सुत्केरी बेथाले बनायो स्वास्थ्यकर्मी
उर्मिला जोशीको जन्मघर अछाम र कर्मघर कैलाली हो। स्वास्थ्य क्षेत्रमा लागेको १२ वर्ष पुग्यो । सरकारी जागिरे भएको यो मंसिरमा ७ वर्ष पूरा हुँदैछ ।
धेरै महिला विवाह गरेपछि आफ्ना इच्छा र सपनाहरुलाई मार्न बाध्य भइरहेका हुन्छन् । गरिरहेको काम, पढाइ बीचैमा छाडेर घरायसी काममै सीमित हुन् परेका धेरै उदाहरणहरु भेटिन्छन् । तर विवाहपछि पनि आफ्ना सपनाहरु साकार पार्न सकिन्छ । भविष्यका मार्गचित्र खोज्न सकिन्छ भन्ने उदाहरण पनि धेरै भेटिन्छन् ।
यस्तै उदाहरण मध्येकी एक हुनुहुन्छ उर्मिला जोशी । उहालाईँ विवाहपछि कै मेहनतले स्वास्थ्य क्षेत्रमा प्रवेश गर्न मौका जुर्यो । पति र सासु आमाको सहयोगले नै उहाँ दुई सन्तानको आमा भएपछि सरकारी जागिरे हुनुभयो ।
उहाँ हाल कैलालीको बसौती स्वास्थ्य चौकीमा सिनियर अनमीका रुपमा कार्यरत हुनुहुन्छ ।
उर्मिलाको संघर्षको कथालाई हामीले उहाँकै शब्दमा प्रस्तुत गरेका छौँ :
म अहिले ३९ वर्षकी भएँ । परिवारमा श्रीमान्, सासूआमा, २० वर्षको छोरा र १५ वर्षकी छोरी छन् । हाल कैलालीको बसाैती स्वास्थ्य चौकीमा सिनियर अनमीको रुपमा काम गरिरहेको छु । म २०६६ सालबाट स्वास्थ्य सेवा क्षत्रेमा प्रवेश गरेकी हुँ । स्वास्थ्यकर्मी हुनु मेरो जीवनको रहर वा बाल्यकालको सपना केही होइन ।
१० कक्षा पास भएपछि मेरो विवाह भयो । त्यतिबेला म १८ वर्षकी थिएँ । २०५८ सालमा पहिलो सन्तानका रुपमा छोरा जन्मियो ।
छोरालाई जन्माउँदाको सुत्केरी बेथाको पीडाले मलाई स्वास्थ्यकर्मी बन्ने प्रेरणा मिल्यो । त्यो समयदेखि मैले आफू स्वास्थ्यकर्मी बन्ने अठोट गरेँ।
छोरा जन्मिँदाको त्यो पीडा
२०५८ साल मंसिर १३ गते मलाई बेथा लाग्यो । त्यसको २ दिन अगाडि मात्रै देशमा संकटकाल लगाइएको थियो । मलाई बेथा लागेदेखि नै पिसाब भएन । बच्चाले पेटमा थिच्दा पिसाब झर्ला जस्तो हुन्थ्यो तर पिसाब आउँदैनथ्यो । अहिले काम गरिरहेको स्वास्थ्य चौकीको कार्यालय सहयोगी दाइलाई चिनेको थिएँ । त्यतिबेला उहाँलाई गाउँमा डाक्टर भनेर चिनिन्थ्यो । उहाँलाई मानिसहरु भट्ट दाई भनेर बोलाउथे ।
बेथा लागेको २ दिनपछि मलाई पनि सोही स्वास्थ्यचौकी लगियो । भट्ट दाइले मलाई क्याथेटर पाइप लगाएर पिसाब निकालिदिनु भयो । २ लिटरजति पिसाब निकालेपछि मलाई दुखाइ केही कम भएको महसुस भयो । त्यतिबेला लाग्यो–यी दाइले जत्तिको मात्रै काम गर्न जान्ने स्वास्थ्यकर्मी भएपनि म जस्ता सयौँ महिलाले बेलैमा उपचार पाउने रहेछन् । अनि संकल्प गरेँ म पनि भट्ट दाइजत्तिको स्वास्थ्यकर्मी बनेरै छाड्छु।
मेरो पिसाब निकाल्नेबित्तिकै दाइले भन्नुभयो–‘यी नानीलाई तुरुन्तै धनगढी लगिहाल्नुस् अरु समय यहाँ राखेर नमार्नुस् । उहाँले यो भनेको म कहिले बिर्सन्न ।

त्यसपछि मैले भट्टदाईलाई दुई पटक भेटेँ । अहिले कहाँ कुन अवस्थमा हुनुहुन्छ थाहा छैन । तर अहिले जब गर्भवती महिलालाई क्याथेटर लगाएर पिसाब निकाल्छु, त्यतिबेला भट्ट दाइको खुब सम्झना आउँछ ।
स्वास्थ्यकर्मी बन्ने यात्राको सुरुवात
समयमै उपचार नपाएको भए सुत्केरी बेथाले नै मेरो मृत्यु हुने रहेछ । यो कुरा भट्ट दाइ र अहेव हमाल सरले भन्नुभएको थियो । यही कुरा सुनेर स्वास्थ्यकर्मी बन्ने अठोट लिएकी मैले छोरा ४ र छोरी १ वर्षको हुँदा स्वास्थ्यकर्मी बन्ने यात्राको सुरुवात गरेँ।
मेरो श्रीमानले गाउँमा बोर्डिङ स्कुल खोल्नुभएको थियो । तर द्धन्द्धकालको समय भएकाले स्कुल बन्द भयो । घरको आयस्रोत अरु केही थिएन । भोकै बस्नुपर्ने स्थिति आयो । त्यही बेला म पनि केही काम गर्छु भन्ने प्रस्ताव मैले श्रीमानलाई राखेँ । उहाँ धनगढीमा नानीबाबुलाई पढाएर बस भन्नुहुन्थ्यो ।

नानी बाबु स्कुल गएपछि म फुर्सदिलो हुन्थेँ । मैले सधैं आफू स्वास्थ्यकर्मी बनेको कल्पना मात्रै गर्न थालेँ । म अनमी पढेर जागिर खान्छु भन्ने प्रस्ताव श्रीमानसमक्ष राखेँ । उहााले सोध्नुभयो ‘पढ्न सक्छौ त ?’ ‘पढ्ने मात्रै होइन स्थायी जागिर पनि खान सक्ने आँट छ’ मैले भनेँ ।
अनि श्रीमान्ले अनमी पढ्न सहयोग गर्नुभयो । मेरो श्रीमान् ४ वर्षको छँदै बुबा बित्नुभएको रहेछ । आमाले निकै दुख गरेर उहाँलाई हुर्काउनु भएको सुनाउनुहुन्थ्यो।
जब मैले अनमी पढ्ने कुरा गरेँ सासूआमाले एउटा मात्रै गाई राखेर अरु गाई र बाख्रा बेच्नुभयो । मेरो बाबु नानी हुर्काउने काममा सहयोग गरेर स्वास्थ्यकर्मी बन्ने मेरो रहर पूरा गर्न उहाँ लाग्नुभयो ।
पढाइ सकेर २०६६ सालबाट म स्वास्थ्य क्षेत्रमा प्रवेश गरेँ । सबैभन्दा पहिला वाक नेपालमा काम गरेँ । त्यहाँ एचआइभीसँग सम्बिन्धत विभिन्न कार्यक्रम हुने गर्दथ्यो।
त्यसपछि भिसिटिसिमा काउन्सलरका रुपमा काम गरेँ । सेवक नेपालमा पनि काम गर्ने मौका पाएँ । २०७१ सालमा मैले सरकारी सेवामा नाम निकालेँ ।
सुखदुखका क्षण
म आफूलाई निकै भाग्मानी ठान्छु । १२ वर्षको मेरो स्वास्थ्यकर्मीको अनुभवमा एक जना पनि बिरामीको मृत्युलाई देख्नु परेको छैन । अहिले म बथिर्ङ सेन्टरमा काम गरिरहेको छु ।
बच्चाको उपचारमा पनि लिंग विभेद विभेद गर्ने गरेको तीतो अनुभव छ । आर्थिक अभावले भनौ या चेतनाको कमीले ती छोरी नवजात शिशुले उपचार नपाएर धर्तीमा जन्मेको चौथो दिनमै संसार छाड्नु पर्यो ।

२०७० सालको कुरा हो, त्यतिबेला म अछामको रिसिदह स्वास्थ्य चौकीमा काम गर्थें । ड्युटीमा म एक्लै थिएँ । एक नवजात शिशुको जन्म भयो । शिशु छोरी थिइन् । त्यो शिशुलाई देखेर म डराएँ । कतै मेरो गल्तीले नानीको अवस्या यस्तो भएको त होइन भन्ने लाग्यो । त्यो नानीको आन्द्रा भुँडी पेट बाहिर निक्लिएको थियो ।
मैले अहेब दाइलाई बोलाएँ । उहाँलाई गाउँलेले निकै विश्वास गर्थे । गर्भमै छँदा भएको समस्याले यस्तो भएको उहाँले बताउनु भयो । तुरुन्तै काठमाडौं लैजान शिशुको परिवारलाई हामीले सुझायौँ । तर उहाँहरुले छोरी हो भनेर उपचार नगरी घर फिर्ता लैजानुभयो ।छाेरी भएकै कारण उपचार नगरेकाे भन्ने कुरा उहाँहरुकाे व्यवहारले देखाइरहेकाे थियाे । घर लगेकाे चौथो दिनमा ती नानीको मृत्यु भएको खबर सुनेँ ।
यो घटनाले मलाई धेरै दिनसम्म सताइरह्याे । सम्झेँ–छोरीको जीवनलाई जीवन नठान्ने कस्तो हाम्रो समाज ?’ उपचार गर्दागर्दै मृत्यु भएको भए उपचारले भएन भन्न सकिन्थ्यो तर छोरी भएकै कारण उपचारमा खर्च गर्ने आँट त्यो परिवारले गरेन । मैले स्वास्थ्य चाैकीमै छँदा नानीको आमालाई सम्झाँएकी थिँए, रोइरहनुभएको थियो तर पछि उहाँलाई बाध्य बनाइयो या अरुको जस्तै सोचाइ आयो, उहाँ केही बोल्न सक्नुभएन ।
गाली पनि खाइन्छ
उपचारका लागि आएका बिरामी तथा आफन्तहरु उसैपनि तनावमै आउनुभएको हुन्छ । त्यसैले कहिले काहीँ कोही बिरामी झर्कनु पनि हुन्छ । कसैले छिटो उपचार गर भनेर गाली पनि गर्छन् तर पछि नरिसाउनु है भन्छन् ।
कोभिडको अनुभव
कैलाली भारतसँगको सीमा नजिकै पर्छ । पहिलो लहरको बेला कोरोनाबाट आतंकित थिए मानिसहरु । आतंकित हुनु पनि स्वभाविक हो । नयाँ रोग, औषधि छैन । क्वारेन्टिन र आइसोलेसन दुवैमा बस्नु पर्यो । भारतबाट आएका मानिसहरु क्वारेन्टिनमा बस्नै मान्नुहुन्नथ्यो । हामी उहाँहरुलाई सम्झाउनै सक्दैनथ्यौँ ।
भारतबाट आउने व्यक्तिको परिवारलाई खोजीखोजी वडा अध्यक्ष लगायतको टिमले सम्झाउनु पथ्र्याे । १५ दिन त हो, तपाई हामी सकैको जीवन रक्षाका लागि हो भनेर सम्झाउँथ्यौँ । पछि परीक्षण गर्दा पोजेटिभ आएपछि बल्ल किन घर नजानू भनेका रहेछन् भन्ने कुरा उहाँहरु बुझ्नुहुन्थ्यो । स्वास्थ्यकर्मी भएकोमा एकदमै खुसी छु ।
तुलसा घिमिरे
तपाईँको अभिमत