेर दुई हप्तासम्मसाग खाइन।
उनले आफूलाई निकै स्वस्थ्य भएको महसुस गरिन्। अनि पो शान्तिलाई महसुस भयो–घरमा नै रहेको औषधि बेवास्ता गरेर पैसा तिरेर औषधि किन्दो रहेछु भनेर।
माटोमा दाना छरेपछि धेरै स्याहार नगरेर नै यो बिरुवा हुर्किन्छ। हरियो र रातो लट्टे दुवैको स्वाद मीठो हुन्छ। यसको पात टिपेर, कोदो र फापरको पिठो हालेर खाँदा, लट्टेको पातमा गोलभेडा हालेर पकाएपछि भात वा रोटीसँग खान सकिन्छ। स्वाद तथा पौष्टिकता दुवै दिन्छ।
लट्टेको दानबाटा चाँही अनेकौ परिकार बन्न सक्छन्। लट्टेको दानालाई भुटेर केही तरकारी हालेर पकाउँदा स्वादिष्ट खाजा पनि बन्छ।
लट्टेको दाना पिसेर आटामा मिसाएर स्वस्थकर रोटी बन्छ। बालबालिकाले हरियो सागपात नखाने समस्याबाट प्रत्येक अभिभावक पिडीत हुन्छन्। बच्चाले खाने दाल वा तरकारीमा लट्टेको दाना वा लट्टेको पात मिसाएर खान दिइयो भने स्वास्थ राम्रो हुन्छ।
गहुँभन्दा बढी रेसादार र लौह तत्व पाइन्छ लट्टेमा। भिटामिन इ, भिटामिन सी, फोलिक एसिड र क्याल्सियम पाइन्छ। साथै लट्टेका दाना ग्लुटिनरहित भएकाले ग्लुटिन पचाउन नसक्नेहरुका लागि यसको परिकार प्रभावकारी मानिन्छ अर्थात गर्भवती महिलाको लागि यो अति नै उपयोगी छ।
हाम्रै घर आगानमा पाइने। रोपे सजिलै पल्ने, लट्टे र कर्कलो जस्ता उपयोगी वस्तु चिन्न जरुरी छ।
डा. अरुणा उप्रेती
तपाईँको अभिमत