जब नर्स विजयाले आमालाई दिएको मिर्गौला काम लागेन...
नर्स विजया श्रीपाली र आमा सुनकुमारीका जीवनमा पीडादायी क्षणहरू यति धेरै छन्, ती सबैलाई सम्झेर रुन पुग्ने आँसु समेत छैन ।
२०७१ साल माघ २० गते त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा आमासँग छिर्दै गर्दा विजयालाई लागेको थियो–अबका दिन सहज हुनेछन्।
दुवै मिर्गौला फेल भएकी आमाले नयाँ जीवन पाउने कुराले मन आनन्दित भएको थियो। आमाले पीडा र छलपटाहटबाट मुक्ति पाउनेमा ढुक्क हुनुहुन्थ्यो विजया।
शल्यक्रिया सकिएर होसमा आएपछि विजयाले बुबासँग आमाको अवस्थाबारे सोध्नुभयो । बुबाले हरेक पटक ठिक छ मात्रै भन्नुहुन्थ्यो । विजयाले श्रीमान र अन्य आफन्तलाई पनि सोध्नुहुन्थ्यो । सबैले ठिक छ भन्थे । ५ दिनपछि विजया अस्पतालबाट डिस्चार्ज हनुभयो ।
आफू घर गएको निकै दिनसम्म पनि आमालाई घर ल्याइएन । अस्पतालबाट डिस्जार्च गर्नेबारे कुरा भएकै सुनिएन । अनि मनमा चिसो पस्यो।
त्यसपछि बुबा र श्रीमानलाई वास्तविकताबारे सोध्नुभयो । अनि थाहा भयो । आफूले आमालाई दिएको मिर्गौलाले कामै गरेनछ । उहाँ अस्पतालको आइसीयूमा मृत्युसँग लडिरहनु भएको रहेछ।
विजया अस्पताल जानुभयो । आमाको अवस्था निकै जटिल रहेछ । आफैँ नर्स भएकाले कुरा बुझ्न समय लागेन–आमालाई बचाउने सम्भावना कम छ । ‘के सोचेर मिर्गौला दिएको यो के भयो, त्यो बेला म कति विक्षिप्त भएँ अहिले सोच्नै सक्दिन’ वियजा भन्नुहुन्छ।
आमा नबाच्ने कुरा थाहा पाएका बहिनीहरू दिदीलाई देखेर रुवाबासी गर्नथाले । त्यो कुराले विजयालाई झन सम्हालिन गाह्रो भयो । आमालाई हेर्न डा.दिव्या सिंह आउनुभएको थियो । विजयाले भन्नुभयो–डाक्टर मेरो शरीरमा अर्काे पनि मिर्गौला छ त्यो पनि निकालेर दिनुहोस् तर आमालाई बचाउनुहोस्।
डा.दिव्या निकैबेर केही बोल्नुभएन । यत्ति भनेर निस्कनुभयो–धैर्य गर्नु हामीले प्रयास गरिरहेका छौँ । यो मिर्गौला फर्किन्छ । केही दिनपछि काम गर्छ।
तर त्यो सान्त्वना दिनका लागि मात्रै भनिएको थियो । सुनकुमारी बाँच्ने आशा मारिसकेका थिए परिवार, आफन्तले। भेन्टिलेटरमा राख्ने कहिले निकाल्ने क्रम चलिरह्यो । ४० दिन आइसीयूमा बस्नुपर्यो र जोखिम लिएरै फेरि डाइलासिस गरियो।
डायलासिस गरेपछि केही सुधार आयो । ७० दिन भन्दा बढी अस्पताल राखेपछि घर लगियो । सुनकुमारीलाई डिस्चार्ज भएर घर गएपछि मात्रै थाहा भयो–छोरीले दिएको मिर्गौलाले काम गरेनछ ।
त्यसयता डायलासिसको भरमा रहनुभएकी सुनुकुमारी पटक–पटक मृत्युको मुखमा पुगेर बाच्नुभयो। दिदी धर्म कुमारीले मिर्गौला दिएर २०७८ कार्तिक २९ गते दोस्रो पटक प्रत्यारोण गरेपछि उहाँले नयाँ जीवन पाउनुभयो । अहिले सुनकुमारीको शरीरमा ४ वटा मिर्गौला छन् । दुई वटा आफ्नै, एउटा छोरीको विजयाको अनि एउटा दिदीको । तीन वटाले काम गर्दैनन् । दिदीले दिएको मिर्गौलाबाट उहाँको जीवन अडिएको छ।
तनावपूर्ण ती दिन
रुकुम गुनामकी सुनकुमारीको गाउँकै शिक्षक दजजीत श्रीपालीसँग १५ वर्षको उमेरमा प्रेम बिहे भएको थियो। त्यसको १ वर्षपछि जन्मिनुभएको हो विजया । विजयाले थाहा पाने हुँदा बुबा दलजीत भूमिगत भइसक्नुभएको थियो । राज्यबाट पक्राउ परिने र मारिन डरले सुनकुमारीले दलजीत घर आउँदा मामा भनेर चिनाउने गर्नुभएको थियो। ठूलो हुँदासम्म विजया र बहिनीहरूले बुबालाई मामा भनेरै चिनिरहनुभयो।
भूमिगत दलजीतको नाम थियो प्रशान्त । युद्धमा दलजीत(प्रशान्त) शहीद भयो भनेर तीन पटक हल्ला फैलियो ।
शहीद परिवार भनेर पार्टीका मान्छे सहानुभूति दिन आए । शहीद पत्नी भनेर सुनकुमारीलाई सम्मान पनि गरियो।
विजया र बिहनीहरूले शहीदका छोराछोरी भनेर कापी, कलम, लुगाफाटो पाए । संयोगवश कमरेड प्रशान्त(दलजीत)को मृत्यु भएको खबर सबै पटक गत सावित भयो।
उहाँहरूको गाउँमा प्रहरी निकै दुख दिन्थ्यो । सुनकुमारीले बच्चाहरूसहित जंगलमा गएर कयौँ रात बिताउनु भयो । ४–४ वटा बच्चा थिए । दलजीत सधैँ बाहिरै त्यो पनि बेला–बेला खबर आउँथ्यो शहीद भइसके।
सासु, ससुराको हेरचाह पनि गर्नुपथ्यो । पूरै परिवार युद्धमा थियो । ‘तनाब कति हो कति भनिसाध्य छैन, ती १० वर्ष कुनै रात राम्रोसँग सुत्न पाइँन’ सुनकुमारी सुनाउनुहुन्छ’ कति दिन भोकै बसेँ कति दिन अनिदो हिसाब छैन।’
विजयालाई सम्झना छ–कयौँ दिन आमाले सिस्नुमा थोरै पीठो मिसाएर पकाउनुहुन्थ्यो । छोरीहरूलाई खान दिएर आफू भोकै बस्नुहुन्थ्यो।
युद्ध सुरु भएको अलि वर्षपछि २ जना छोरीलाई आफन्तको घरमा राखेर २ जनालाई लिएरै सुनकुमारी पनि भूमिगत हुनुभयो। पछि सुनकुमारीले पार्टीले जताजता खटायो, सबै छोरीहरूलाई उतै लिएर जान थाल्नुभयो । कहिले सुदूरपश्चिम, कहिले कर्णालीतिर । एकातिर पार्टीको काम, छोरीको हेरचाहको जिम्मेवारी, दलजीत कहिले कता पुग्ने टुंगो थिएन । कष्टसँग बित्यो दिनहरू ।
त्यही बेलाको तनाव र संघर्ष, अनिँदो बस्नु पर्ने जस्ता कारणले मिर्गौला फेल भएको सुनकुमारीको अनुमान छ।
अस्पतालको ड्यूटी नै बिर्सियो
घरमा युद्धका घाइतेहरूलाई ल्याएर राखिन्थ्यो । उनीहरूको छलपटाहट देखर विजयालाई लाग्थ्यो–मैले जानेको भए उपचार गरेर निको बनाइ दिन्थेँ । यही कुराले नर्स बन्ने प्रेरणा मिलेको उहाँ सुनाउनुहुन्छ।
आमाको मिर्गौला फेल भएको थाहा पाउँदा विजया स्टाफ नर्स पढ्दै हुनुहुनथ्यो । पढाइसकेपछि आमाकै कारण उहाँले डाइलासिसलाई आफ्नो कर्म बनाउनुभयो।
नर्सको लाइसेन्स पाएपछि राष्ट्रिय मिर्गौला उपचार केन्द्र, वनस्थलीमा काम गर्न थाल्नुभयो। पछि सुमेरु अस्पतालमा काम गर्नुभयो।
२०७० सालको चैत वा २०७१ को बैखातिरको कुरा हो । विजया अस्पालमा ड्यूटीमा हुनुहुन्यो । त्यो दिन डबल ड्यूटी गर्नुपर्ने थियो । साँझतिर एक्कासी आमालाई गाह्रो भएछ । विजया सुमेरु अस्पतालमा बिरामीको डायलासिस गरिरहनुभएको थियो। आमालाई धेरै गाह्रो भयो भनेर फोन आयो । किस्ट अस्पतालमा डायलासिस गर्ने गरिएको थियो।
आमालाई अस्पताल लैजाँदै गर्नु त्यही आउँछु भन्नुभयो । त्यसपछि अस्पतालको एम्बुलेन्स मगाएर हतार–हतार किस्ट अस्पताल पुग्नुभयो।
केही क्षणपछि बुबा र मामाले आमालाई लिएर आउनु भयो।
भित्र लैजान ह्विचिरको खोजी हुँदै थियो। आमालाई धेरै गाह्रो भएको देखेपछि विजया आफैँले जुरुक्क बोकेर बेडसम्म लैजानुभयो । अक्सिनको लेभल ३५ मात्र रहेछ। रोइरहेकी सानी बहिनी मामाले बोक्नुभएको थियो । बुबा पनि निक्कै आत्तिनुभएको थियो।
डाक्टरले डाइलासिस गर्नुपर्छ भन्नुभयो । रातको २ बजेतिर डाइलासिस सुरु भयो । त्यसपछि विजयालाई बल्ल होस् आयो–म ड्युटी बीचैमा छाडेर पो आएको हुँ । ‘म ड्रेसमै थिए । ममीलाई उतै ल्याउनु भनेको भएपनि हुन्थ्यो । ममीलाई गाह्रो भएको सुनेपछि तनावले म अस्पतालमै काम गरिरहेको छु भन्ने कुरा पनि भुलेछु’ विजया त्यो दिनको घटना सुनाउनुहुन्छ।
विजयाले सयौँ पटक आफैँले आमाको डायलासिस गर्नुभयो । अस्पतालमा अरु बिरामीको डायलासिस गरिरहँदा पनि आमाको अवस्था सम्झिएर पटक–पटक झस्कनुहुन्थ्यो उहाँ।
‘डायलासिस कोठामा जो छिरेपनि ममी आएको होकि जस्तो लाग्थ्यो’ विजया भन्नुहुन्छ, ‘बिरामीले सोध्थे–हामी कति समय बाच्छौँ सिस्टर सधैँभरि यसरी सुइले घोचेर ? अनि ममीको कुरा सम्झिएर आँसु आइहाल्थ्यो।’
हरेक बिरामीलाई सुइले घोच्दै गर्दा विजयालाई आमाको याद आउँथ्यो । ‘कसैको रगत नआएर अर्काे ठाउँ घोच्नु पर्थ्यो । कोही बिरामी दुखेर चिच्याउँथे। लाग्थ्यो मेरै ममी चिच्याइरहनुभएको छ।'
मिर्गौला खेर गयो तर दुःखी छैन
सातामा ३ पटक डायलासिस गर्नुपर्थ्यो । निकै कठिन अवस्था थियो । डायलासिसबाहेक आमालाई बचाउने के उपाय छ ? विजयाले डाक्टरहरूसँग सल्लाह गर्नुभयो । डाक्टरहरूले भन्नुभयो–प्रत्यारोपण गर्नुपर्छ । ‘प्रत्यारोपण गर्यो भने हामीजस्तै सामान्य अवस्थामा फर्किन्छ नी विजया भन्नुभयो।’
अनि आफैँले आमालाई मिर्गौला दिने निर्णय पनि गर्नुभयो।
सुरुमा सुनकुमारी र दलजीत दुवैले छोरीबाट मिर्गौला लिने कुरा मान्नुभएन । विजयाको बिहे गरेको १ वर्ष मात्रै भएको थियो । ‘भर्खर २२ वर्ष पुगेको छोरी, उसको जीवन ववार्द होला भन्ने भयो लिने मानिन’ सुनुकुमारी भन्नुहुन्छ।
विजयाले धेरै सम्झाउनुभयो–अहिले यति सानी बहिनी छ, ५–६ वर्ष मात्रै बाँचे कम्तिमा उसले आमा यस्ती थिइन् भनेर थाहा पाउँछे।
यसबारे विजयाले श्रीमानसँग कुरा गर्नुभयो । श्रीमानले खुसीका साथ भन्नुभयो–आमाको जीवन बच्छ भने देउ । तिम्रो मिलेन भने म दिन्छु । अनि प्रत्यारोणको तयारी भएको थियो।
विजयालाई आफूले दिएको मिर्गौलाले काम नदिएको भएपनि कुनै दुखेसो छैन । ‘आमाले पूरै जीवन दिनुभयो। मैले त एउटा अंग दिएको त हो’ उहाँको बुझाइ छ ।
छोरीले दिएको मिर्गौला काम लागेन । सुनकुमारीलाई अहिले पनि चिन्ता लागिरहन्छ । ‘मेरो कारणले छोरीको एउटा अंग खेर गयो । पछि केही समस्या पर्ने होकि भनेर पीर लागिरहन्छ’ सुनकुमारी भन्नुहुन्छ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि सुनकुमारी अहिले स्वस्थ हुँदै आउनुभएको छ । ६ महिना भयो अहिले खुसीका दिन फर्किएको।
कयौँ पटक डाक्टरहरूले समेत आश मारिसकेको अवस्थाबाट जीवन फर्कियो । युद्धका बेलाको १० वर्ष भन्दा पछिल्ला १० वर्ष निकै पीडादायी भएको विजयाको बुझाइ छ।
‘उ बेला त जे समस्या भएपनि ममी हुनुहुन्छ सबै ठिक गर्नुहुन्छ जस्तो लाग्थ्यो ममी नै रहने कि नरहने भन्दा कुराले पिरोल्दा हामीलाई ठूलो संकट आयो’ विजया भन्नुहुन्छ।
छोरा जन्मिएपछि नर्सिङ पेशालाई थाती राख्नुभएकी विजया अब पेशामा फर्किने तयारीमा हुनुहुन्छ। आफू स्वस्थ हुँदै गएकाले नातीको रेखदेर गरेर छोरीलाई काममा पठाउने योजना सुनकुमारीको छ। तीन जना छोरोको बिहे भइसकेको छ।
आफूलाई बचाउन छोरीसँगै ज्वाइँहरूको भूमिका धेरै रहेको सुनकुमारी सुनाउनुहुन्छ । 'सबै काम छाडेर रातदिन उहाँहरू खट्नुभयो । मेरो आफ्नै छोरा भएको भएपनि त्यति गर्दैनथे होलान्।'
‘ममी यस्तो अवस्थामा फर्किनुहुन्छ भन्ने सोचेकै थिएनौँ, ममी तंग्रिदै हुनुहुन्छ अबका दिन निकै सजिलो हुने आश छ’ विजया खुसी व्यक्त गर्नुहुन्छ' ममी अगाडि देखेपछि सबै कुरा छ जस्तो लाग्छ ममी जस्तो ठूलो के नै छर?'
तपाईँको अभिमत