बच्चालाई भिटामिन ए खुवाइन्छ, घरछेउकै खानालाई बेवास्ता किन ?
हिजो र आज देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको छ । हरेक वर्ष वैशाख र कार्तिक महिनामा भिटामिन ए खुवाइने अभियान सञ्चालन गरिने गरेको छ ।
बालबालिकालाई भिटामिन 'ए' को कमी नहोस् भनेर भिटामिन 'ए' क्याप्सुल खुवाउन थालिएको हो। तर हाम्रो वरपर सुलभ रुपमा उपलब्ध हुने भिटामिन ए पाइने खानाहरू भने अपहेलित हुने गरेका छन्।
भिटामिन ए खुवाउँदा कसैले पनि घर आगनमा पाइने हरियो वस्तुमा यो पाइन्छ भनेर छलफल किन नगरेको होला। नजिकको तीर्थ हेला भनेको यही हो ?
लट्टे
गाउँघरमा सजिलै उपलब्ध हुने लट्टेको साग पकाएर पाहुनालाई दिँदा धेरैले अपमानित भएको महसूस गर्छन् तर ठूला होटलमा त्यही लट्टे मन पराएर खानेहरू प्रशस्तै छन्।
नेपालका अधिकांश भागमा पाइने लट्टेका विविध नाम छन्। तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ। पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’। मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भन्छन्।लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ।
साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि यसमा छन्। कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ। साथै लट्टेका दाना ग्लुटिनरहित हुने भएकाले गहुँमा रहेको ग्लुटिन पचाउन नसक्नेहरूका लागि समेत यो उपयोगी हुन्छ। अर्थात् शिशु, महिला, गर्भवती सबैको लागि अति उपयोगी छ।
लट्टेका दाना र पातको मुख्य विशेषता भनेकै यो जेसँग मिसाएर पकाउँदा पनि हुन्छ। यसको दाना चामल, फापर वा गहुँको पीठो आदिसँग मिसाएर उपयोग गर्न सकिन्छ। खाँदा स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ।
करी पत्ता
तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी भएको देखिँदैन।करी पत्ता पोषणको भण्डार नै हो।
यसको पात रेसादार हुन्छ। यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ। क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ।
गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ। स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ। मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ।
यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्।
करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन्। मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्मोन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ। अपच हुने मानिसहरूलाई पनि खान दिइन्छ किनभने यसले मिर्गौलालाई तन्दुरुस्त बनाउन सघाउँछ।
काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ। असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन्।
यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ। यस्तो पेयले पेटमा रहेको गडबडीलाई सञ्चो गर्ने परम्परागत मान्यता छ। यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्।
झुसे ‘सिस्नो’
सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ । भिटामिन ए पाइने कुरा किन छलफल नभाको होला ?
खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन्। प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन्।
धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन्। नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो।
डा. अरुणा उप्रेती
तपाईँको अभिमत