प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारबाट फर्किएका श्रमिकलाई निःशुल्क ओपीडी सेवा सुरु (भिडियो)
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारबाट फर्किएकाको निःशुल्क ओपीडी सेवा सुरु भएको छ । केन्द्रको १३औँ स्थापना दिवसका अवसरमा सेवा सुरु गरिएको हो ।
बिहीबार सेवाको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले गर्नुभयो ।
सेवालाई चरणवद्ध विस्तार गर्दै लगिने छ । केन्द्रकी मिर्गौलारोग विभागकी प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठका अनुसार पहिलो चरणमा ओपीडी सेवा निःशुल्क प्रदान गरिनेछ । साथै परामर्शसमेत दिइनेछ । त्यसपछि सेवालाई चरणवद्ध निःशुल्क गर्दै लगिनेछ । ‘हामीले अहिले चाहिँ ओपीडी सेवा निःशुल्क दिने भनेका छौँ । पछि यसमा जाँचलगायतका कुरा निःशुल्क गर्दै चरणवद्ध रूपमा गर्नेछौँ’, डा. श्रेष्ठले भन्नुभयो, ‘वैदेशिक रोजगारमा गएर फर्कनुभएका श्रमिकको मिर्गौला बिग्रेको हुनसक्छ । यहाँ आएर जाँच गर्दा समयमै पत्ता लागोस् भनेर यो गर्न लागेका हौँ ।’

कतिपयलाई सरकारले मिर्गौलारोगीलाई के कति सहयोग वा सहुलियत दिइरहेको छ भन्ने कुरा पनि थाहा नभएको भन्दै त्यसको जानकारी दिन पनि सेवा सुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘वैदेशिक रोगारमा गएका धेरै श्रमिकलाई साढे सात लाखको स्वास्थ्य बीमा पाइन्छ भन्ने कुरा पनि थाहा नभएको रहेछ’, उहाँले भन्नुभयो, ‘त्यो सुविधा कसरी प्राप्त गर्न सकिन्छ, कुन अवस्था पाउन सकिन्छ भन्ने कुरा जानकारी दिन पनि यो सेवा सुरु गरिएको हो ।’
वैदेशिक रोजगार विभागबाट बीमामार्फत् मिर्गौला फेल भएमा ७ लाख ५० हजार श्रमिकले पाउने व्यवस्था रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत