‘लागत पुँजी कम हुने गरी राज्यले नीति ल्याउनुपर्यो’
देउराली–जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले नेपालमा लगानीमैत्री नीति नरहेको भन्दै सुधार गर्न आग्रह गर्नुभयो । नीतिकै कारण लागत बढ्ने जसले गर्दा लगातीकर्ता र उपभोक्तालाई मार परिरहेको बताउनुभयो ।
फर्मास्यूटिकल्सको ३५औं वार्षिकोत्सवका अवसरमा पत्रकारसँगको भेटघाटमा उहाँले लागत पुँजी कम हुने गरी राज्यले नीति बनाउनुपर्ने बताउनुभयो । ‘उद्योगमा लगानीमैत्री नीति छैन’, उहाँले भन्नुभयो, ‘लागत पुँजी कम हुने गरी राज्यले नीति ल्याउनुपर्यो ।’
शर्माले हरेक ‘पाइला पाइलामा सास्ती’ खेप्नुपरेको दुखेसो गर्नुभयो । उद्योगको नक्सा पास गर्न जाँदा पालिकामा चर्को शुल्क तिर्नुपर्ने, फाइल अड्काउने, समयमा सरकारले निर्णय नगर्नेलगायतका कयौँ उल्झन रहेको बताउनुभयो । यस्ता उल्झनले लगानीकर्ताहरूमा नैराश्यता आएको उहाँको भनाइ थियो ।
सहज र सुलभ बनाउनका लागि सहजीकरण गरिनुपर्ने शर्माले बताउनुभयो ।
करिब पाँच अर्ब लगानी थप्दै
देउराली–जनता फर्मास्यूटिकल्सले करिब पाँच अर्ब लगानी थप्ने भएको छ । ४ अर्ब ७५ करोड लगानीमा नयाँ कारखाना बनाउन लागेको हो ।
चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक कारखाना निर्माण गर्न लागिएको पत्रकार भेटघाटमा बताइएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सो लगानी गर्न लागिएको बताइएको छ ।
कारखाना निर्माणपछि ५५० जनाले प्रत्यक्ष रोजगारी पाउन सक्ने कार्यकारी निर्देशक शर्माले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत