नेपालमा फिजियोथेरापिस्टका लागि सोचे भन्दा राम्रो अवसर छ (भिडियो)
अन्य उपचार जस्तै फिजियोथेरापी उपचारको महत्व दिनदिनै बढ्दै गइरहेको छ। नेपालमा फिजियोथेरापी क्षेत्रको राम्रो पक्ष के छन् ? चुनौती के छन् ? यो विषय अध्ययन गरिरहेका विद्यार्थीको भविष्य कस्तो होला ?
यसबारे हामीले नेपाल फिजियोथेरापी संघका महासचिव विनय कँडेलसँग कुराकानी गरेका छौँ ।
सबल पक्ष
नेपालमा फिजियोथेरापी क्षेत्रको सबल पक्ष एकदमै धेरै छ। मेरा १० वर्षको कार्यावधिमा फिजियोथेरापीले निकै फड्को मारेको छ। जस्तो हाम्रो पालामा नेपालमा पढ्न पाइँदैनथ्यो। अहिले यहीँ पढ्ने व्यवस्था छ। स्नातक मात्र नभएर स्नातकोत्तरसम्म पनि नेपालमा पढाइ सुरु भइसकेको छ।
जनशक्तिको हिसाबले नेपालमा अहिले करिब ३ हजार फिजियोथेरापिस्ट स्वास्थ्य व्यवसायी परिषदमा दर्ता छन्। फिजियोथेरापिस्टहरुले जागिर मात्रै नगरेर यसमा व्यवसाय गर्न थालेका छन्।
रोजगारीका नयाँ क्षेत्रमा पनि फिजियोथेरापिस्टको संलग्न हुन थालेका छन्। जस्तो खेलकुदमा, अहिले आएर महिला स्वास्थ्यमा पनि संलग्न छन्।
एकेडेमिक क्षेत्र पनि रोजगारीको राम्रो गनतव्य बनिरहेको छ। दुर दराजमा पनि फिजियोथेरापी सेवा सुरु भइसकेको छ। उदाहरणका लागि भन्नु पर्दा अहिले कर्णालीका १० वटै जिल्लामा फिजियोथेरापी सेवा छ। त्यहाँका जनताले पनि सेवा पाइरहेका छन्।
दुर्बल पक्ष
यस क्षेत्रको दुर्बल पक्ष भनेको जनशक्ति बाहिरिने समस्या छ। यो चाहिँ फिजियोथेरापिस्टको मात्रै भन्दा पनि सबै क्षेत्रको आम समस्या हो। यो चुनौती हो। फिजियोथेरापी पढाउने विभिन्न कलेज भएपनि नेपाल सरकार मातहतको कलेज अझै नहुनु यो चाहिँ एउटा बिडम्बना नै हो।
त्यसपछि अहिले थेरापीको नाममा विभिन्न गैरफिजियोथेरापी बजारमा गरिन्छ। यो पनि निकै ठूलो चुनौतीकै विषय हो।
कतै फिजियोथेरापी सेवा सञ्चाचन भइरहेको छ भने सेवा दिने व्यक्तिको पृष्ठभूमि फिजियोथेरापी हो कि होइन ? उनीहरुले कस्तो सेवा दिन्छन् ? विशेषज्ञता छकि छैन भन्नेमा आम व्यक्ति सचेत हुनु आवश्यक छ।
यो विषय पढ्दै गरेको विद्यार्थीको भविष्य कत्तिको उज्ज्वल छ ?
यसमा आफैँलाई उदाहरणको रुपमा लिन्छु । १० वर्ष पहिला मास्डर डिग्री गरेर आएँ। त्यति खेर फिजियोथेरापी सेवाको राम्रो अवसर नेपालमा थिएन। म आफैँ पनि विदेशिने कि नेपालमै बस्ने दुविधामा थिएँ। ग्राण्डीमा १ वर्ष काम गरेँ। ५ वर्ष धुलिखेल अस्पतालमा काम गरेँ। त्यसपछि २०७८ सालमा नेपाल सरकारको फिजियोथेरापीे उप–प्रमुख नवौँ तहमा प्रवेश गरेर सेवा सुरू गरेँ।
नेपाल सरकारले पनि अहिले विशेषज्ञताका आधारमा आवश्यक ठानेर फिजियोथेरापिस्टको दरबन्दी खोल्ने काम गरेको छ। निजी क्षेत्रले पनि विशेषज्ञता अनुसारको रोजगार दिने गरेका छन्।
त्यो बाहेक विभिन्न एकेडेमिक, कर्पाेरेर्ट अस्पतालहरु, स्पोर्ट क्लब लगायत विभिन्न ठाउँमा फिजियोथेरापिस्टको माग भइरहेको छ। यसो हुँदा निराशा हुने कुनै ठाउँ छँदै छैन।
सोचेको भन्दा पनि राम्रो अवस्था छ रोजगारीको हिसाबले नेपालमा।
यो क्षेत्रमा सुधार गर्नुपर्ने कुरा के-के हुन् ?
पठनपाठनको कुरा गर्नुपर्दा अहिले नेपालमा ५ वटा स्नातक तहको कलेज र एउटा स्नातकोत्तर तहको कलेज त्यो पनि सीमित सिट र निजी संस्थाहरू छन्। यसमा सरकारी संस्थाले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, ब्याच्लर गरेकालाई मास्टर गर्न सहज बनाउने, फेलोसिप दिने जस्तो कुरा नितान्त आवश्यक छन्।
मेरो व्यक्तिगत र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को तर्फबाट पनि हामीले स्नातकोत्तर तह कार्यक्रम सञ्चालनका लागि विभिन्न प्रस्तावहरु पेश गरेका छौँ।
न्याम्सको भावी कार्यक्रममा पनि यी कुरा समावेश गराएका छौँ, ताकि नेपाल सरकारको स्वामित्वमा विद्यार्थीले फिजियोथेरापीको उच्च शिक्षा नेपालमा नै लिन पाउनु भनरे हामी लागिरहेका छौँ।

हेल्थपाटी
तपाईँको अभिमत