बच्चालाई किन पटक-पटक ज्वरो आइरहन्छ ? (भिडियो)
बच्चाहरूमा ज्वरो आइरहने समस्या हुन्छ । कहिले कहीँ महिनैपिच्छे, महिनामै २–३ पटक पनि ज्वरो आउँछ । यसले अभिभावकलाई चिन्तित बनाइरहेको हुन्छ । आफ्ना बच्चा धेरै रोगी भए कि वा कुनै ठूलै स्वास्थ्य समस्या पो छकि भन्ने चिन्ता पनि अभिभावकलाई हुने गर्छ ।
ज्वरो आउनु आफैँमा रोग नभएर विभिन्न रोगको प्रतिबिम्ब भएको बालरोग विशेषज्ञ डा.सन्तोष अधिकारी बताउनुहुन्छ । ज्वरो कुन प्रकारको हो लक्षणका आधारमा पहिचान गरेर उपचार गर्नुपर्ने उहाँको भनाइ छ । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई धेरै ज्वरो आउने डा.अधिकारीले बताउनुभयो ।
हेल्थपाटीसँगको कुराकानीमा उहाँले बच्चालाई ज्वरो आउनुका कारण, अपनाउनुपर्ने सावधानी र ज्वरो आउँदा गर्ने घरेलु उपचारका बारेमा जानकारी दिनुभएको छ ।
कान्ति बाल अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.सन्तोष अधिकारीले हेल्थपाटीसँगको कुराकानीमा दिनुभएको जानकारीको सम्पादिन अंश तल प्रस्तुत छ -:
बच्चालाई धेरै ज्वरो आइरहने कारणहरू के-के हुन् ?
ज्वरो भनेको शरीरको तापक्रम बढ्नुलाई भनिन्छ । १००.४ डिग्री फरेनहाइट वा ३८ डिग्री सेल्सियस भन्दा बढी तापक्रम भयो भने त्यसलाई ज्वरोको रुपमा लिइन्छ । सिजनअनुसार, समयअनुसार र बच्चाको उमेरअनुसार आइरहने, दोहोरिरहने देखिन्छ ।
हाम्रो ओपिडीमा आउनेमा पनि धेरै बच्चामा ज्वरो देखिन्छ । यो ज्वरो आउनु कुनै रोग नभइकन रोगको प्रतिबिम्ब हो भनिन्छ । यसले कुनै रोगलाई संकेत गरिरहेको मानिन्छ । जस्तो– रुघाखोकी हुँदा, निमोनिया हुँदा, झडापखाला, रगतमासी पर्दा ज्वरो आउन सक्छ । जटिल रोग क्यान्सर हुँदासम्म पनि ज्वरो देखिन्छ ।
ज्वरो कति समयको फरकमा आयो, कतिसम्म आयो, कति लामो समयसम्म आयो भन्ने कुराको हेक्का राख्नु निकै महत्वपूर्ण हुन्छ । यसका लागि अभिभावकहरूले बच्चा जन्मिएपछि घरमा एउटा थर्माेमिटर अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ ।
बच्चालाई ज्वरो आएको शंका लागेमा नापेर हेर्नुपर्छ । ज्वरोको रेकर्ड राखेर नजिकैको स्वास्थ्य संस्था गएर या चिकित्सकको सल्लाह लिनुपर्छ ।
बच्चामा टाउको धेरै तातो हुने र हातखुट्टा चिसो हुने समस्या प्राय हुन्छ । यो समान्य हो ।
२ वर्षको बीचमा बच्चाको धेरै मानसिक वृद्धि विकास हुने हुन्छ । २ वर्षमुनिको बच्चाको टाउकोमा रगत बढी सञ्चालन हुनहुन्छ । शरीरको १८–२० प्रतिशत रगत टाउकोमा प्रवाह हुनेहुन्छ । रगतले खानेकुरा पनि बोकेर लान्छ तापक्रम पनि लाने हुन्छ । रगत बढी सञ्चालन हुने हुँदा बच्चाको टाउको तातो हुने तर ज्वरो नहुने हुन्छ । टाउको तातो भयो भन्दैमा ज्वरो नआएको हुनसक्छ । त्यही भएर ज्वरो अनिवार्य नाप्नुपर्छ ।
ज्वरोका साधारण कारण
-बच्चालाई धेरे ज्वरो आउनुको सबैभन्दा मुख्य कारण मौसमी रुघाखोकी हो ।
-मौसम परिवर्तनका बेला जीवाणहरू धेरै सक्रिय हुनेहुन्छ । वायुमण्डल प्रदूषण हुने, वरपर पनि प्रदूषण धेरै हुने हुँदा पनि जीवाणु धेरै सक्रिय हुन्छ । बच्चाको शरीरमा जीवाणु छिरेर तिनले प्रतिक्रिया देखाउँदा पनि ज्वरो देखा पर्ने हुन्छ ।
-वर्षाको सिजनमा पानी पर्ने र लामखुट्टेको संख्यामा वृद्धि हुने भएकाले डेंगी, मलेरिया जस्ता समस्या भएर पनि ज्वरो आउनसक्छ ।
-बच्चाहरूलाई छिट्टै स्कुल पठाउने चलन छ । विद्यालय भनेको मास हो । त्यहाँ विभिन्न थरीका बच्चा एकैठाउँ आएर बसेका हुन्छन् । स्कुलमा एउटा बच्चालाई रुघाखोकी या ज्वरो देखिएको छ भनेर ऊ बाट अरुलाई सर्ने हुन्छ । प्राय अभिभावकले स्कुल पठाउनेवित्तिकै बच्चा बिरामी हुन्छ भन्ने समस्या सुनाउनुहुन्छ । यो त्यही भएको हो ।
स्कुलको कुनै बच्चामा संक्रमण देखिए । उसलाई घरमै राख्ने सल्लाह दिनुपर्छ । त्यसले २ वटा फाइदा पुग्छ–एउटा मासमा नजादा संक्रमण कम फैलाउने भयो । दोस्रो घरमा राखेर हेरचाह गर्दा, पोषण दिँदा बच्चा छिटो तंग्रिने हुन्छ ।
जटिल अवस्था
ज्वरोलाई साधारण मान्दै गर्दा कहिले कहीँ जटिल बन्न सक्छ । बच्चालाई ज्वरो आउने ठिक हुने, फेरि अर्काे हप्ता ज्वरो आउने, मेडिकल गएर औषधि खायो ठिक हुने अनि फेरि ज्वरो आउने जस्तो समस्या पनि देखिन्छ । बिस्तारै बच्चा शिथिल हुँदै जाने बच्चाको तौल घट्ने एक दुई महिनासम्म ज्वरो आइरहने पनि हुन्छ । यी खालका समस्या लिएर हामी कहाँ आउने पनि हुन्छन् ।
कतिपय अवस्थामा ज्वरो जटिल बनेर, क्यान्सर नै समेत भएको पनि आउनुभएका उदाहरण छन् ।
बच्चाको गतिविधिमा कमी भएको छ, वृद्धिविकासमा असर परेको छ, बच्चा बढी थाक्छ, तौल घट्दै गएको छ भने सचेत हुनुपर्छ । नजिकैको अस्पतालमा गएर उसको रगतको सम्पूर्ण परीक्षण गरेर उपचार गर्नु वुद्धिमतापूर्ण हुन्छ ।
यसले गम्भीर रोग छ भने पनि समयमै पत्ता लागेर उपचार हुने हुन्छ । अनावश्यक रुपमा एन्टियोबायोटिक औषधि दिनुपर्ने अवस्था आउँदैन।
अनावश्यक औषधि बच्चालाई खुवाउनु हुँदैन । स्वास्थ्य संस्था गएर चिकित्सक, स्वास्थ्यकर्मीको सल्लाह बमोजिम गर्नुपर्छ ।
ज्वरो देखिनेवित्तिकै सिटामोल किनेर खान दिन मिल्छ ?
अब कुनै बच्चालाई नाप्दा धेरै ज्वरो आएको छ भने तत्काल ज्वरो घटाउन सिटामोल ल्याएर खुवाउनुलाई गलत भन्न मिल्दैन । त्यसरी ज्वरो घटाउने काम गर्नु नै पर्छ ।
६ महिनादेखि ५ वर्षसम्मका बच्चामा अत्याधिक ज्वरो बढ्यो भने त्यसले मिर्गीजस्तो समस्या देखाउँछ । जसलाई हामीले 'फेब्रियल सिजर' भन्छौँ । यसमा आँखा माथि पल्टाउने, दाँत किट्ने, हात झट्का हान्ने, मुखबाट फिज निकाल्ने समस्या हुन्छ । बुबा–आमा आत्तिएर अस्पताल लिएर आउनुहुन्छ । ज्वरो जाँचेर ज्वरो घटाउन समयमा औषधि नखुवाउँदा यो समस्या आउँछ ।
ज्वरोको साधारण औषधि किनेर खुवाउनुपर्छ । तर ज्वरो आयो भन्दैमा आज गयो एउटा औषधि किनेर खुवायो, त्यसले काम गरेन भन्यो भोलि गयो अर्काे ल्याएर खुवाउने गर्नुहुँदैन । यसो गर्दा रोगालाई हामीले जटिलतातर्फ धकेल्न सक्छौँ ।
नबुझेर धेरैले अध्याधिक औषधि खुवाउने पनि गर्छन् । यसमा गलत बुझाइले काम गरिरहेको हुन्छ । कतिपयमा औषधि धेरे खुवायो भने चाँडै निको हुन्छ भन्ने बुझाइ पनि रहेको हुन्छ । कतिपयले औषधिलाई चाहिने भन्दा बढी महत्व दिन्छन्।
सामान्य समस्यामा औषधिको धेरै मात्रा खुवाइरहनु आवश्यक हुँदैन । जटिल समस्या छन्, जटिल रोग छन् भने त्यसका लागि औषधि दिनुपर्ने हुन्छ ।
कुनैपनि औषधिको साधारणदेखि जटिलसम्मका नकारात्मक असरहरू हुन्छन् । जस्तो–कुनैले पेटमा एसीडिटी बढाउने, कुनैले जिउमा डाबर ल्याउने, कुनै औषधि खुवाउँदा बच्चालाई उल्टी हुनसक्ने आदि हुनसक्छ । गुणधेरै छ। अवगुण पनि हुन्छन् । अवगुण नै नहुने हुन्छ ।
सिटामोल धेरै खुवाउँदा असर गर्छ कि गर्दैन ?
बजारमा धेरै पारासिटामोल धेरै थरीका पाइन्छ । कसैमा एक एमएलमा १५० एमजी आउने, कसैमा ५ एमएलमा १२० देखि १२५ एमजी आउने र कोही त्यही औषधि ५ एमएलमा २५० एमजी आउने हुन्छ । औषधिमा मात्रा फरक–फरक हुनसक्छन् । हामीले भन्दा ज्वरोको औषधि ५ एमएल खुवाउ भन्दा यो सही हुँदैन।
यो ओषधि ज्वादा खाँदा यसले कलेजोलाई हानी पु¥याउँछ । कतिपयमा सिटामोल टक्सिसिटी, सिटामोल पोइजनिङ भएर अस्पताल आउनुहुन्छ ।
ज्वरो आयो भन्दैमा २–२, ३–३ घण्टामा सिटामोल खुवाउने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा सिटामोलको मात्रा बढी भएर यसले हानी देखाउन थाल्ने हुन्छ । त्यो हानीबाट बच्चा हामीले सजग हुनुपर्छ । ८–८ घण्टा या कम्तिमा ६–६ घण्टाको फरकमा मात्रै औषधि सिटामोल खुवाउनुपर्छ । ज्वरो झार्न समय लिन्छ । औषधि खाएको २ घण्टासम्म समय लगाउन सक्छ ।
घरायसी उपचार के गर्ने ?
ज्वरो आउनेवित्तिकै ज्वरो नाप्ने र औषधि खुवाउने एउटा भयो । अन्यमा उसका कपडा खोलिदिने, गुम्स्याएर नराख्ने, गुम्स्याएर राखेरमा शरीर झन तापक्रम बढ्ने र ज्वरो बढ्ने हुन्छ । हावा पास हुने कोठामा राख्नुपर्छ । ५ वर्षमुनिका बच्चा ज्वरो आउँदा काम्न सक्नेछन् । अर्काे पानी पट्टि लगाउनु सक्छौँ । यसले पनि ज्वरो घट्न मद्दत गर्छ । कतिपय आमा, बुबाले ज्वरो घट्छ भनेर आइसमै कपडा डुवाएर पनि पानीपट्टी लगाएको पाइन्छ । त्यो गर्नुहुँदैन । आइसले सेकाउँदा झन बच्चाको नसा खुम्चिन गई तोतो घट्दैन । यसले गर्दा ज्वरो झन शरीरमा बसिरहने हुन्छ । २५–३० डिग्री सेल्सियस तापक्रम भएको पानीले पानी पट्टी लगाउनुपर्छ । पानीमा कपडा डुवाएर टाउको हात, खुट्टा, पैतालामा लगाइयो भने यसले ज्वरो घटाउँछ । पानी पट्टी लगाएर निमोनिया हुन्छ भन्ने धारणा पनि केहीको पाइन्ट । पानी पट्टी लगाउँदा निमोनिया चाहीँ हुँदैन ।
हेल्थपाटी
तपाईँको अभिमत