दीर्घरोगीलाई सुविधा बढाउने क्षमता राज्यको छैन : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले दीर्घरोगीहरूलाई दिइने सुविधा वृद्धि गर्न नसकिने बताउनुभयो । बुधबार राजधानीमा विश्व मिर्गौला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राज्यको क्षमता नभएको भन्दै थप सुविधा दिन नसकिने बताउनुभएको हो ।
‘तपाईँहरू भनिरहनुहुन्छ मिर्गौला पीडित तथा दीर्घरोगीलाई सुविधा बढाउनुप¥यो भनेर, बढाउन सकिदैन । राज्यको क्षमता नै नभएपछि जति भने पनि कसरी सकिन्छ ? यो जिम्मेवार भएर भनेको हो’, उहाँले भन्नुभयो, ‘त्यसकारण सबभन्दा राम्रो उपाय भनेको स्वस्थ मिर्गौलामा समस्या आउन नदिने हो । त्यसको लागि मिर्गौलाधारी नै सचेत हुनुपर्छ । मिर्गौला बिग्रिन नदिने उपाय उसलाई थाहा हुनुपर्छ ।’
मन्त्री पौडेलले मान्छेको चिन्तन, खानपान तथा व्यवहारका कारण मिर्गौला एवम् अन्य दीर्घरोगहरू बढिरहेको बताउनुभयो । ‘मिर्गौला रोग जानेर त लागेको हुँदैन । भगवान मेरो मिर्गौला बिगारिदेऊ भनेर त कोही कसैले प्रार्थना गरेको हुँदैन’, उहाँले भन्नुभयो, ‘नचाहँदा नचाहँदै पनि मिर्गौलामा समस्या हुन्छ । त्यसको कारण भनेको उसले गर्ने व्यवहार, उसले खाने तरिका, उसले गुजार्ने दैनिकी, उसले सोच्ने तथा चिन्तन गर्ने तौर तरिकाले मिर्गौलामा समस्या पर्छ ।’ मिर्गौला जोगाउने उपाय हरेक व्यक्तिले जान्न जरुरी भएको उहाँको भनाइ छ । त्यसैले मिर्गौलाको समस्या नै हुन नदिन चेतना अभिवृद्धि गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
‘दिवसका अवसरमा पनि चेतना अभिवृद्धि गर्न सकिन्छ । विद्यालयको पाठ्यपुस्तकमा समावेश गरेर गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।
तपाईँको अभिमत