आइसियुमा रहँदा स्वास्थ्यकर्मीको हौसलाले मैले कोरोना जितेँ
मलाई मेरै हेलचक्र्याइँका कारण संक्रमण भएको भन्ने महसुस भइरहेको छ ।
म काठमाडौंको सिनामंगल गैरीगाउँ बस्छु । त्रिभुवन विश्व विद्यालय भूगर्भ शास्त्र विभागमा अध्यापन गराउँछु । पहिरोको अध्ययनका सिलसिलामा म पूर्बी नेपाल गएको थिँए । त्यहाँ हामीले स्थानिय गाडी प्रयोग गरि फिल्डमा हिँड्यौँ । तर हामीले आफ्नै गाडी प्रयोग गरेको भए संक्रमण हुने थिएन कि भन्ने एक किसिमको सोच अहिले पनि आउँछ । किन कि जुन गाडीहरुमा हामी चढ्यौँ त्यसमा संक्रमितहरु पनि ओसारपसार गरेको र सुरक्षाका मापदण्ड नअपनाइएको हामीले थाहा पायौँ । फिल्डकै क्रममा मलाई रुघाखोकी लाग्यो, सुख्खा खोकी लाग्नुका साथै छाती दुख्न थाल्यो ।
म काम सकेर आफैले गाडी चलाएर काठमाडौं आएँ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले म घर आइसकेपछि छुट्टै बसेँ । साउन १३ गते मलाई संक्रमण पुष्टि भयो । घर बसेको ५ - ६ दिनपछि मलाई सास फेर्न गाह्राे हुन थाल्यो, टाउको उठाउनै नसक्ने भयो । यति धेरै गाह्राे भयो कि, अब आफू बाँच्दिन जस्तै लाग्यो र परिवारलाई तुरुन्तै अस्पताल लैजान भनेँ ।
यतिधेरै भोक लाग्न थाल्यो कि, खाना ल्याउन अलिकति ढिला हुँदासमेत भोक खप्न नसकेर आँखाबाट आँसु आउँथ्यो ।
कुन अस्पताल जाने, कहाँ जाने भन्ने अलमलमा पर्यौ हामी । अन्त्यमा मलाई सशस्त्र प्रहरीबल अस्पताल बलम्बु लगियो । अस्पताल पुग्दा मलाई संक्रमण पुष्टि भएको कम्तिमा ७ दिन भएको थियो । अस्पतालमा म १८ दिन बस्नुपर्यो । जसमा १३ दिन आइसियुमा बिताएँ । अस्पताल पुगेपछि पनि ३ -४ दिनसम्म त बाँच्ने आशा थिएन, निकै गाह्राे भइरहेको थियो । कोभिडको औषधि छैन भन्ने थाहा भएकाले म स्वास्थ्यकर्मीको निगरानीमा हुँदासमेत धेरै डराइरहेको थिएँ । डाक्टर साबहरुले विभिन्न औषधि र इन्जेक्सन चढाइरहनु भयो ।
आइसियुमा हुँदा स्वास्थ्यकर्मीहरुको हौसलाले मेरो आत्मबल बढ्यो, हरबखत उहाँहरुले मलाई नआत्तिनुस्, तपाइँले कोरोनालाई जित्नुहुन्छ, औषधिले काम गरिरहेको छ, भन्नुहुन्थ्यो । स्वास्थ्यकर्मीहरुको त्यो व्यवहारलाई म शव्दमा वर्णन गर्न सक्दिन । बिस्तारै बिस्तारै मेरो स्वास्थ्य अवस्थामा सुधार आयो ।
आइसियुमा रहेको पाँचौँ दिनपछि भोक लाग्न थाल्यो । यति धेरै भोक लाग्न थाल्यो कि, खाना ल्याउन अलिकति ढिला हुँदासमेत भोक खप्न नसकेर आँखाबाट आँसु आउँथ्यो । अस्पताल बसाइमा धेरै नै भोक सहेको छु । नेपाल सरकारको नियमअनुसार खाना ल्याइन्थ्यो तर हामी खानेकुरा कुर्नै सक्दैन थियौँ । म मात्र होइन मसँगै उपचाररत अरु बिरामीहरु पनि भोक खप्न सक्नुहुन्न थियो ।
मलाई केही रोग थिएन । आफूले आफूलाई स्वस्थ छु भन्ठान्थेँ । देशभर म आफैले गाडी चलाएर यात्रा गर्थें । तर मलाई कोरोनाले गाल्यो, कमजोर बनाएको छ ।
१८ दिनको अस्पतालको बसाइपछि म निको भएर घर फर्किएँ । घरमा पनि म थप १४ /१५ दिन आइसोलेसनमा बसेँ । घरमा आइसकेपछि पौष्टिक आहारहरु खाने नाममा मैले जे पायो त्यही खाएछु । मासु धेरै खाएछु, खानपान नमिल्दा मेरो स्वास्थ्यमा अरु समस्याहरु थपिए।
समाचारहरु सुन्छु, पढ्छु हेर्छु । कोरोना केही होइन सरकारले तर्साइरहेको छ, अत्ताइरहेको छ भन्ने आवाजहरु सुनिन थालेको छ । तर यो सरासर गलत हो । यस्तो भ्रममा नपरौँ । मलाई केही रोग थिएन । आफूले आफूलाई स्वस्थ छु भन्ठान्थेँ । देशभर म आफैले गाडी चलाएर यात्रा गर्थें । तर मलाई कोरोनाले गाल्यो, कमजोर बनाएको छ ।
कोरोना लागेपछि परिवारलाई मानसिक तनाव हुन्छ । अब यो बाँच्दैन भन्ने सोचले परिवारले नराम्रोसँग मानसिक तनाव खेप्नुपर्ने रहेछ । मलाई पनि अस्पतालको गेटमा छिर्नेबेला अब मलाई प्लाष्टिकको थैलोमा बाहिर निकाल्ने हो, अब मेरो परिवारसँगको भेट सकियो भन्ने सोच आएको थियो । मेरो भन्नुको अर्थ, कोरोनालाई हलुका रुपमा नलिऊँ, हेल्चक्र्याइँ नगरौँ । मलाई मेरै हेलचक्र्याइँका कारण संक्रमण भएको भन्ने महसुस भइरहेको छ ।
यतिसम्म कि छिमेकीले तरकारी र दुध ल्यानेलाई समेत यसको घरमा नजानु कोरोना लागेको छ भनेर भनेछन् ।
यदि मैले अरु मानिस चढेको गाडी नचढेको भए, गाडीमै बस्दा पनि मास्क लगाएको भए, २ मिटर कायम गरेको भए मलाई संक्रमण हुँदैन थियो भन्ने लाग्छ । हामीले आनीबानी परिवर्तन गर्नुपर्छ । सरकारले भनेअनुसार स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरौँ ।
समाजकाे नकारात्मक दृष्टिकाेण
छर-छिमेकमा हिँड्दा मलाई कोरोना लागेर थलिएको मान्छे हो भन्छन् । मेरो घरपरिवारका सदस्य बाहिर निस्कँदा पनि यसको घरमा कोरोना लागेको छ भनेर नजिक पनि आउँदैनन् । यतिसम्म कि, छिमेकीले तरकारी र दुध ल्यानेलाई समेत यसको घरमा नजानु कोरोना लागेको छ भनेर भनेछन् ।
हेल्थपाटी
तपाईँको अभिमत