चस्मा लगायो भने आँखा झन कमजोर हुन्छ ? (भिडियो)
पावरवाला चस्मा लगाउँदा आँखा झन कमजोर हुने, बिग्रने तथा पावर झन बढेर जाने विश्वास धेरै व्यक्तिमा रहेको छ । चस्मा सधैँ लगाइराख्दा झन मधुरो देखिने भन्दै एकैछिन मात्र प्रयोग गरेर कतिपयले चस्मा राख्ने गर्छन् । यस्तो विश्वास पढालेखा व्यक्तिमा पनि रहेको पाइन्छ ।
के पावरवाला चस्मा लगाउँदा आँखा झन बिग्रन्छ त ? दृष्टि विशेषज्ञ अस्मिता मादेन त्यसो नहुने बताउनुहुन्छ । बरु चस्मा लगाइएन भने चाहिँ आँखाको पावर झन बढेर जाने उहाँ बताउनुहुन्छ । ‘चस्मा लगाउँदा पावर बढेर जाने, आँखा कमजोर भएर जान्छ भन्ने कुरा भ्रम हो’, उहाँ भन्नुहुन्छ, ‘धमिलो देखेका बेला चस्मा लगाउँछौँ र सफा देख्छौँ । अलि लामो समय लगाएपछि सफा देख्ने बानी परेको हुन्छ । त्यसमा मात्र फरक मानिन्छ ।’
यसैगरी पछिल्लो समय टाढाको देख्न नसक्ने समस्या (मायोपिया) बालबालिकामा बढी देखिने गरेको छ । यस्तो किन भइरहेको छ ? मादेनले केही कारणहरू औँल्याउनुभएको छ ।
पढाइका लागि कोठाभित्र लामो समयसम्म बिताउने, नजिक हेर्ने, मोबाइल वा विभिन्न डिजिटल स्क्रिन नजिकबाट हेर्ने, हरेक क्रियाकलाप घरभित्र वा कोठाभित्रै गर्नेलगायतका कारण बालबालिकामा मायोपिया बढी देखिने गरेको मादेनको भनाइ छ । ‘अहिले बच्चाहरूले धेरैजसो क्रियाकलाप भित्रै गर्छन् । खेल्ने मोबाइलमा, पढ्ने लगायतका हरेक क्रियाकलाप भित्र गर्छन्’, उहाँ भन्नुहुन्छ, ‘यसले गर्दा आँखामा नेचुरल्ली जसरी उज्यालो ठोकिएर छिर्नुपर्ने त्यो मात्रामा छिरेन भने मायोपिया हुन्छ ।’ मायोपिया बालबालिकालाई मात्र नभएर बयस्कलाई पनि हुने उहाँको भनाइ छ । कोठाभित्रै लामो समयसम्म पढ्ने, कम्प्युटरमा लामो समयसम्म एकोहोरो काम गर्ने लगायतका कारण बयस्क व्यक्तिलाई पनि मायोपिया हुने उहाँ बताउनुहुन्छ ।
मायोपिया हुनबाट कसरी जोगिने ?
मायोपिया हुनबाट जोगिन नजिकको काम ३० मिनेटसम्म गरेपछि आँखालाई विश्राम दिनुपर्ने मादेन बताउनुहुन्छ । ‘फेरि यो पनि कोठा उज्यालोको अवस्थामा भरपर्ने हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘कोठाको लाइट कस्तो छ, कतिको परावर्तन भएको छ, हेरिरहेको वस्तु कतिको टल्किएको छ भन्ने कुरामा पनि निर्भर हुन्छ ।’ त्यस्तो बेला ३० मिनेट भन्दा पनि कम समयमै आँखालाई विश्राम दिनुपर्ने अवस्था हुन्छ ।
मादेनका अनुसार मायोपिया हुनबाट जोगाउन बेलाबेला बच्चाको आँखाको परीक्षण गर्ने, बच्चाहरूको पढ्ने वा खेल्ने वातावरण परिवर्तन गर्ने जस्ता कार्य गर्न सकिन्छ । बच्चाहरूलाई कम्तिमा पनि प्रत्येक दिन २ घण्टा बाहिरको वातावरणमा क्रियाकलाप गराउनुपर्ने विश्व स्वास्थ्य संगठनले मापदण्ड बनाएको मादेनले जानकारी दिनुभयो ।
थप जानकारी भिडियोमा हेर्नुहोस्:
प्रस्तुती : सन्तोष निरा

हेल्थपाटी
तपाईँको अभिमत