स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८औं विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले विद्यमान स्वास्थ्य चुनौतीले सामाना गर्ने नवीन समाधानको खोजी गरिरहेको भन्दै यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्वपूर्ण देखिएको उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दरिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि संगठनले गरेको सम्झौताको स्वागत गर्नुभयो ।
मन्त्री पौडेलले यसका लागि सदस्यहरुबीच बलियो सहकार्यका लागि आह्वान समेत गर्नुभयो ।
जलवायु परिवर्तनको स्वास्थ्यमा प्रभावबारे ध्यानाकर्षण
नेपालसामु बढिरहेको वृद्ध जनसङ्ख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि आग्रह मन्त्री पौडेलले आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण समेत नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको प्रसँग उठाउनुभयो । ‘जलवायु परिवर्तनका कारण हाम्रो स्वास्थ्य क्षेत्रमा गम्भीर असर छ’, उहाँले भन्नुभयो, ‘हामीले सगरमाथा सम्वादका माध्यमबाट विश्वको ध्यानाकर्षण गरायौँ ।’ मन्त्री पौडेलले जलवायु स्वास्थ्य विषयमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समेत घोषणा गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत