गाजामा मानवीय संकट गहिरिँदै, २४ घण्टामा भोकमरीबाट थप ५ को मृत्यु
गाजामा जारी युद्धका कारण जबरजस्ती भोकमरीबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र थप ५ जनाको मृत्यु भएको छ। यससँगै युद्ध सुरु भएदेखि भोकमरीका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या २१७ पुगेको छ।
मृतकमध्ये पछिल्ला ५ जनामा २ बालबालिका रहेका छन्। यससँगै भोकमरीका कारण ज्यान गुमाउने बालबालिकाको सङ्ख्या १०० पुगेको छ। गाजास्थित अस्पतालहरूले भनेका छन्— 'घेराबन्दी र मानवीय सहायता अवरुद्ध हुनु, खानेकुरा र औषधिको चरम अभाव हुनु, तथा स्वास्थ्य सेवा ठप्प हुनुका कारण मृत्यु दर तीव्र गतिमा बढिरहेको छ ।'
संयुक्त राष्ट्र संघका विभिन्न निकायले यसलाई "मानवीय संकटको चरम अवस्था" भन्दै तत्काल युद्धविराम र सहायता आपूर्ति खोल्न आग्रह गरेका छन्। यदि नाकाबन्दी नखुलाइ आवश्यक खाद्यान्न र औषधि आपूर्ति तुरुन्त सुरु गरिएन भने मृतकहरूको सङ्ख्या अझै धेरै बढ्ने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् ।
मानवअधिकार समूहहरूले पनि यो अवस्था अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको र जबरजस्ती भोकमरीलाई युद्ध अपराधको श्रेणीमा राखिएको स्मरण गराएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत