मेडिसिटी अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल
ललितपुरको नक्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । कास्की, पोखरा निवासी ५६ वर्षीय ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण सफल भएको हो ।
उहाँको कलेजो जेठ ८ गते प्रत्यारोपण गरिएको हो । उहाँलाई २६ वर्षीय छोरा आयुष कीर्कीले कलेजो दान गर्नुभएको हो ।
अस्पतालका अनुसार १३ घण्टा लगाएर प्रत्यारोपण गरिएको थियो ।
कलेजो प्रत्यारोपणका लागि भारतको परोपकारी अस्पताल अमृता अस्पतालले सहकार्य गरेको थियो । सो अस्पतालबाट चिकित्सक टोली आएको थियो । कलेजो प्रत्यारोपणलाई संसारमै अति जटिल मानिन्छ ।
कलेजो दाता आयुष कार्कीका अनुसार परिवारले यसअघि दुई पटक भारत गएर प्रत्यारोपणको प्रयास गरेका थिए । तर त्यहाँ सफल नहुने भएपछि नेपालमै फर्किएर जसरी पनि प्रत्यारोपण गर्ने प्रयास गर्दै जाँदा सफल भएको बताउनुभयो ।
कार्कीले आफूले अङ्ग दान गरेपछि जन्मिनुको अर्थ बोध गरेको अनुभूति बताउनुभयो । ‘जन्मिएको त पहिले नै थाहा पाएको थिएँ’, उहाँले भन्नुभयो, ‘किन जन्मिएँ, कलेजो दान गरेपछि थाहा बुझेँ ।’
उहाँले मेडिसिटीका चिकित्सकले आफूहरूलाई आफन्तझैँ ठानेर उपचारमा हरबखत तल्लिन भएको बताउनुभयो । त्यसले गर्दा आफूहरूमा आत्मविश्वास र चिकित्सकप्रति भरोसा झन भएको सुनाउनुभयो । उहाँले आफ्नो अङ्गले अरूको अमूल्य जीवन बाँच्छ भने अङ्गदानबारे सबैलाई एकपटक सोच्नु अनुरोध गर्नुभयो ।
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले कलेजोको सफल प्रत्यारोपणले अब नेपालीहरुलाई कलेजो प्रत्यारोपणका लागि विदेश धाउनुपर्ने बाध्यता हटाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाललाई मेडिकल हबका रूपमा स्थापित गर्ने हेतुले अस्पताल खोलिएको र त्यसमा यो सफलताले जग बसालेको बताउनुभयो । यद्यपि मेडिसिटीले मात्र सफलता प्राप्त गरेर हब नबन्ने भन्नुहुँदै उहाँले अन्य थुप्रै अस्पतालमा यस किसिमको सफलता हुनुपर्ने बताउनुभयो ।
‘एउटा उपेन्द्र महतोले मेडिसिटी बनाएर मात्र मेडिकल हब बन्दैन’, उहाँले भन्नुभयो, ‘धेरै यस्ता अस्पतालहरू हुनुपर्छ । यस्ता उपेन्द्र महतोहरू धेरै जना हुनुपर्छ ।’
ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख डा. उमिदकुमार श्रेष्ठका अनुसार बिरामी ईश्वरबहादुर कार्कीको कलेजो मात्र होइन, मिर्गौलासमेत बिग्रिएको थियो ।
‘पेटमा पानी जम्ने, बेला बेलामा होस हराउने, रगत बान्ता हुने र बेहोस् हुने जस्ता समस्यासँगै मिर्गौलाले काम गर्न छाडेको थियो,’ डा. श्रेष्ठले सुनाउनुभयो । जटिल अवस्थाको बिरामीको सफल प्रत्यारोपण गरिएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । आफूहरूलाई विश्वास गरेर प्रत्यारोपण गर्न तयार हुनुभएका बिरामी, दानकर्ता तथा आफन्तहरूलाई उहाँले धन्यवाद दिनुभयो । उहाँले ६ वर्ष अघि नै कलेजो प्रत्यारोपणका लागि अनुमति मागेपछि ६ महिना अघि मात्र अस्पताललाई लाइसेन्स प्राप्त भएको जानकारी दिनुभयो ।
ब्रेन डेथ अङ्ग प्रत्यारोपणलाई तीव्र बनाऔँ : प्रा. डा. शर्मा ढकाल
शल्य चिकित्सक प्रा. डा. सुनिलकुमार शर्मा ढकालले जिवित व्यक्तिबाट अङ्ग प्रत्यारोपण गर्नुभन्दा ब्रेन डेथ (मस्तिष्क मृत्यु)बाट प्रत्यारोपण गर्न सहज हुने बताउनुभयो । ब्रेन डेथबाट अङ्ग प्रत्यारोपणलाई तीव्र पार्नुपर्ने पनि बताउनुभयो । उहाँले ब्रेन डेथबाट अङ्ग प्रत्यारोपण कार्य दीर्घकालीन हुनसक्ने जिकीरसमेत गर्नुभयो ।
वार्षिक ७० जना नेपाली कलेजो प्रत्यारोपणका लागि भारत जान्छन् : डा. साह
कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले वार्षिक ७० जना बराबर कलेजो प्रत्यारोपणका लागि भारत जाने गरेको बताउनुभयो । भारतमा नेपालमा भन्दा धेरै महङ्गो हुने भएपनि नेपालमा प्रत्यारोपण सहज नहुँदा भारत जाने गरेको बताउनुभयो । मेडिसिटीले पाएको सफलताले विदेश जानुपर्ने बाध्यताबाट रोक्ने उहाँको भनाइ थियो । उहाँका अनुसार नेपालमा करिब २०० जनाको वार्षिक रूपमा कलेजो प्रत्यारेपण गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत