मनाइयो विश्व अङ्गदान दिवस, सरोकारवाला भन्छन्— अङ्गदान सहज बनाउन कानुन र चेतना आवश्यक
विश्व अङ्गदान दिवस मनाइएको छ । अगस्ट १३ मा विश्वभर मनाइने विश्व अङ्गदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइएको हो ।
यसै अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा विशेष समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले नेपालमा अङ्गदानका लागि कानुन र सचेतना आवश्यक रहेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहज कानुन हुनुपर्ने बताउनुभयो । अङ्गदान गर्न आफन्तले मात्र पाउने हुँदा भावनात्मक रूपले जोडिएका परिवारले दिन नमिल्ने अवस्था रहेको उहाँको भनाइ थियो । जसले गर्दा कतिपयको मृत्युसमेत भएको सुनिएको बताउनुभयो ।

मन्त्री पौडेलले अङ्गदानलाई “पुण्यको काम” भन्दै सबै धर्मले यसलाई स्वीकार गरेको बताउनुभयो ।
“आफू मरेर अरूलाई बचाउनुपर्छ भन्ने मानवीय मूल्य हामी सबैमा हुनुपर्छ। नेपालमा मानव अङ्ग प्रत्यारोपणको दर अझै २० प्रतिशतभन्दा तल छ। प्रत्यारोपणका लागि क्षमता तीन गुणा बढाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार ब्रेन डेथपश्चात अङ्गदानका लागि कानुनलाई सरल बनाउन र धार्मिक विश्वासका कारण हुने अवरोधलाई सचेतनाबाट हटाउन जरुरी छ । साथै, सरकारी अस्पतालहरूले भरपर्दो उपचार सेवा दिन सक्षम भएको उदाहरणका रूपमा प्रत्यारोपण केन्द्रको प्रशंसा गर्दै, यस संस्थामा विश्वासका कारण धेरै बिरामी आएको उल्लेख गर्नुभयो ।

सांसद प्रेम सुवालले अङ्ग बेच्ने प्रवृत्ति र डिम्ब व्यापारजस्ता अनैतिक गतिविधिको अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा दरबन्दी खोल्नुपर्ने र यसबाट नेपाली युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सकिने बताउनुभयो।
उहाँले सबैलाई मरेर जाँदा अङ्गदान गर्न पनि आग्रह गर्नभयो ।
सांसद दुर्लभ थापाले ब्रेन डेथपश्चात अङ्गदान गर्ने साहस देखाउनेहरूलाई सम्मान गर्दै आफू पनि अङ्गदान गर्न तयार रहेको घोषणा गर्नुभयो। उहाँले उपचारका लागि लामो प्रतिक्षा सूचीको अन्त्य गर्न आवश्यक सुधार गर्नुपर्नेमा जोड दिनुभयो।

उपयुक्त भवन भए ५०० प्रतिशत थप सेवा दिन केन्द्र सक्षम छ : डा. श्रेष्ठ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले केन्द्रका एक इन्च पनि भवन नभएको र उपयुक्त भवन भएमा केन्द्र स्वयम्ले ५०० बेडको भवन बनाई ५०० प्रतिशत थप सेवा दिन सक्षम रहेको दाबी गर्नुभयो । हालसम्म अरूकै स्थानमा बाध्य भएर खुम्चिएर सेवा दिइरहनुपरेको दुखेसो समेत उहाँले गर्नुभयो । केन्द्रको सेवा विस्तारका लागि पायक पर्ने उपयुक्त स्थानमा चाँडै जग्गा उपलब्ध गराउन सम्बन्धित सबैलाई उहाँले आग्रह गर्नुभयो ।
डा. श्रेष्ठका अनुसार, केन्द्रमा हालसम्म भएको करिब १,५०० मिर्गौला प्रत्यारोपणमध्ये ९८ प्रतिशत सफल भएको र डायलाइसिसमा बस्नेहरूको ९५ प्रतिशत जीवित रहेको पाइन्छ। कलेजो प्रत्यारोपणमा पनि ९३ प्रतिशत सफलता हासिल भएको छ।
यस वर्षको विश्व अङ्गदान दिवसको नारामा जात, धर्म, वर्गको भेदभाव नगरी अङ्गदानलाई प्राथमिकतामा राख्न आह्वान गरिएको डा. श्रेष्ठले बताउनुभयो । उहाँले कानुनी सुधार, चेतना विस्तार र संरचनागत क्षमता अभिवृद्धिबाट नेपालमा अङ्ग प्रत्यारोपणको माग र आपूर्तिको खाडल घटाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको उद्देश्य अङ्गदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु, भ्रम र दुश्प्रचार कम गर्नु तथा सबैलाई अङ्गदान गर्न प्रोत्साहित गर्नु रहेको डा. श्रेष्ठले बताउनुभयो । नेपालमा हरेक वर्ष करिब ३,००० जनाको मिर्गौला र १,००० जनाको कलेजो फेल हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै अङ्ग नपाएर धेरैले ज्यान गुमाउनुपर्ने अवस्थालाई अङ्गदानबाट कम गर्न सकिने विश्वास उहाँको छ ।
ब्रेन डेथबाट अङ्गबाट प्रत्यारोपण निकै कम
केन्द्रका प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठका अनुसार, पश्चिमी मुलुकमा ब्रेन डेथपश्चात प्राप्त अङ्गबाट ८० प्रतिशतभन्दा बढी प्रत्यारोपण हुने गरे पनि एशियाली देशमा यो दर निकै कम छ।

प्रत्यारोपण प्राप्तकर्ताका अनुभव
इन्द्रप्रसाद सिटौलाले श्रीमतीलाई अङ्गदान गरेको अनुभव सुनाउनुहुँदै श्रीमान्–श्रीमती बराबर भएको बताउनुभयो । आफूले श्रीमतीलाई मिर्गौला दान गर्दा गर्व महसुस भएको सुनाउनुभयो । तर समाजमा श्रीमान्-श्रीमतीबिच भेदभावको दृष्टि रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

'श्रीमतीले श्रीमानलाई अङ्ग दिँदा उनको दायित्त्व हुने श्रीमानले श्रीमतीलाई दिँदा श्रीमानको महानता सोच्ने समाज हो हाम्रो', उहाँले भन्नुभयो, 'दानलाई लिङ्गका आधारमा भिन्न रूपमा नहेर्नुहोस् । श्रीमान्-श्रीमती बराबर हो ।'
ब्रेन डेथपश्चात अङ्ग पाउनुभएका शिव महर्जनले दोस्रो जीवन पाएको अनुभूति व्यक्त गर्दै सबैलाई अङ्गदानको आग्रह गर्नुभयो ।


हेल्थपाटी
तपाईँको अभिमत