एचआइभी संक्रमित भनेपछि डाक्टरले नै अस्पतालबाट निकालिदिए
संघर्षले समाजमा स्थापित हुनुभएकी निर्मला
काठमाडौ । पूर्वी नवलपरासीको गैडामकोट ३ ढोडेनीमा २०३९ सालमा जन्मनुभएकी निर्मला पौडेलले जीवनमा आफुले कल्पनासमेत नगरेको घटनाको सामना गर्नुपर्यो ।
अरुले गरेको गल्तिको सजाय निर्मलाले भोग्नुपर्यो । बालकैमा बाबु गुमाएका कारण निर्मलाले चार कक्षाबाटै अध्ययनको बिट मार्नुपर्यो भने कलिलै उमेरमा नै निर्मलाको परिवारले उहाँको विवाह गरिदिए । गैडाकोटकै २५ वर्षिय एकनाथ पौडेलसँग बालविवाह हुनु नै निर्मलाको लागि बज्रपात आइलागेको थियो ।
विवाह पछि निर्मलाले हरेक दिनजसो श्रीमान्बाट हिंसा, कुटपिट र ज्यादती सहनपर्यो । तर केही समयपछि श्रीमान्को स्वास्थय अवस्था विग्रदै गएपछि उपचारका लागि उहाँले अस्पताल पुरयाउनुभयो । अस्पताल पुगेपछि निर्मललाई थाहा भयो कि श्रीमान्लाई मानसिक सम्बन्धि समस्या छ भनेर ।
निर्मलाले डाक्टरको परामर्श अनुसार श्रीमान्को उपचारलाई निरन्तरता राख्नुभयो र निर्मलाको स्यारसुसारले उहाँको श्रीमान्को मानसिक स्वास्थ्यमा केही सुधार पनि आयो । तर स्वास्थ्यमा अर्काे समस्या पनि थपिदै थियो, घरीघरी ज्वरो आउने, पखाला लाग्ने जस्ता समस्या निर्मलाकी श्रीमान्लाई देखिन थाल्यो ।
पहिलानै श्रीमान्को स्वास्थ्यमा सुधार ल्याउन दिनरात कसरत गरिरहनुभएकी निर्मलाका लागि श्रीमान्का स्वास्थ्यमा एकपछि अर्काे गर्दै समस्या थपिनु निकै पीडादायी समय थियो । उहाँले भएका गरगहना, पेवापात सबै बेचेर श्रीमान्को उपचारमा खर्चनुभयो । निर्मलाको भएभरको सबै जायजेथा रित्तियो तर श्रीमान्को समस्या बीसबाट उन्नाइस भएन ।
पटक–पटक स्वास्थ्य परीक्षण गर्दा सुधारोरनमुख नदेखिएपछि डाक्टरले एचआइभी परीक्षण गर्न सिफारिस गर्नुभयो, निर्मलाको श्रीमान्लाई एचआइभी भएको पुष्टि भयो । श्रीमान्लाई एचआइभी भएको निक्र्याैल भएपछि डाक्टरले निर्मलालाई पनि एचआइभी परीक्षण गराउन सुझाउनुभयो ।
भरतपुर अस्पतालमा गरिएको सुरुको परीक्षणमा निर्मलाको एचआइभी रिपोर्ट नेगेटिभ देखियो । त्यो रिपोर्टले निर्मललाई नयाँ जीवन पाएझै भयो तर त्यो खुशी निर्मलाको लागि क्षणिक बन्न पुग्यो । डाक्टरले पुन परीक्षणका लागि निर्मलालाई काठमाडौंस्थित टेकू पठाउनुभयो ।
२०५६ सालको कुरा हो, सुरुको रिपोर्ट नेगेटिभ आएकाले यसपटकको रिपोर्ट पनि उस्तै नै आउनेमा विश्वस्त हुनुन्थ्यो निर्मला । गर्भमा ६ महिनाको शिशु बोकेर परीक्षणका लागि टेकु पुग्नुभएकी निर्मलाको होस हवासै उड्यो पहिला नेगेटिभ देखिएपनि रिपोर्ट त पोजेटिभ आयो । निर्मलाको संसारनै उजाडियो । रिपोर्ट थाहा पाएपछि लल्याक–लुलुक हुनुभयो । बेहोसीमै निर्मला काठमाडौंदेखि गैडाकोट आइपुग्नुभयो ।
केही दिनमै उहाँको श्रीमानको मृत्यु भयो । गर्भमा रहेको शिशु जन्मन नपाउदै टुहुरो भयो,गर्भवती अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाह र स्याहार–सुसारको आवश्यक पर्दछ । गर्भवती हुँदा एक्लोपनको पीडा खेप्नुपरेकी निर्मलाले समाजको छि–छि दुरदुर खेप्नुपर्यो ।
परिवार र समाजबाट बिल्कुलै एक्ली हुनुभएकी निर्मलाले निराश हुँदा पटक–पटक आत्महत्याको सोचसमेत बनाउनुभयो तर गर्भमा रहेको शिशुको हल्चलले उहाँलाई आत्महत्या गर्नबाट जोगायो, जीवन जीउन सिकायो भने समाजसँग लडेर अघि बढ्न उत्साह दिलायो ।
यसक्रममा उहाँलाई एचआईभीको क्षेत्रमा काम गर्ने त्रिनेत्र नामक एक संस्थाले साथ दियो । त्यहि संस्थाका कर्मचारी तथा स्वयंसेवकले उहाँलाई घर र माईतीको अभाव पुरा गरिदिए । गर्भवती अवस्थामा त्यहि संस्थाले हेरचाह गरिदियो ।
सुत्केरी व्यथाले च्यापेपछि अस्पताल पुर्याइएकी निर्मला एचआइभी संक्रमित रहेको थाहा पाएपछि डाक्टरको व्यवहारमासमेत परिवर्तन आयो । केहि समय अगाडीसम्म भद्र व्यवहार गरिरहेका डाक्टरले संक्रमित भएको थाहा पाउने बित्तिकै अस्पतालबाट निर्मललाई निकालि दिए ।
छुदैमा, सँगै बस्दैमा एचआईभी सर्दैन भन्दै एचआइभीबारे सचेतनाको भाषण दिदै हिड्ने डाक्टरको व्यवहारले निर्मललाई थप पीडित बनायो । उहाँले छोरा जन्माउनुभयो, छोरोको रिपोर्ट एचआइभी नेगेटिभ थियो । उहाँले छोराको नाम गणेश राख्नुभयो ।
गर्भवती देखि सुत्केरी हुँदा सम्म ,सामान्य व्यक्तिदेखि डाक्टरसम्मको व्यवहारले समाज कता छ भन्ने झल्को दिएको थियो । एचआइभी संक्रमितप्रति हेर्ने समाजको दृष्टिकोण बदल्न अहिले निर्मला एचआइभीबारे सचेतना कार्यक्रम गर्दै हिड्नुहुन्छ ।
वि.सं. २०५६ सालमा त्रिनेत्र नेपालबाट शुरु भएको निर्मलाको यात्रा माईती नेपालमा परामर्शदाता, सक्रिय समुह चितवनको सस्थापक अध्यक्ष, राष्ट्रिय एचआईभी एड्स महासंघ काठमाण्डौको केन्द्रिय उपाध्यक्ष, सिसिएम बोर्ड सदस्य हुदै अहिले लुम्बिनि प्लसमा पुगेको छ । उहाँ एचआईभी संक्रमित हुनुलाई जीवनको अन्त्य नभई सिर्जनशिल र चुनौतीपूर्ण जीवनको सुरुवात मान्नुहुन्छ ।
गाउँ–गाउँमा पुगेर लुकेर बसेका संक्रमितहरुलाई सहयोग गर्ने, उत्प्रेरणा दिने, अन्य व्यक्तिलाई सम्झाउने जस्ता काममा उहाँको दिनचर्या बित्ने गर्दछ । उहाँलाई नवलपरासीमा एचआईभी संक्रमितको एक बलियो साहारा र भरोसाको रुपमा लिईन्छ । कुनै बेला आफै बेसाहारा हुनुभएकी निर्मला अहिले सयौ संक्रमितको एकमात्र साहारा बन्नुभएको छ ।
उहाँ अहिले एचआईभी संक्रमीत बालबालिकाहरुलाई आवास सहितको शिक्षाका लागी सहयोग जुटाउने अभियानमा हुनुहुन्छ ।
एचआइभीको क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदर स्वरुप २०५९ मा थाईल्याण्डमा एचआइभी संक्रमितहरुको संजालले निर्मलालाई सम्मान गर्यो । यसैगरी बि.स २०६०, २०६१, २०६६, २०६८ र २०६९ सालमा राष्टियस्तरका विभिन्न संघ संस्थाले उनलाई सम्मान गरेका छन् । यस्तै राष्टिय युवा परीषदको युवा प्रतिभा सम्मानबाट समेत उहाँ पुरस्कृत हुनुभएको छ ।
संघर्षले निर्मलालाई समाजमा स्थापित मात्र गराएन बलियो पहिचानसमेत बनाएको छ । उहाँ भन्नुहुन्छ,मेरो जीवनको अनुभवले भन्छ दुखमा नआत्तिकन आफ्नो जिम्मेवारी पुरा गर्यो भने समाजलाई हामीले चाहे जस्तै बनाउन सक्छौ ।
विगत २२ बर्ष देखि म शरीरमा एचआइभीको भाईरस बोकेर हिडेकी छु तर म थाकेको छैन उहाँ भन्नुहुन्छ बाचुञ्जेल एचआइभीको क्षेत्रमा संक्रमितका लागि काम गर्नेछु । अहिले छोरा गणेश पनि २२ बर्षको हुनुभएको छ । कक्षा १२ को परीक्षा पास गरेका गणेश पनि आमाको हरेक कामलाई साथ दिने गर्नुहुन्छ ।
प्रकाश बस्याल
तपाईँको अभिमत