म नेपाली नभएको भए यो अवार्ड पहिल्यै पाउथेँ होला

अवार्ड पाएको कुरा हिजो मैले पहिलो पटक थाहा पाउँदा कस्तो फिलिङ गरेँ त्यो म यहाँ सेयर गर्नै सक्दिन ।
यत्रो ठूलो अवार्ड पाएको सुन्दा एकछिन त विश्वास नै गर्न सकिन । एकदमै खुसीको अनुभूति भयो । कसलाई भनौँ कसलाई भनौँ जस्तो खसखस भयो ।
के चाँही लाग्यो भने-मेरो ३०-३५ वर्षको कर्म र एकोहोरो काम गराइको केही मात्रामा मूल्याकन संसारले गर्दो रहेछ ।
यस्तो खालको विश्वव्यापी अवार्ड नेपालीले पाउँदा नेपालले पनि यस्तो गर्दारहेछ भन्ने संसारले थाहा पाउने भयो । अर्को कुरा मैले आफैँले पनि चाहेको खोजेको तिलगंगामा काम गर्ने सहपाठीका साथै नेपालकै आत्मसम्मान, प्रतिष्ठालाई पनि यसले माथि पुयाउने काम गरेको छ ।
सबैभन्दा पहिलो चक्कु चलाउन थालेदेखि अहिलेसम्म ३५ वर्ष पुग्यो । यो मेरो पूरा जीवनकै कमाइ हो । यो मेरो आफ्नो जिन्दगीको तपस्याको फलको हो यो ।
यस्तो अवार्ड पाउनका लागि नेपालीहरुले विदेशीले भन्दा दुई गुणा, तीन गुणा मेहनत गर्नुपर्छ। मैले पहिला नै पाउथेँ होला यो अवार्ड सायद नेपाली भएकाले ढिलो भयो ।
आँखा उपचारको क्षेत्रमा नेपाली पनि अब्बल छन् भन्ने कुरामा कुनै दुविधा छैन । यो पक्का नै हो । अन्धोपन निवारणका लागि नेपालीले अपनाएको प्रणाली र भूमिकालाई यो अवार्डले स्थापित गराएको छ ।
यसले विश्वव्यापी रुपमा अन्धोपनको बारेमा जनमानसमा जागरुकता बनाउने काम गरेको छ ।
नेपाल भन्दामाथि उठेर यसरी अन्धोपन निवारण गरिँदो रहेछ भनेर अरु देशमा पनि अन्धोपन निवारणका लागि मार्गदर्शन बन्ने देखिन्छ ।
यो कस्तो अवार्ड हो ?
यो अवार्डबारे मैले पनि भर्खरै हिजो अलिअलि बुझेँ । मैले बुझे अनुसार यसमा ४-५ तहको छनोट प्रक्रिया हुन्छ । यसका जुरीहरु अन्तर्राष्टिय विज्ञहरू रहनुहुँदो रहेछ । युरोप, अस्ट्रेलिया र बहराइनकै विज्ञ गरी ८-९ जनानको जुरीको टिमले अन्तिममा ५ वटा कि ६ वटा संस्था तथा व्यक्तिलाई सर्ट लिस्ट गर्यो ।
मलाई कहाँ गर्व लाग्छ भने-यत्रो कोभिडको बेलामा काम गरेको साथीहरू धेरै छन् यहाँ । कोभिडको बेलामा अन्धोपनको उपचार धेरै माथि आउँदैन।
कोभिडको बेलामा काम गरेको त्यत्रो ठूलो संस्था विश्व स्वास्थ्य सगठनसँगको प्रतिसपर्धामा म यहाँको लाहुरे कसरी अवार्डका लागि छानिएँ अझसम्म पनि मलाई विश्वास लागेको छैन । यस कारण पनि यो सानो कुरा हो जस्तो लाग्दैन मलाई ।
त्यो अवार्डका लागि मैले कतै नाम टिपाएको थिइन । न राज्यले नै टिपाएको हो । त्यहाँको जुरीमध्येको एकजनाले मेरो नाम राख्नुभएको रहेछ मैले अहिले उहाँहरुसँग बुझ्दा ।
अवार्डका लागि छानिने ५ मा एक डब्लुएचओ फाउन्डेनस, दुईवटा अमेरिकाको एनजीओ, नाइजेरियामा जलवायु परिवर्तनमा काम गर्ने संस्था र एउटा बंगलादेशको एनजीओ छ ।
यो अवार्ड निश्पक्ष हो जस्तो लाग्छ । संसारमा धेरैजसो स्थापित अवार्डहरु राजनीतिक, सामाजिक रणनीतिको परिधिभित्र पर्छन् । जति मेहनत गरेपनि हामी त्यो परिधिभित्र पर्दैनौ ।
यसले चाँही सबै क्षेत्रमा ग्रासरुट लेभलमा काम गर्नेलाई हेर्दो रहेछ । स्थापित अवार्डहरूले यसरी हेर्दैहेर्दैनन्। उनीहरूले राजनीकि, सामाजिक रणनीतिसँगको नेटवर्क हेर्न गर्छन् ।
राज्यले पनि बुझ्नुपर्ने कुरा हो । यसले नेपालको आत्मसम्मान लाई कतिमाथि पुर्याएको छ । राज्यको चिनारीलाई कति माथि लगेको छ । यो एक चुनौती हो । नेपालमा अझ आँखा उपचारमा हाम्रो पहुँच नपुगेका क्षेत्रहरु धेरै छन् । हामी निरन्तर प्रयासमा छौँ ।
आखाँ उपचारमा हाम्रो मोडल सामाजिक उद्यमको रुपमा गइरहेको छ । नाफारहित, व्यवस्थापन राम्रो र यसलाई स्वायत्त छाडेर गइरहेका छौँ ।
यो मोडल राज्यको ठूलो स्रोत भएको तर व्यवस्थापन र गुणस्तर नहुने सेवा र निजी क्षेत्रले दिने सेवाको बीचमा बसेर काम गरिरहेको छ ।
आँखाको क्षेत्रमा लागू गरिएको यो मोडललाई राज्यले जेनेरल हेल्थमा लाने राम्रो मौका छ ।
यो अवार्ड पछिको दायित्व
'इसा अवार्ड'का सदस्यहरुले पनि अपेक्षा गरेका छन् । बेलायतको एकजना मेरो शुभचिन्तक उद्यमी हुनुहुन्छ उहाँले लगानी गरेर वर्षमा संसारभरि करिब करिब ७० हजारदेखि १ लाखसम्म अप्रेसन गर्ने, गराउने एउटा ठूलो अभियान संसारका विभिन्न मुलुकमा सञ्चालन गर्दैछौँ। जस्तो त्यो अभियानमा अहिले हामी घाना, इथियोपिया, भुटानमा गरिसकेका छौँ ।
नेपालमा गत १२ महिनामा २५ हजार अप्रेसन भइसक्यो । त्यसै गरेर इन्डोनेसिया, लाओस जस्ता मुलुकमा हामी गर्ने प्रक्रियामा छौँ र हामी गर्न पनिसक्छौँ ।
यो अवार्डले अब मिलेर नेपालमा पहुँच नभएको ठाउँमा आँखाको स्तरीय सेवालाई सर्वसुलभ बनाउने भन्ने हामी सबैको प्रतिवद्धता छ । हामीले सक्ने ठाउँमा हामी आफैँ पनि आफ्नो हैसियतले सकेसम्म, अन्य संस्थासँग मिलेर, सरकारसँग मिलेर जहाँ-जहाँ जानसक्छौँ जान्छौँ।
नेपाल सरकारबाट अपेक्षा
हामीले यहाँबाट उत्पादन हुने आँखाको लेन्स अन्तर्राष्ट्रिय स्तरको बन्छ । हामीले अहिले वर्षको ३ लाख लेन्स उपादन गर्दै आएको छौँ ।
हाम्रो तत्कालको प्राथमिकतामा चाँही त्यसलाई सिफ्ट गरेर राज्यकै एक उत्पादक बनाउने । वर्षमा १० देखि १५ लाख लेन्स उत्पादन गरेर संंसारभरि त्यसलाई वितरण गर्ने । त्यसको नाफा आँखा उपचारका लागि प्रयोग गर्ने भन्ने छ ।
तर यो उद्याग सिफ्ट गर्न हामीलाई धेरै पुजी लाग्छ । यसका लागि हामीले सकारलाई अनुरोध पनि गरेका थियौँ । सरकारले हामीलाई २५ प्रतिशत दिएको छ । २५ प्रतिशतले त हामीलाई पुग्दैन । सरकारले चाहेमा त्यो कुनै ठूलो कुरा पनि होइन।
अर्कोमा तिलगंगा आखाँ प्रतिष्ठानलाई एउटा अन्तर्राष्ट्रिय रुपमा नेत्र चिकित्साको हव बनाउने । यहाँ अहिले पनि डा.साबहरू बाहिरबाट, विभिन्न देशबाट आउनुहुन्छ । त्यो प्रक्रियालाई कसरी औपचारिकता दिने र यसलाई विश्वविद्यालयको रुप दिएर कसरी अगाडि लिएर जानसक्छौँ विचार गरिरहेका छौँ । सरकारले कहीँ नयाँ विश्वविद्यालय बनाउँदा त सबै खर्च गर्नुपर्यो उहाँ त खर्चै गर्नुपर्दैन । खाली माथिबाट क्याप मात्रै ओडाइदिँदा पुग्छ ।
नाम छ । विज्ञता छ । पूर्वाधारहरू छन् । सबै कुरा छ ।
म राज्यको प्रतिकृया कस्तो आउँछ भनेर हेरिरहेको छु । मैले पाएको अवार्डका लागि जसरी मेरा बिरामी, जसरी नेपालका जनसाधारणलाई खुसी बनाएको छ, त्यो खुसीले त्यसरी नै राज्यलाई समेट्छ कि समेट्दैन ? त्यो मैले हेर्नै बाँकी छ ।
अहिलेसम्म मैले देख्या छैन । उहाँहरु अहिले अरु काममै व्यस्त हुनुहुन्छ । मलाई त यो(इसा अवार्ड) सानो कुरा हो जस्तो लाग्दैन ।
(१० लाख डलरको प्रतिष्ठत ‘इसा अवार्ड’ प्राप्त गरेपछि २०७९ माघ ४ गते आयोजित पत्रकार सम्मेलनमा डा.सन्दुक रुइतले राख्नुभएका अभिव्यक्तिको सम्पादिक अंश)
तपाईँको अभिमत